Breaking

Monday, May 29, 2017

श्वेताले रुँदै भनिन्– ‘पतिको कसम खाएर भन्छु, एकिकृत बस्ती जसरी भएपनि बनाउने छु’


जेष्ठ १५, २०७४- चौतारा साँगाचोकगढी नगरपालिकाको माझीगाउँमा सोमबार एकिकृत बस्तीको शिलन्यास गरिएको छ । भूकम्पपछि दुई वर्ष टहरामा कष्टमय जिवन गुजारिरहेका ६३ माझी परिवारको लागि अभिनेत्री श्वेता खड्का र पुनर्निर्माण प्राधिकरण प्रुमख डा गोविन्द पोखरेलले इट्टा राख्दै बस्तीको शिलन्यास गरेका हुन् ।

शिलन्यास सुरु गर्नु अघि श्वेता मञ्चमा भक्कानिन् । ‘पतिको कसम खाएर भन्छु एकिकृत बस्ती कुनै हालतमा बन्नेछ,’  उनले मञ्च अगाडि माल्यर्पण गरिएको स्व. श्रीकृष्ण श्रेष्ठको तस्बिर छोएर रुँदै भनिन्, ‘उहाँको आत्माको शान्तीको लागि म ज्यान दिएर लाग्नेछु ।’

उनले भावुक हुँदै एकिकृत बस्तीको लागि आवश्यक सहयोग आइरहेको र अब चाँडै बस्ती बनाउन सुरु गरिने बताइन् ।

‘हजुरहरुको साथ र सहयोगले म यो काम पुरा गर्नेछु,’ खड्काले भनिन्, ‘पहिलोचोटी यहाँ आउँदा हजुरको दु:ख देखेर मलाई रुन मन लागेको थियो, अब सबैलाई खुशी बनाउने योजना बोकेको छु ।’


शिलन्यास गरिसकेपछि सिइओ पोखरेलले खड्काले गरेको कार्य महत्वपूर्ण भएको र सरकारले यसमा गर्नसक्ने सबै पहल गर्ने बताए  । ‘अभिनेत्री श्वेताले गरेको काम सम्मान योग्य छ, सरकारले मात्र चाहेर पुनर्निर्माण हुँदैन, यसको लागि समाज नै लाग्नुपर्छ, भन्ने यो उदाहरण हो,’ पोखरेलले भने, ‘पुनर्निर्माणको चरणलाई खड्काले सहयोग गर्नुभएको छ  ।’

कार्यक्रममा पूर्व प्रधानसेनापती रुकमांगद कटुवाल, नायक निखिल उप्रेती, हास्य कलाकार जितु नेपाल, गायक प्रमोद खरेल, कलाकारहरु बसुन्धरा भुषाल, शिवहरी बैरागी, युवराज चौलागाई, गोयल कायस्थ लगायतको उपस्थिती रहेको थियो । बस्ती निर्माणको लागि सहयोग गर्ने कलाकार र दातालाई सम्मान गरिएको थियो ।  

जिविकोपार्जनको प्रमुख स्रोत कृषिबाट महिना दिन पनि खान नपुग्ने भएपछि उनीहरु समस्यामा परेका थिए । हाल सहयोगी हात र अभिनेत्रीको पहलमा एकिकृत बस्ती बस्ने भएपछि माझी बस्तीमा खुशीयाली छाएको छ । 

सहरी विकास तथा भवन डिभिजन कार्यालयले माझी गाँउमा भौगोलिक अनुगमन गरेर एकिकृत बस्ती बनाउन अनुमति दिइसकेको छ । जिल्लाभर पुनर्निर्माणको चटारो चलिरहेको बेला हाल माझी गाउँमा वरीपरी एकिकृत बस्ती निर्माण हुनेभएपछि माझी परिवार उत्साहित भएका छन् । बस्तीमा २८ रोपनी जग्गा ओगट्ने त्यसमध्ये २० रोपनीमा आवास बनाइने र आठ रोपनीमा बाटो र खुल्ला स्थान राखिने संरचनाको योजना रहेको छ ।

सरकारले दिने अनुदानले घर बनाउन नपुग्ने भएपछि माझी परिवार अन्योलमा परेका थिए । ‘अभिनेत्री श्वेता गाउँमै आएर सामूहिक आवास बनाइदिने प्रतिबद्धता जनाएपछि माझी गाउँ खुशीले उचालिएको  छ,’ ठुलोसिरुवारी माझीगाँउका स्थानीय दिनेश माझीले भने, ‘एकिकृत बस्ती बसाउने खबर पाएसँगै हामीमा घरमा बस्ने आश जागेको छ ।’