भरतपुर। निरन्तर अग्रता बढाएका एमाले मेयरका उम्मेद्वार देवी ज्ञवालीको मतलाई १३ नम्बर वडाले ब्रेक लगाएको छ। यो वडाले ज्ञवालीको मत ब्रेक मात्रै लगाएको छैन, माओवादी उम्मेद्वार रेणु दाहालले तिर्नुपर्ने मतको ऋण पनि घटाएकी छन्।
वडा नम्बर १३ लाई मतान्तर यु–टर्न गर्ने वडाका रुपमा लिइएको छ। वडा नम्बर १३ ग्रामीण भेगको वडा हो। सदरमुकाम भरतपुरबाट वडा नम्बर १३ करिव १० किलोमिटर टाढा पर्छ। यो वडामा पहिले देखिनै माओवादीको प्रभाव रहेको छ। यो पहिलो वडा हो भरतपुर महानगरमा माअोवादीले खाता खोलेको यो नै पहिलो वडा हो।
देवीलाई ऋण तिर्ने पालो रेणुको
भरतपुर महानगरको मेयर उम्मेद्वार माओवादीकी रेणु दाहालले जित्ने आशा मारेकी छैनन्। उनी पछिल्ला मत परिणाम आफ्नो पक्षमा आउनेमा विश्वस्त छन्। त्यो विश्वासलाई बल दिएको छ भरतपुर महानगरपालिकाको वडा नं. १३ ले। यो वडामा वडाध्यक्ष पदमा माओवादीका प्रकाश दवाडीसहितको प्यानल नै विजयी भएको छ।
वडा नं. १३ को मतले एमालेका मेयर उम्मेद्वार देवी ज्ञवालीको मतअन्तर घटाएको छ। तीन हजार ८३६ मतको अन्तरलाई १३ नम्बर वडाले तीन हजार ३११ मतमा झरेको छ। यो वडाले रेणुलाई ५२५ मतको ऋण तिर्न सघायो।
वडा नं. १३ बाट एमालेका मेयर उम्मेद्वार ज्ञवालीको एक हजार ११९ र माओवादीकी दाहालले एक हजार ६४४ मत पाए।
भरतपुरका वडाहरूमा माअोवादीले जितको खाता खोलेको १३ नम्बर नै पहिलो हो। गनिएका १६ वटा वडामा माअोवादीको मत एक वडामा बाहेक तेस्रो वा चाैथोमा छ।
१३ वडाका माअोवादीका विजेता वडाध्यक्ष दवाडीले १ हजार ४३८ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेद्वार रामजि सापकोटाले १ हजार ५३ मत पाए।

