जेष्ठ १८, २०७४- काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप ८० वर्षमाथिका पुरुष र ७५ वर्षमाथिका महिलालाई वार्षिक १२ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको बताएका छन् । ज्येष्ठ नागरिकको घरदैलौमा दक्ष चिकित्सक टोली पठाएर उपचार गर्ने निर्णय पनि महानगरको नवनिर्वाचित बोर्डले गरेको छ । शपथ ग्रहणपछि पदबहालीलगत्तै मेयर शाक्यले बोर्डको पहिलो बैठक बोलाएर ११ वटा निर्णय गरेको जानकारी दिए । महानगर क्षेत्रभित्रका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पर्यटकीयलगायत सार्वजनिक र पार्कहरूमा नि:शुल्क वाईफाईको व्यवस्था गरिनेछ ।
बागदरबारमा महानगरपालिकाको साबिकको कार्यालय निर्माण तत्काल अघि बढाइने उनले बताए । भूकम्पबाट क्षतिग्रस्त वडा कार्यालयको तत्काल निर्माण कार्य सुरु गर्ने निर्णय पनि बोर्डले गरेको छ । ‘वडा कार्यालय सञ्चालन गर्न पर्याप्त भवन छैनन्,’ मेयर शाक्यले भने, ‘अब निर्माण कार्य तत्काल अघि बढाउँछौं ।’ महानगरलाई जीवन्त सहरका रूपमा कायम राख्न २४ घण्टा खुला राख्न आवश्यक पूर्वाधार विकास गरिने पनि उनले बताए । ‘स्थानीय तहमध्ये काठमाडौं महानगर नमुना हो,’ उनले भने, ‘सबै स्थानीय तहले यसको नक्कल गर्छन् त्यसकारण आर्थिक पक्षलाई बलियो बनाउन रातभर खुला राख्ने व्यवस्था गर्नैपर्छ ।’
बढदै गएको धूलो/धूवाँलाई न्यूनीकरण गर्न ‘सफासुग्घर’ सहरका रूपमा विकास गरिने उनले बताए । त्यसका लागि बिहीबार बिहान ६ बजेदेखि महाराजगन्जस्थित गंगालाल हृदयरोग केन्द्रबाट सरसफाइ अभियान सञ्चालन गरिने निर्णय गरेको उनले बताए । घरघरमा उत्सर्जन भएको फोहोर सूर्योदयअघि नै विसर्जनको व्यवस्था मिलाइने उनले बताए ।
महानगरमा सरकारी कामकाजको भाषाका रूपमा नेपाली र नेपाल (नेवारी) भाषाको व्यवस्था गर्ने पहिलो बैठकले निर्णय गरेको उनले बताए । साथै त्यसका लागि नेपाल भाषाका विज्ञसमेतको व्यवस्था गरिनेछ । महानगरका प्रत्येक वडा कार्यालयमा राखिने बोर्ड र लेटरप्याडमा रञ्जना लिपिसमेत प्रयोग गरिनेछ । सार्वजनिक स्थलमा शौचालय निर्माण कार्यलाई तीव्र रूपमा अघि बढाइनेछ । शपथ ग्रहणपछि उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले सम्बोधन गर्दै निर्वाचनताका मतदातासमक्ष गरेको वाचा पूरा गर्न कुनै कन्जुस्याइँ नगर्ने बताइन् । ‘हामीले वाचा गरेका छौं, त्यो वाचा चाँडो पूरा गर्छौं ।’
जिल्ला निर्वाचन आयुक्त दीपेन्द्र अधिकारीले काठमाडौं महानगरपालिका मेयर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । आयुक्त अधिकारीले वडाध्यक्षलाईसमेत पद तथा गोपनीयताको शपथ ग्रहण गराए । त्यसपछि मेयर शाक्यले वडा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए । मेयर शाक्य र उपमेयर खड्गी श्रेष्ठले नेवारी भाषामा शपथ ग्रहण गरेका थिए । शपथ ग्रहणलगतै मेयर तथा उपमेयरले विभिन्न स्थान गएर सहिदको सालिकमा माल्यार्पण गरेका थिए ।
Wednesday, May 31, 2017
ज्येष्ठ नागरिकलाई वार्षिक १२ हजार भत्ता
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News
