काठमाडौं/ आन्दोलनहरूले नायक जन्माउँछन् भने चुनावले विजेता। तर, विवेकशील नेपाली दलले काठमाडौं महानगरमा मेयर उम्मेदवार बनाएकी रञ्जु दर्शनाको हकमा यो नियम लागू भएन। उम्मेदवार बनेका दिनदेखि नै उनले विजेताले जस्तो चर्चा पाइन्। निर्वाचनको १२ दिनपछि करिब १ लाख ७५ हजार मतगणना हुँदा उनले २० हजारभन्दा बढी मत पाएकी छन्। तैपनि उनको चर्चा विजेताको जस्तो छ। रञ्जुको उम्मेदवारीले नै सामाजिक सञ्जालदेखि मुख्य धारका मिडियासम्ममा उत्तिकै चर्चा पायो। २१ वर्षकी एक युवतीले मुलुककै ‘राजधानी–प्रमुख’ का लागि गरेको दाबी कतिका लागि ठूलै झट्का थियो भने कतिले यसलाई महत्त्वाकांक्षाको सामान्य घटना माने। पछिल्ला वर्षहरूमा राजनीतिक विश्लेषकहरूका अनुमान प्राय मिल्ने गरेका छैनन् । पहिलो चरणको स्थानीय चुनावमा धेरै ठाउँमा दलका भनिएका ‘किल्ला’ तोडिए, नयाँ किल्लाको निर्माण भयो । सधैं परिवर्तनशील मानिने काठमाडौं पनि यसबाट अछूतो रहने कुरै थिएन। विवेकशील र साझा पार्टीका उम्मेदवारले काठमाडौं, ललितपुरमा धेरैको अपेक्षाभन्दा बढी मत पाए। माओवादीजस्तो सत्ताधारी स्थापित पार्टीका उम्मेदवारले भन्दा बढी मत विवेकशील र साझा पार्टीले पाउनुको कारण के हो? यसले देशको राजनीतिबारे के संकेत गर्छ त? के काठमाडौंका मतदातामा जागृत पुराना दलप्रतिको वितृष्णाको यो उपज हो रु यदि हो भने फेरि तिनै दल किन पहिलो र दोस्रो भए रु के यो नयाँ सोच र युवा जोसप्रतिको आकर्षण हो? यदि त्यसो हो भने सचिवबाट सेवानिवृत्त किशोर थापाले पनि १६ हजारभन्दा बढी मत कसरी पाए? नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा विवेकशील र साझा पार्टीले पाएको मतलाई ७० प्रतिशत पुराना दलप्रतिको वितृष्णा र ३० प्रतिशत नयाँप्रतिको आकर्षण मान्दछन्। ‘तर, आकर्षण, प्रेम र भरोसामा फरक छ । आकर्षण प्रेम र भरोसामा रूपान्तरण भएपछि बल्ल घरजम हुन्छ। कुनै पार्टीको जीवनमा पनि यस्तै हो। अहिले रञ्जुले पाएको मत आकर्षणको हो, यसलाई भरोसासम्म पुर्याउन सक्यो भने बल्ल राजनीतिक दलका रूपमा भविष्य हुन्छ,’ शर्मा भन्छन्। विश्लेषक झलक सुवेदी यो मतका पछाडि मुख्य चार कारण देख्छन्। ‘पहिलो कारण, पछिल्लो संविधानसभा चुनावदेखि नै विवेकशील काठमाडौंको राजनीतिमा छ। दोस्रो, गोविन्द केसीको आन्दोलन र भूकम्पपछिको उद्धारमा यो दलले आफ्नो सक्रियता देखाएर मानवीय पक्षमा मतदाताको मन जितेको थियो। तेस्रो, काठमाडौंमा बढ्दै गएको स्वतन्त्र मध्यम वर्गमा पुराना दलप्रति बढेको वितृष्णा र विरक्तिले यिनलाई वैकल्पिक शक्तिको स्थान दियो। चुनावको मुखमा भएका महाअभियोग र आईजीपी काण्डका कारण जन्मिएको नकारात्मक मतको पनि फाइदा भयो । र, चौथो २१ वर्षकी युवतीको हक्की र जनतासँग साधारण भाषामा संवाद गर्ने शैलीले पनि आकर्षित गर्यो।’ रञ्जु पनि आफूले पाएको मतमा ठूला दलप्रतिको निराशाले काम गरेको मान्छिन् । ‘ठूला दलप्रतिको वितृष्णा र सकारात्मक परिवर्तनको चाहना दुवै हो,’ उनले भनिन् । उनी आफूले जित्ने अपेक्षासहित चुनावमा भाग लिएको भन्दै चुनाव तयारीमा समय कम भएकाले सबै मतदातासमक्ष पुग्न नसकेको बताउँछिन्। मानवशास्त्री सुरेश ढकाल काठमाडौंमा ठूला दलका मतदाताले पनि विवेकशीलको इस्टकोट र साझा पार्टीको क्यामरामा मत दिएको मान्छन्। ‘भोटको प्याटर्न हेर्दा कांग्रेसको धेरै भोट यी पार्टीमा गएको देखिन्छ,’ उनले भने। काठमाडौंमा ठूला पार्टीका नेताहरूले पहिले पनि पराजय भोगेको दृष्टान्त दिँदै ढकाल भन्छन्, ‘तर, यो कृष्णप्रसाद भट्टराईविरुद्ध पार्टीभित्रैबाट अन्तरघात भएजस्तो होइन, भट्टराईविरुद्ध अन्तरघात भएको थियो, यसपालिको चाहिँ नेतृत्वलाई सबक हो, होसियार गरेको हो ।’ ढकाल ठूला दलका उम्मेदवारहरूमा मतदातालाई आकर्षण गर्ने चामत्कारिक गुण नहुनु र ठूलो संख्याका मतदाता कुनै खास विचार वा पार्टीप्रति प्रतिबद्ध नभई स्वतन्त्र प्रकृतिका हुनुको परिणाम मतगणनामा देखिएको बताउँछन्। २० वर्षपछि भएको स्थानीय निर्वाचनमा पहिलो पटक मतदान गर्नेमा १८ देखि ३७ वर्षसम्मका युवा मतदाताको संख्या उल्लेख्य थियो। राजनीतिले आकर्षित गर्न नसकेको ठानिने यो पुस्ताका मतदाताले सामाजिक मुद्दा उठाउने युवा उम्मेदवारसँग निकटता महसुस गर्नु स्वाभाविक देखिन्छ। ‘जागिर खाएर फुर्सदमा पार्टी खोल्नेभन्दा राजनीतिमा सुधार गर्छु भनेर आफ्नो जीवन नै दाउमा लगाउनेप्रति आकर्षण हुनु स्वाभाविक हो,’ ढकाल भन्छन्। तर, एमाले उपमहासचिव घनश्याम भुसाल भने यसलाई मतदाताले बेला–बेला विकल्प खोज्ने सहायक प्रवृत्तिका रूपमा व्याख्या गर्छन्। ‘रञ्जु वा किशोरले मत पाउनु भएको सहायक प्रवृत्ति हो, जित्ने मत त ठूला दलले नै पाइरहेका छन्,’ भुसाल भन्छन्। ठूला पार्टीमा भएका समस्याका कारण साना पार्टीले मत पाए भन्नु सामान्य भएको उल्लेख गर्छन्।
Friday, May 26, 2017
नयाँ दलको मत– वितृष्णाको कि आकर्षणको?
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News
