कुनै बेला छोरी भएर जन्मिएकै कारण परिवारको बहिष्कारमा परेकी थिइन उनी । त्यो घटनाले उनलाई संघर्ष गर्नुपर्छ भन्ने सिकायो । उनले हिम्मत हारिनन् । मनलाई बलियो बनाउँदै आत्मविश्वासलाई दृढ बनाएकी उनले आमा दुर्गा सापकोटाको जीवन पाठशाला जस्तो बन्यो । जीवनको वास्तविकताबारे बुझ्न र भिज्न उनलाई आमाको जीवन र समर्पण नै ठूलो किताब थियो ।उनी हुन् नायिका पूजा शर्मा । नपाली सिनेमा जगतमा चिनिएकी नायिका हुन् उनी ।त्यो बेला, जब उनको जन्म भयो– उनको जन्मले परिवारमा एक किसिमको तहल्का नै मच्चायो । छोराको आश गरेका परिवारमा छोरी जन्मिएपछि सबै निराश भए । पारिवारिक खटपट र समस्या झेलेपछि पूजाका बाबुले दोस्रो विवाह गरे । छोरीको सुनौलो भविष्यकै लागि उनकी आमा सिन्धुपाल्चोकको गाउँ छोडेर काठमाडौं आइन् । विभिन्न कष्ट झेलेर छोरीलाई हुर्काइन् । छोरीको आनीबानी र व्यवहार देखेर पनि उनलाई विश्वास थियो कि छोरी एकदिन सफल हुन्छिन भन्ने ।स्नातक पढ्दा पढ्दै पूजाले मिडियामा काम गर्न थालिन् । नयाँ नयाँ मानिसहरुसँग परिचय र काम गर्ने शैली आदि बुझ्ने उनले मौका पाइन् । केही समयमै उनको करिअर फिल्मतर्फ मोडियो । फिल्म ‘३ लभर्स’बाट उनले डेब्यु गरिन् । त्यो फिल्ममा स्क्रिप्टमा भए भन्दा फरक सुटिङ गरियो । जसका कारण पूजा हतास पनि भइन् । आफ्नै फिल्म हेरेर ‘अड’ महशुस गरेकी पूजाले आइन्दा फिल्म नै खेल्दिन भनेर घर बस्न थालिन् ।तर जीवनले उनलाई त्यही बाटो कोरेर राखिदिएको रहेछ । एउटा उखानै छ, ‘लेखेको पाइन्छ देखेको पाइदैन ।’ उनको जीवनमा पनि त्यस्तै भयो । चलचित्रमै भविष्य गाँसिसकेपछि उनले एक पछि अर्को फिल्मको अवसर पाउँदै गइन् । उनले त्यसपछि मधुमास’, ‘चंखे शंखे पंखे’ जस्ता फिल्ममा काम गरिन् ।तर, ती फिल्मबाट उनी विरलै दर्शकमाझ चिनिइन् । जीवनका तीता मिठा घटना संगाल्दै चलचित्र क्षेत्रको खुट्किला पछ्याउँदै गरेकी पूजाको लागि चौथो फिल्म ‘प्रेमगीत’ ले धेरै पविर्तनका ढोकाहरु खोलिदियो । फिल्ममा नायक प्रदीप खड्का र पूजा शर्माको केमेस्ट्रि सर्वाधिक रुचाइएको कारण पनि फिल्म ब्लकबस्टर हिट भयो । फिल्मले दिएको सफलताले पूजा रातारात हिट भइन् ।तर, त्यो सफलतालाई रातारात पाएको सफलता मान्न तयार छैनन् पूजा । सुरुवाती दिनदेखि नै आफू संघर्षमा रहेको र विभिन्न समस्या झेल्दै आएको कुरा उनले बताइन् । दुःखकै कुरा बताउँदै उनले भनिन्, ‘सबै काम रातारात हुँदैन । समय लाग्छ तर धैर्य गुमाउनु हुँदैन । मैले पनि धैर्य गुमाइन ।’ सुरुवाती दौरमा आफ्ना बारे धेरै नकारामक समाचारहरु आएको तर तिनै मानिसहरुको तालीलाई गालीमा परिवर्तन गराउ सक्ने क्षमता आफूमा भएको उनले बताइन् ।
पूजाले अहिलेसम्म खेल्दै आएका फिल्महरु सबै निर्देशक सुदर्शन थापाको ब्यानर मात्र भएका कारण उनी बेलाबखतमा सुदर्शन थापासँग पनि जोडिन पुग्छिन् । कत्तिले त उनको हातमा भएको ट्याटु पनि सुदर्शन थापाको नामको हो भनेर टिप्पणी पछि गर्छन् । तर, अहिलेसम्मका कुन चाहीँ सेलिब्रेटीले सम्बन्धबारे खुलेर बोलेका छन र ? पूजाले पनि उही जवाफ दिन्छिन् । सुदर्शन थापा राम्रो साथीमात्र भएको र त्यस्तो गहिरो सम्बन्ध नभएको बताउँछिन् ।
बाँकी रह्यो ट्याटुको कुरा । ‘टम एण्ड जेरी’ कार्टुनको ठूलै फ्यान रहेकी उनले घरमा पनि टम र जेरीको ठूलै पोस्टर टालेकी छिन् । कक्षा १० मा पढ्दा संगतको लत र केटाकेटीपनमा उही कार्टुनको ट्याटु हानेको उनी बताउँछिन् ।असार ३० मा उनी अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु’ रिलिज हुँदै छ । फिल्मको केही समयअघिमात्र सार्वजनिक भएको गीत ‘भन्छु आज मनका कुरा’ युटुबमा ट्रेण्डिङमा रहेको छ । गीतको सफलताको खुशीको सीमा नै छैन उनलाई । फिल्मबारे पनि आफू उत्तिकै आशावादी रहेको बताउँछिन् । यो पटक पल शाहसँग जोडी बाँधेकी पूजा फिल्ममा ‘छायाँ’ को भूमिकामा देखिदै छिन् ।कति दर्शकले पूजाले अब काम गर्न लागेको फिल्म ‘म यस्तो गीत गाउँछु’ फिल्म ‘प्रेमगीत’ को सिक्वेल भएको पनि अनुमान गरेका छन् । त्यसकारण पनि उनलाई धेरैले फेसबुकमा तपाईंको ‘प्रेमगीत २’ कहिल्ये आउँछ भनेर म्यासेज पनि पठाउँछन् ।कुराकानीको क्रममा उनलाई पनि अरु नायिकालाईजस्तै प्रश्न तेर्सियो, ‘तपाई प्रेममा हुनुहुन्छ कि सिंगल ?’ प्रश्न झर्न नपाउँदै उनले उत्तर दिइन्, ‘सिंगल छु’ । फिल्म क्षेत्रमा लागिसकेपछि जोसँग पनि नाम जोडिने हुनाले दर्शकले पनि यस्ता कुरा बुझ्ने बताउँदै उनले प्रश्नको बिट मारिन् । (source: Nepal Aaja)