Breaking

Friday, May 26, 2017

यस्तो छ देशकै ठूलो महानगर प्रमुख मानबहादुरको इतिवृतान्त, सडक भत्केको २४ घण्टाभित्रै बनाइसक्ने योजना



कास्की, जेठ १२ – देशकै ठूलो महानगरपालिका पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेद्वार मानबहादुर जिसी निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रले सहकार्य गरी उठाएका उम्मेद्वार रामजी कुँवरलाई १४ हजारभन्दा बढी मतले पछि पार्दै उहाँ आगामी ५ वर्षको लागि महानगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको हो । एमाले वृत्तमा मानवहादुर जिसीलाई सरल नेता मानिन्छ । सरल जीवनशैली र मिजासिलोपना उहाँको विशेषता हो । अरु नेताहरुले जस्तो अर्काको विरोध र आलोचना गर्ने बानी पनि उहाँको नरहेको कुरालाई एमाले पार्टी पंक्तिमा प्रशंसा गर्ने गरिन्छ । त्यसैगरी पनि उहाँ एमाले पार्टी भित्रै पनि लोकप्रिय बन्दै आउनुभएको छ ।

यसअघि प्रमुखको उम्मेद्वार छनोटका लागि एमाले कास्कीले चुनाव गरेको थियो, जहाँ उनले पूर्व मेयर तथा पार्टी जिल्ला अध्यक्ष कृष्ण थापा, युवा संघका अध्यक्ष राजिव पहारीदेखि जिल्ला उपसभापति श्रीनाथ बराललाई पछि पारेर पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखको लागि उमेद्वार सिफारिस हुनुभएको थियो ।

पोखरामा माओवादी केन्द्र र नेपाली कांग्रेसको बिचमा चुनावी तालमेल भए पनि एमाले र राप्रपाको बिचमा पनि भित्री तालमेल भएको थियो । यसले गर्दा पनि जिसीलाई चुनाव जित्न सजिलो भएको थियो ।
 ।

को हुन् त मानबहादुर ?

पोखराका नवनिर्वाचित प्रमुख मानबहादुर जिसीको जन्म २०१७ साल भदौ १७ गते भएको हो । उहाँको स्थायी ठेगाना साविक कालिका गाविस तथा हालको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २८ मा पर्छ ।

शिक्षा शास्त्रमा स्नातक तहसम्म अध्ययन गरेका जिसीले राजनीतिक यात्रा भने तत्कालिन माले निकट अखिलबाट सुरु भएको थियो । उनी २०३७ सालमा अखिलको पृथ्वीनारायण क्याम्पस प्रारम्भिक कमिटीका अध्यक्ष बनेका थिए ।
त्यसपछि २०३९ मा जिल्ला कमिटी उपाध्यक्ष हुँदै २०४१ मा पार्टीको संगठित सदस्यता लिनुभयो । जिसी तत्कालिन कालिका गाउँ कमिटीका सचिव, ईलाका कमिटी सचिव हुँदै २०५० मा जिल्ला कमिटी सदस्य बन्नुभएको थियो । सोही समयमा उहाँ कास्की क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष पनि बन्नुभयो ।

२०६८ मा जिल्ला कमिटी सचिव  हनुभएको थियो भने २०६६ सालबाट पार्टी अध्यक्षात्मक प्रणालीमा गएपछि नेकपा एमालेको कास्की जिल्ला अध्यक्ष बन्नुभयोे । हाल उहाँ एमालेको वैकल्पिक केन्द्रीय सदस्य हुनुहुन्छ ।

उहाँ यस अघि गत संविधानसभा निर्वाचनमा कास्की १ बाट उम्मेदवार बनी करीव डेढ सय मतले कांग्रेसका यज्ञबहादुर थापासँग पराजित हुनुभएको थियो । देशमा लोकतन्त्र र गणतन्त्रलाई स्थापित गराउन २०६२÷०६३ मा भएको शान्तिपूर्ण जनआन्दोलनको नेतृत्व गरेकै कारण ६२ दिनसम्म उहाँ हिरासतमा पर्नुभएको थियो ।

गाविस अध्यक्ष हुँदै महानगरको मेयर

२०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा जिसी साविक कालिका गाविसको अध्यक्षमा निर्वाचित हुनुभएको मानबहादुर जिसी २५ वर्षपछि एकैपटक देशको ठूलो महानगर पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको छ ।  बिचमा संविधान सभा सदस्यमा उम्मेद्वार बनेपनि चुनाव जित्न सक्नुभएन । उहाँ २०७० सालमा जिल्ला सुकुम्बासी आयोग कास्कीको ३ महिने अध्यक्ष समेत समेत बन्नुभएको थियो ।
महत्वकाँक्षी एजेण्डा

नेकपा एमालेको तर्फबाट मेयरको उम्मेद्वार मानबहादुर जिसीले चुनावी अभियानका क्रममा केही महत्वकांक्षी योजना पनि अघि सार्नुभएको छ । महानगरका कुनैपनि ठाउँको सडक बिग्रेमा २४ घण्टा भित्र बनाइसक्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रदेशस्तरीय र महानगरस्तरीय गरी दुई वटा बसपार्क बनाउने उनको घोषणा पत्रमा उल्लेख छ । पोखरा लेखनाथ महानगरका ३३ वटै वडालाई जोड्नेगरी सडक सञ्जाल बिस्तार गर्ने  र पोखरा र लेखनाथमा पर्ने सबै तालहरुलाई जोड्ने लिंकेज रोड बनाउने, पोखरा अन्र्तराष्ट्रिय बिमानस्थललाई ५ वर्ष्भित्रै निर्माण सम्पन्न गर्ने उनले चुनावी अभियानमा प्रतिवद्धता जनाउनुभएको छ ।

हालको काम गराइएको पाराले यो उहाँको लागि सबैभन्दा चुनौतिपूर्ण हुने देखिन्छ । त्यसैगरी  फोहरमैला ब्यबस्थापन बैज्ञानिक तरिकाले गरेर त्यहिं रोजगारी सिर्जना गर्ने, समृद्ध महानगर, सुखी महानगरपालिकाबासी बनाउने पनि उहाँले आफ्नो घोषणा पत्रमा उल्लेख गर्नुभएको छ । पर्यटकीय क्षेत्र लेकसाईड मात्रै हो भन्ने मानसिकता तोडेर महानगरका सबै क्षेत्रमा होटल, रेष्टुरेण्ट खोल्दै होमस्टे अवधारणालाई गाउँगाउँ पु¥याउने प्रतिवद्धता पनि उहाँको रहेको छ ।

जे होस्, मानबहादुर जिसीलाई छलकपट नभएका र स्वच्छ छवि भएका नेताको रुपमा एमाले वृत्त र आम जनमानसमा चिनिएको छ । संघीय संरचनालाई कार्यान्वयन गर्नको लागि शक्तिशाली मेयरको रुपमा निर्वाचित भएपछि उहाँले आफ्नो छविलाई कायम राख्दै जनभावनालाई बुझेर काम गरी आफ्नो कार्यकाल सफल पार्नुहुनेछ भने आम बुझाई रहेको छ ।