-लघुकथा
काठमाडौं महानगरका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यलाई हिजो बिहान एउटा फोन आयो।
फोनकर्ताः दाइ अभिवादन। बधाइ छ है दाइलाई।
विद्याः अभिवादन, धन्यवाद। को बोल्नु भयो होला?
फोनकर्ताः दाइ म चुमन, टोलमा युवासंघमा छु। अस्ति घरदैलोमा खादा ओढाइदिएको थिएँ नि..। सम्झनु भो?
विद्याः ए अँ, भन्नुस् के छ?
चुमनः हाम्रो टोलमा दाइको स्वागतमा भोलि बिहान कार्यक्रम राखुँ भनेर सल्लाह भएको छ। हजुर पाल्दिनु परो।
दाईको भव्य स्वागत हुन्छ।
विद्याः सुन्नुस् त, के नाम भन्नु भयो रे?
म चुमन।
अँ चुमनजी, मेरो स्वागतको योजना बनाउनु भएकोमा धेरै खुसी लाग्यो। भोलि शनिबार पनि हो। दिन पनि राम्रो परेको छ। म आउँछु।
चुमनः ल दाइ क्या खुसी लाग्यो...
(बीचमै विद्या बोले)
म आउँछु तर मेरो सानो अनुरोध हजुरहरुले मानिदिनु पर्छ है।
के होला दाई? भन्नुस् न, दाइको लागि जे पनि गरिन्छ नि..।
विद्याः स्वागत कार्यक्रममा एउटा पनि खादा नहोस् है। टोपी लगाउने, माला लगाउने कार्यक्रम नराख्नु होला। टीका सम्म ठिक छ।
चुमनः किन दाइ, हामी त भव्य स्वागत गर्ने भन्या छ, बाजा बजाएर...।
विद्याः हो भव्य नै गरौं, मेरो कुरा अझ सकिएको छैन। सुन्नुस् है, खादा, टोपी, माला लगाउनेतर्फ सोच्दै नसोचौं। बाजा चाँही बजाउँदा हुन्छ। अनि माइक पनि राख्नु होला। तर मञ्च चाहिदैन। हाते माइक भए पुग्छ। बाजाले सबैलाई थाहा पनि हुन्छ, त्यो ठिक छ।
चुमनः दाइ यसरी त स्वागत हुन्छ र?
विद्याः मेरो कुरा ध्यान दिएर सुन्नस् है। अरुलाई पनि बुझाउन सजिलो हुन्छ। म भोलि बिहान ८ बजे हजुरको टोलमा आउँछु। सबैलाई खबर गर्नु। खादा, माला, टोपीको सट्टा हातमा पञ्जा लगाएर कुचो, कोदालो, बेल्चा जे छ त्यो लिएर भेला हुन भन्नु।
चुमनजी, सुन्नु भा छ?
अँ दाइ।
अँ, बजा बजाएर माइकिंग गरेर कसरी हुन्छ धेरैलाई भेला पार्नु। म अनौपचारिक पोशाकमा (ट्रयाकसुटमा) आउँछु। सबैको आशिर्वाद लिन्छु। केहीबेर शुभकामना, खुसी साटासाट गारौं, भेटघाट गरौं। त्यसपछि म पनि टोलबासी सबैलाई माइकिंगमा अनुरोध गर्छु, अपिल गर्छु र हामी सबै मिलेर भोलि तपाईँको टोलको सरसफाईमा लागौं। स्वागत पनि भयो, टोल सफाइ पनि भयो।
हेल्लो चुमनजी, सुन्नु भा छ?
सुन्दै छु दाइ।
मेरो स्वागत कार्यक्रम राख्ने सबैलाई यसैगरि सरसफाइ र टोल सुधारका कार्यक्रम राख्न अनुरोध गर्ने योजनामा छु। चुमनजी, मेरो भाग्य यसको उद्घाटन तपाईँकै टोलबाट गर्न पाउने भएँ।
हेल्लो चुमनजी, सुन्नु भा छ?
सुन्दै छु दाइ।
हेर्नुस् अब सधै खादा, माला लगाएर भाषण मात्रै गरेर बस्ने समय छैन। मैले सय दिनमा गर्ने कामको खाका बनाएको छु। मेरो दिन सुरु भैसकेको छ। त्यसैले मेरो बाध्यता बुझिदिएर सहयोग गरिदिनु होला। अरुलाई पनि मेरो कुरा राम्ररी बुझाइ दिनु होला।
चुमनजी, मेरो अनुरोध छ हजुरलाई।
चुमनः दाइ हजुरले हाम्रो आँखा खोलिदिनु भयो। म त कुरा सुनेर छक्क परें। हामीले त हजुरलाई स्वागत गरेर खुसी पारेर टोलमा बजेट तान्ने योजना बनाएका थियौं। हामीले ताकेको अर्कै थियो दाइ। तर हजुरको यो पवित्र सोँचले हाम्रो बांगो नियत पनि सप्रियो। हजुरको सोँचलाई सलाम छ दाइ। भोलि हामी हजुरले भनेजस्तै तयारीमा हुनेछौं। टोलमा झनै रौनक थपिनेछ दाइ।
अभिवादन दाइ। भोलि दाइको प्रतीक्षामा हुनेछौं।
विद्याः मेरो भाग्य, मैले धेरै बुझाउनै परेन हजुरलाई, सबै महानगरबासीको सोँच यसैगरी बदलिए मेरो सपना साकार हुनेछ। धन्यवाद चुमनजी। बाइबाइ। भोलि भेटौंला।
फोन काटियो।
(लधुकथा)
Tuesday, May 30, 2017
मेरा प्यारा महानगरबासी हो, खादा, टोपी र माला हैन, कुचो, कोदालो र बेल्चा समाउ
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News
