जेठ १७ – उहाँ जिरो पावरको चस्मा उहाँ लगाउनुहुन्छ । बायाँ आँखाबाट आँसु झरिरहे जस्तो देखिन्छ । दाहिने आँँखाले उज्यालो अध्यारो मात्र छुट्याउनुहुन्छ । १४ महिनाअघि उहाँले दुवै आँखाले प्रष्ट देख्नुहुन्थ्यो । तर वैदेशिक रोजगारीले ज्योति गुम्यो ।
घर परिवार चलाउन समस्या भएपछि नवलपरासीको कावासोती–१७ गोर्सदीका २८ वर्षका प्रकाश अधिकारी १४ महिनाअघि साउदी अरब जानुभयो । साउदी अरबको जेद्दा शहरको साउदी रेडिमिक्स कम्पनीमा उहाँले कंक्रिट अपरेटरको काम गर्नुहुन्थ्यो । साउदी गएको ७ महिनापछि उहाँ दुर्घटनामा पर्नुभयो ।
मेसिन चलउँदै गर्दा पाइप जाम भएर फुट्यो । त्यसबाट निस्किएको सिमेन्टले उहाँको अनुहारमा लाग्यो । केही केमिकल मिसिइएको कंक्रिट र तातो सिमेन्टले लागेको गहिरो चोटले आँखा नदेख्ने बनायो । साउदी गएको ७ महिनापछि कम्पनीमा काम गर्दैगर्दा उहाँले आखाँको ज्योति गुमाउनुपर्यो । वैधानिक रुपमा गएको भएपनि त्यतिञ्जेलसम्म उहाँको अकामा कार्ड (परिचयपत्र) बनेको थिएन । त्यसैले दुर्घटना परेका प्रकाशलाई उपचार गर्न पनि समस्या भयो ।
अकामा नभएपछि दुईवटा अस्पतालले त उपचार गर्न पनि मानेनन् । पछि अर्को अस्पतालमा गएपछि उपचार त पाउनुभयो तर राम्रो होइन नाम मात्रको । त्यही भएपनि कम्पनीले २० दिन त उपचार गर्यो । त्यसपछि साथीहरुले पनि उहाँलाई घर जान सल्लाह दिए । ‘मलाई पनि घरमा आमाबुवाको रेखदेखमा उपचार गर्न पाए आँखा देख्थें कि भन्ने लागेर नेपाल फर्किएँ’ प्रकाश भन्नुहुन्छ ।
नेपाल फर्किएपछि उहाँको महाराजगञ्जमा रहेको टिचिङ अस्पतालमा अप्रेशन भयो । अप्रेसनपछि आखाँले उज्यालो अँध्यारो छुट्याउन सक्ने हुनुभयो । तर पूरै देख्न सक्नुभएन । घर जानु भन्दा अघि उहाँले वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा निवदेन पनि दिनुभयो । प्रकाशले भारतको हैदरावाद पुगेर पनि तीन महिना उपचार गर्नुभयो । तर आशा गरे जस्तो सुधार भएको छैन । ‘अहिलेसम्म दुई लाख भन्दा धेरै खर्च भइसकेको तर देख्न सक्दिन’ प्रकाशले भन्नुभयो ।
तीन महिना भारत बस्दा पनि विभाग र बोर्डबाट कुनै खबर आएन । त्यसैले उहाँ नवलपरासीको सूचना केन्द्रमा पुग्नुभयो । सूचना केन्द्रकै पहलमा आइतबार मात्रै उहाँले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट दुई लाख १० हजार रुपैयाँ क्षतिपूर्ति पाउनुभएको छ ।
घरमा बुवा र आमा हुनुहुन्छ । दाजुहरु छुटिएर बसेका छन् । बाबुआमा पाल्नुपर्ने जिम्मा उहाँको काँधमा छ तर बुवाआमाले नै पाल्नुपर्ने भएपछि उहाँलाई झन पिरलो थपिएको छ ।
उहाँलाई कम्पनीले ६ महिनाको विदामा पठाएको हो । भिषा क्यन्सिल गरेको छैन । तर ७ महिना भइसक्दा पनि फर्किन सक्नुभएन । काम गर्ने क्रममै उहाँले आँखाको ज्योति गुमाउनुभयो तर कम्पनीबाट कुनै क्षतिपूर्ति पाउनुभएको छैन ।‘कम्पनीमा साहुलाई फोन गर्दा केही समय अघिसम्म पैसा पठाइदिन्छु भन्दै एकाउन्ट नम्बर पनि मागेको थियो । तर अहिले फोन नै उठाउदैन’ उहाँले भन्नुभयो ‘सँगैका साथीले कुरा गर्दा पठाउँछु त भन्छ तर पठाएको छैन ।’
साउदीमा हुँदा पाँच हजार रियाल उपचारका लागि दिएको कम्पनीले पछिल्लो समय भने अब अरु पैसा दिन सक्दिन भन्न थालेको छ । उहाँले साउदी जाने बेलामा नेपालमा बीमा पनि गर्नुभएको थियो तर उहाँले बीमाको पैसा पनि पाउन सक्नुभएको छैन । ‘बीमा कम्पनीले एक वर्षपछि प्रकृति हेरेर मात्र दिने भन्दै आलटाल गरिरहेको छ । एउटा आँखाले उज्यालो देख्ने भएपछि त्यो आँखाको नदेख्ने रे।’ उहाँले थप्नुभयो ‘वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट पैसा छुटिएको छ रे भन्ने सुने तर कति भन्ने थाहा छैन त्यो भनेका छैनन् ।’
एक्लै जान नसक्ने भएकाले उहाँले साथी खोजेर काठमाडौं जाने योजना बनाउनुभएको छ । अहिलेसम्म कतैबाट पैसा नआएपछि उहाँलाई झनै ऋणी बनायो । सात महिनामा कमाएको पैसाले जाँदा लागेको १ लाख ५० हजार रुपैयाँ र त्यसको ब्याज तिर्दा ठिक्कै भयो ।
‘खेतीपाती गर्ने मान्छे कसरी अब उपचार गरौं’ उहाँले थप्नुभयो ‘अहिले पनि जति उपचार भयो यो सवै ऋण खोजेर नै गरिरहेको छु । जिन्दगीका बाटो अध्यारो भयो सुख दुःख जे भएपनि भोग्नै पर्ने भयो अपांग भएर जिवन जिउन पनि गाह्रो छ । समस्या छ भनेर कसले सुनिदिन्छन र हाम्रो समस्या ।’
ज्योती त गुम्यो नै बीमा बापतको रकम पाए त्यही पैसाले उपचार गर्थें भन्ने सोच्नुभएको छ उहाँले । किनकी उहाँलाई डाक्टरले नियमित उपचार गर्नुपर्छ भनेका छन् । अहिले उहाँको उपचार कामकाजमा दाइहरुले पनि सहयोग गरिरहेका छन् । जीवन चलाउन र केही गर्न पनि आर्थिक समस्या छ ।
सहयोग मिले केही गर्न सकिन्थ्यो कि भन्ने लाग्छ उहाँलाई ।
