निलु आफ्नो कलेजबाट घर फर्किँदै गर्दा उनका बाबाको अफिस बाटामै पर्ने हुँदा उनलाई आफ्ना बाबाको अफिसमा पसेर बाबासँगै घर फर्किने मनसाय भयो । उनका बाबा जेलर थिए ।
जेलर अलि व्यस्त भएका कारणले उनले केही समय पर्खिनुपर्यो । जेलरको अफिस बाहिरपट्टि यताउता निलु डुल्दै थिइन् । एक्कासि निलुका आँखा जेलको ग्रिलको ढोकाबाट भित्रको दृश्यमा पर्यो ।
टाढैबाट एक निलो टिसर्ट लगाएको कैदीले उनलाई नियालिरहेको थियो । उनको आँखा त्यही कैदीमै पर्यो । कैदी अति नै हेन्डसम थियो । निलुले सोचिन् यति सुन्दर केटो को होला ? किन जेल पर्यो होला ? यति भद्र केटाले के अपराध गर्यो होला ? भन्ने उनको मनमा अनेक कुतुहल चल्यो ।
टाढैबाट निलु र कैदीको एक अर्कालाइ हेर्ने क्रम चलिरह्यो । टाढैबाटको हेराहेरले एकअर्काप्रतिको मनको तरङ्ग आदानप्रदान हुँदै थियो । यतिकैमा जेलर आफ्नो काम सकेर बाहिर निस्किए । बाबुछोरी एकै बाइकमा बसेर घरतिर लागे । निलुको मानसपटलमा त्यही हेन्डसम भद्र कैदीको मुहार घुमिरहेको थियो । निलुलाई उही कैदीका विषयमा बुझ्ने जिज्ञासा प्रबल भएर मनमा उर्लियो ।
उनले आफ्ना बाबाको बाइकमा पछाडि बसेर अलिकति डराउँदै आफ्ना बाबासँग सोधिन् । बाबा ! जेलभित्र निलो कपडा लगाएको एउटा मानिस हेर्दा कति भद्र लाग्छ, त्यति भद्र मानिसले के अपराध गर्यो होला र जेल पर्यो होला ? जेलरले आफ्नी छोरीसँग भने, छोरी म त्यस मानिसको सम्पूर्ण कुरा घर पुगेपछि तिमीलाई भन्छु । केही क्षणमा निलुको बाबाछोरी घरमा पुगे ।
खानपिन गरेर बाबुछोरी नै आराम गर्दै थिए । प्रसङ्वश फेरि निलुले त्यही कैदीको कुरा आफ्ना बाबासँग निकालिन् । त्यसपश्चात् जेलरले उही कैदीको बारेमा सम्पूर्ण विवरण निलुसँग बताए । निलु निक्कै ध्यान लगाएर सुन्दै गइन् । त्यो कैदी एक स्कुलको हेडमास्टर हो ।
उसले अङ्ग्रेजीमा एम.ए. गरेको छ । साधारण घरको छोरो हो । साथीसाथी झगडा हुँदा अर्कै साथीले साथीलाई रिसको झोँकमा हत्या गरेर भाग्यो । ऊ पनि सँगै भएका कारण त्यो केटो फँस्यो ।
अहिले उसको अदालतमा मुद्दा चलिरहेको छ भनेर जेलरले निलुलाई सुनाए । एक निर्दोष मानिसले सजाय भोगिरहेको कुरो सुनेर निलुलाई अझ कैदीप्रति माया जागेर आयो । दिनदिनै कलेज जाँदा निलुलाई उही कैदीलाई देख्ने इच्छा भयो र उनी केही बहाना गरेर आफ्ना बाबाको अफिस जान लागिन् ।
धेरैजसो कैदीको र निलुको देखादेख हुने गर्दथ्यो । यो क्रम जारी नै रयो । चारदिवारभित्रको पिँजडामा रहेका कैदीका मनमा निलुप्रति प्रबल प्रेम जागेर आयो ।
prisionनिलु पनि कैदीको प्रेममा डुब्दै गइन् । उनीहरु एकअर्कामा टाढाबाटै हुने गरेको हेराइका स्पर्सले एकअर्काप्रतिको चाहनालाई छर्लंग महसुस गरिरहन्थे । जतिजति दिनहरु बित्दै गए । प्रेमको गहिराइभित्र डुबेर लेखिएका प्रेमपत्र उनीहरुबीच आदानप्रदान हुन थाले ।
हरदम उही कैदीको निर्दोष मायालु मुहार निलुको मनासपटलमा घुमिरहन्थ्यो । उनीहरु दुवै एकअर्काप्रतिको कल्पनामा डुबेर रमाउँथे । कैयौँ सपनीहरुमा उनीहरुको भेट हुन्थ्यो ।
उनीहरुबीच भौतिक रुपमा भेट नभए पनि एकअर्काप्रतिको भावनाको सागरभित्र डुबुल्की मारिरहेका थिए । तर उनीहरुबीचको भेट आकाशको फल आँखा तरी मर् भनेको जस्तै थियो । दुवैबीचको अत्यधिक चाहनाले पानी विनाको माछा जस्तै दुवै छट्पटाइरहन्थे । एकअर्काको सम्झनामा दुवै जनाको भोक निन्द्रा सबै हरण भैसकेको थियो । उनीहरु दुवै एकअर्काप्रतिका रोगी भइरहेका थिए ।
दिनप्रतिदिन एकअर्काप्रतिको तड्पाइले सीमा नाघिसकेको थियो । यस्तै उनीहरु दुवैको जीवन अति कठिनाइसँग बित्दै थियो । आफ्नी छोरीको सम्पूर्ण प्रेमकहानी जेलरलाई थाहा भयो ।
जेलरले कैदीलाई धेरै टाढाको अर्कै जेलमा सरुवा गरिदिए । निलुलाई पनि उच्च शिक्षा हासिल गर्न U.S.A पठाइदिए । निलुको र कैदीको पत्राचारले निरन्तरता पाइरह्यो । भौगोलिक दूरीबाट उनीहरु टाढा भए पनि उनीहरुबीचको भावना र मनको निकटताले दुई मुटुलाई एकै बनाइरह्यो । उनीहरुले एकअर्कालाई लेखेका हरेक शब्दभित्र नै मिलनको मिठास पाउँथे ।
निलुलाई U.S.A को सुन्दर सहरमा पनि एक्लिएको र आफुपनि बन्दि भएको महसुस भईरयो ! यस्तै क्रम ६ वर्षसम्म निरन्तर चलीरयो ! यता कैदीपनि अदालतबाट सफाई पाएर जेल मुक्त भए ! निलुपनि नेपाल फर्किन् र उनीहरु दुबैको मिलन भयो !
जन्म जन्मौसम्म उनीहरु दुबैले एकसाथ रहने बाचा गर्दै जिन्दगीको सुरुवात गरे ! लामो समयको तड्पाई पश्चात उनीहरुले संसारकै सबैभन्दा खुसी प्राप्त गर्न सफल भए ! उनीहरुको प्रेमले सार्थकता पायो !
स्रोत : कल्पना खरेल/ सामाजिक सन्जालबाट
