जेष्ठ १५, २०७४- नीलकण्ठ १० गोलाभन्ज्याङको भकारेमा रोकिराखेको बस आइतबार साँझ सडकबाट डेढ सय मिटर तल खस्दा कम्तीमा ४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार १७ जनाभन्दा बढी घाइते भएका छन् ।
विद्यार्थी बोक्ने विद्यालयको बसमा यात्रु चढाएर गोला भन्ज्याङबाट त्रिपुरेश्वरको खहरे बजारतर्फ जाने तयारी गर्दैगर्दा दुर्घटना भएको स्थानीयले बताएका छन् ।
मृत्यु हुनेमा त्रिपुरासुन्दरी ७ की ६२ वर्षीया चूडादेवी पाण्डेको पहिचान भए पनि अन्यको सनाखत हुन सकेको छैन । उद्धारमा संलग्न कुबेर धरेलका अनुसार ग१ख ३४०५ नम्बरको उक्त बसमा खचाखच यात्रु थिए । सदरमुकामबाट १७ किमि टाढा बाटोमा नियमित चल्ने बस बिग्रिएपछि विद्यालयको बस बोलाएर यात्रु चढाइएको थियो । ‘यात्रु अलपत्र परेपछि विद्यालयको बस मगाइएको थियो,’ उनले भने । बिग्रेको बसबाट सबै यात्रु स्कुल बसमा राखेर छतमा सामान बाँध्ने क्रममा ओरालोतर्फ गुडेर बस खस्न पुगेको थियो ।
एम्बुलेन्स अभावमा कतिपय घाइतेलाई अबेरसम्म पनि उपचारका लागि अस्पताल लैजान नसकिएको पीडितका आफन्तले गुनासो गरेका छन् । राजमार्गसम्म एम्बुलेन्स मगाएर बिरामी राजधानी लैजान पहल भइरहेको प्रहरीले जनाएको छ । केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बसमा कति यात्रु थिए अबेरसम्म खुल्न सकेको छैन ।
Monday, May 29, 2017
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News