नेपालगन्ज, जेठ १३ – ईस्लाम धर्मावलम्बीको मुख्य पर्व रमजानको तराबी शनिबारदेखि सुरु भएको छ ।नेपालगन्जका मुस्लिम अगुवा हाजि शकील अहमद कादरीका अनुसार आइतबारदेखि रमजानको रोजा सुरु हुनेछ ।
मुस्लिम बाहुल्य अन्य देशमा शनिबारदेखि नै रमजान सुरु भएपनि नेपालमा शुक्रबार बेलुका चन्द्रमा नदेखिएका कारण आइतबारदेखि रमजान सुरु हुन लागेको हो । तर तराबी भने एकदिन अघिदेखि नै सुरु हुने गरेको छ ।
हिजरी सम्वतको ८ औं महिना रजबुल मुरज्जबको समाप्तीको भोलीपल्टदेखि रमजानुल मुबारकको महिना सुरु हुन्छ । अन्तिम दिन ईदको रुपमा मनाईन्छ । रमजान महिनालाई मुस्लिम समुदायले अत्यन्त महत्वका साथ मनाउने गरेका छन् । रमजानको महिनामा इस्लाम धर्मावलम्बीहरु बिहान सूर्य उदाएपछि सूर्यास्त नहुँदासम्म हरेक दिन एक महिनासम्म केही नखाइकन व्रत बस्ने गर्छन् ।
हिजरी सम्वतको १२ महिना मध्ये रमजानुल मुबारकु पवित्र र एवादत (उपासना) गर्ने महिना समेत हो । रमजान महिनामा दिनभरीको रोजा समाप्त गर्ने बेलामा सामूहिक रुपमा बसेर खाने प्रचलन रहेको छ ।
हरेक बालिक, समझदार महिला तथा पुरुषमाथि रोजा अनिवार्य गरिएको छ । ईस्लाम धर्मगुरुहरुका अनुसार, बृद्धबृद्धा, अशक्त वा दीर्घ रोगी, यात्री, गर्भवती, रजश्वला भएकी, सुत्केरी महिलाहरूका लागि रोजा अनिवार्य गरिएको छैन ।