काठमाडौ : लुक्ला विमानस्थलमा दुर्घटनाग्रस्त गोमा एयरमा सवार एयर होस्टेस प्रज्ञा महर्जनलाई मौसम प्रतिकुलताका कारण काठमाडौं ल्याउन सकिएको छैन्।केहीबेर अगाडि घाइते महर्जनलाई लिएर काठमाडौं उडान भरेको डाइनेस्ट एयरको नाइन एन एजेडी हेलिकोप्टर सोलुखुम्बुको चौरीखर्कमा अवतरण गरिएको छ।तेन्जिङ हिलारी लुक्ला विमानस्थलमा भएको दुर्घटनामा महर्जन घाइते हुनु भएको छ। उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट पारसकुमार राईको निधन भइसकेको छ भने कोपाइलट सिर्जन मानन्धरको अवस्था गम्भीर छ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डन प्राधिकरण कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार को पाइलट मानन्धरको भने लुक्ला अस्पतालमा उपचार भइराखेको छ।
‘हामीले घाइतेको उद्दारका लागि काठमाडाैं पठाउने प्रयास गरिरहेका छाैं, तर माैषम खराव भएर सफल हुन सकिएको छैन,’ डिएसपी माधव बुढाथोकीले भने ‘उपचारकै क्रममा क्याप्टेन राइ बित्नु भयो, उद्दारमा पनि कठिनाइ भएर ढिला भयो, वहाँलाइ बचाउन सकिएन।’
