कैलाली ,जेठ १४ – पुनमले भरखरै दुई बोटल स्लाइन चढाएर सक्नुभएको थियो । कैलालीको घोडाघोडी नगरपालिका–९, शिखरझालाबाट बिहानै उपचारका लागि पहलमानपुरको एक मेडिकल आइपुगेकी पुनमलाई डाक्टरले कमजोरी भन्दै स्लाइन चढाए । केही औषधि दिएर पठाए । उहाँले ४ बजे बल्ल मेडिकलबाट बिदा पाउनुभयो ।
कमजोरीले उनको अनुहार निन्याउरो थियो । बायाँ हातबाट भर्खरै सुइ झिकेर पट्टी बाँधिएको थियो । अर्को हातमा एक पोका औषधि लिएर मेडिकल नजिकैको चिया पसलमा आउनुभयो ।उहाँ बिरामी हुनुहुन्छ तर साथमा श्रीमान हुनुहुन्न ।
पुनमका श्रीमान् लक्षिराम चौधरी (लक्ष्मण) ७ वर्षदेखि मलेसियामा हुनुहुन्छ । पुनमले आफू बिरामी भएको खबर मलेसियामा भएका श्रीमानलाई सुनाउन पाउनुभएको छैन । किनकी उहाँले पुनमको फोन नै उठाउनुहुन्न । श्रीमानले आफ्नो फोन नउठाएपछि पुनमले अरुको मोबाइल, ल्याण्डलाईनसँगै इन्टरनेटबाट पनि गर्नुभयो ।
तर त्यति गर्दा पनि फोन नउठेपछि भारतको नम्बरबाट गर्दा पो उठाउनुहुन्छ कि भन्ने आशामा उहाँ गौरीफन्टासम्म पनि पुग्नुभयो । तर फोन उठेन । पुनमले सुस्केरा हाल्दै भन्नुभयो ‘नेपालको कोड नम्बर देखेर नउठाउनुभएको हो कि भनेर इण्डियासम्म पनि पुगें तर फोन उठाउनुभएन ।’उहाँलाई श्रीमानसँग एक पटक मात्रै भएपनि कुरा गर्न मन छ । कुरा हुन पाए श्रीमानलाई घर बोलाउँथे भन्ने सोच्नुभएको छ उहाँले ।
पहलमानपुरबाट मलेसिया गएका एकजना साथीको घर गएर उनलाई फोन गरी लक्ष्मणको मोबाइल नम्बर दिएर कुरा गराइदिन आग्रह गर्नुभयो । तिनै साथीले भनेका कुरा सुनाउँदै पुनमले भन्नुभयो ‘मलेसियाको नम्बरबाट फोन गर्दा उठाउनुभएछ तर घरको कुरा गर्ने बित्तिकै फोन काट्नु भयो रे !’गएको माघमा पुनमले श्रीमानलाई माघी मनाउन घर आउन भन्नुभएको थियो ।
अनि घर खर्च पनि पठाइदिन आग्रह गर्नुभयो । त्यतिबेला लक्षमणले ‘पर्सी पठाइदिन्छु’ भन्नुभयो । तर त्यो पर्सी आउनै पाएन । अर्को दिनदेखि फोन नै उठ्न छोड्यो । ‘त्यसपछि एक पटक पनि फोन उठाउनु भएको छैन,’ पुनमले भन्नुभयो ‘उहाँलाई के भएको हो ? केही थाहा छैन । एक पटक कुरा गर्न पाए हुन्थ्यो । उहाँलाई घर बोलाउँथें ।’
मलेसिया गएपछि लक्षमणले पैसा पठाइरहनुभएको थियो । त्यही पैसाले पुनमले पहलमानपुरको तुल्सीबारीमा १० धुर जग्गा पनि किन्नुभएको छ । अनि गाउँमा पुर्ख्यौली एक विघा ७ कठ्ठा जमिन छ । ‘घरमा केटाकेटी र बुढी सासु हुनुहुन्छ’ पुनमले भन्नुभयो ‘त्यो खेतमा जसोतसो बाली लगाउँछौं ।’
लक्ष्मणलाई विदेश पठाउँदाको ऋण पनि तिरिसक्नुभएको छ । ऋण तिरिसकेपछि घर बनाउने तयारी थियो पुनमको । ‘बजारको नजिक जग्गा किनिहालियो । घर अहिले नै चाहिँदैन । यतै आएर कमाएपछि बनाउँला भनेको थिएँ’, पुनमले पछिल्लो पटक श्रीमानसँग गरेका कुरा सुनाउनुभयो । चारैतिरबाट नदीले घेरिएको शिखरझालाबाट बजार आउन जान, छोराछोरी पढाउन कठिन हुने भएपछि पुनमले गाउँको घर भत्काएर तुल्सीबारीको जग्गामा घर बनाउन सुरु गर्नुभएको छ ।
उहाँलाई घर बनाउने, छोराछोरी पढाउने, बुढी सासुको हेरचाह गर्ने, खेती गर्ने चटारो त छ नै श्रीमान् सम्पर्कमा नहुँदा पीडा पनि थपिएको छ । पैसा पठाउँछु भनेका श्रीमान एक्कासी बेपत्ता भएपछिको अवस्था कस्तो छ न पुनमलाई थाहा छ न त बुढी भएकी आमालाई नै ।
पुनम र लक्ष्मणका एक छोरा र एक छोरी छन् । छोरी १२ वर्षकी भइन्, छोरा ६ वर्षका । लक्ष्मण एक्ला छोरा हुन् । लक्षमणका बुवा पनि दुई वर्ष अघि बित्नुभयो । ‘यहि तनावले पुनम कमजोर भएको हुँला काम गर्न जाँगर चल्दैन । खाना खान मन लाग्दैन । गला सुकेर आउँछ ।’
पुनमले भन्नुभयो ‘आफ्नो मान्छेलाई घर बोलाउन । उनीसँग कुरा गर्न कसलाई मन लाग्दैन र ! घरिघरी फोन गर्छु । उठ्दैन । यस्तो भएपछि मन मरेर आउँछ ।’