१६ जेठ, नेपालगञ्ज । बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको विमान दुर्घटनामा परी मृत्यु भएका पाइलट महासेनानी कैलाश गुरुङको शव काठमाडौं पठाइएको छ ।
साथै दुर्घटनामा घाइते भएका सहचालक पूर्णबहादुर खड्कालाई उपचारका लागि काठमाडौं पठाइएको नेपालगञ्जबाट सहकर्मी आरपी सुवेदीले जानकारी दिए ।
दुर्घटनामा घाइते भएकी परिचारिका अनिता आलेको भने कोहलपुर मेडिकल कलेजमा आइसियूमा राखेर उपचार भइरहेको छ । उनको अवस्था पहिलेको भन्दा सुधार भएको चिकित्सकहरुले बताएका छन् ।
सुर्खेतबाट सिमिकोटको लागि उडेको एन ए ४८ स्काई प्लग जहाज सिमिकोटमा हावाको बहाव बढी भएपछि बाजुरा डाइभर्ट भएको थियो ।
तर, कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर धान खेतमा पुगेको छ । दुर्घटनापछि विमानमा आगो पनि लागेको थियो ।
तर, विमानस्थल नजिकै रहेको नेपाली सेनाको टोलीले स्थानीयको सहयोगमा तत्काल आगो नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले अनलाइनखबरलाई जानकारी दिए ।