काठमाडौं, जेठ १८ – गाउँघरमा गाईभैँसीको दूधका लागि कुनै मरिहत्ये गर्नुपर्दैन । दूध खानु स्वास्थ्यका लागि पनि फाइदाजनक छ । दूध भर्खर जन्मेको बच्चादेखि वृद्धसम्म सबैलाई चाहिने अति आवश्यक पेय पदार्थ हो ।
दूधमा भिटामिन, चिल्लो पदार्थ लगायतका पोषक तत्वका साथै क्याल्सियम पनि हुन्छ । तर शहरबजारमा बस्नेले दूध किनेरै खाउँ भने पनि बेलामा पाईंदैन । किनभने दूध उद्योगले समेत दूध अभाव खेपिरहेका छन् ।
दूधसँगै दुग्धजन्य बस्तुको प्रयोग बढ्दो
दूधको प्रयोग गरी अन्य सामग्री पनि बनाउन सकिन्छ । दूध आफैमा कच्चापदार्थ पनि हो । दूधबाट दही, मही, घिउ, पनिर, चिज, खुवा लगायतका खाद्य सामग्री बनाउन सकिन्छ । बजारमा सबैभन्दा धेरै दूध नै खपत हुन्छ । त्यसपछि दही, महीको प्रयोग बढी हुन्छ । प्रायजसो शहरी क्षेत्रमा पनिर, चिजको खपत बढी मात्रामा हुन्छ । दूधजन्य पदार्थ दही, घिउ, पनिर, चिज, आइसक्रिम लगाएतको खपत १५ प्रतिशतले बढेको छ । शहर बजारमा जस्तैगरी गाउँघरमा पनि दुग्धजन्य पदार्थको खपत बिस्तारै बढ्दै गएको छ । यसले आपूर्तिमा पनि समस्या पारेको छ ।
सबै जिल्लामा दूध उत्पादन हुन्छ । बढी उत्पादन हुने जिल्लाबाट खपत हुने भनेको काठमाडौं, पोखरा, रुपन्देही जस्ता शहर बजार हुन् । जहाँ माग बढी छ । नेपालले हरेक वर्ष १८ लाख मेट्रिक टन दूध उत्पादन गर्छ । नेपालमा दैनिक ५० लाख लिटर दूध उत्पादन हुन्छ । नेपालमा उत्पादन हुने दूधमध्ये १५ प्रतिशत मात्रै व्यावसायिक क्षेत्रमा आपूर्ति हुने गर्छ । पछिल्लो तथ्याङ्क अनुसार वर्षको ३ लाख मेट्रिक टन दूध अभाव भइरहेको डेरी उद्योग संघले जनाएको छ ।
आपूर्ति नबढ्दा दही, घिउको अभाव
गाउँमै पुगेर दूध संकलन गरी सहरी क्षेत्रका उपभोक्तालाई उपलब्ध गराउने गरिन्छ । दूध आपूर्ति नभएका कारणले अहिले बजारमा दही र घिउको अभाव छ । गर्मीमा दूधबाट बन्ने परिकार मध्ये १० प्रतिशत दहीमा खपत हुने गरेको डेरी उद्योग संघले जनाएको छ । दूध जाडोमा कम र गर्मीमा बढी खपत हुने गर्छ ।
आत्मनिर्भर हुन अझै ६ लाख टन आवश्यक
पशु उत्पादन निर्देशनालयका कार्यक्रम निर्देशक केशव अच्छामीका अनुसार दूधमा आत्मनिर्भर हुन वार्षिक ६ लाख टन दूध आवश्यक छ । आर्थिक वर्ष २०७१÷०७२ मा १७ लाख २४ हजार ८ सय २३ मेट्रिक टन दूधको उत्पादन भएको देखिन्छ । २०७२÷०७३ मा १८ लाख ५४ हजार मेट्रिक टन दूध उत्पादन भएको छ ।
यसलाई बढाएर २० लाख ३१ हजार मेट्रिक टन पु¥याउने लक्ष्य छ । दुग्ध उत्पादनको वार्षिक वृद्धिदर ५ दशमलव ५ प्रतिशत छ भने माग बढ्दै गएको छ । समग्र बजार माग भने २५ लाख मेट्रिक टन छ । नेपालमा अझै माग अनुसारको दूध उत्पादन हुन सकेको छैन । पशु उत्पादन निर्देशनालयका अनुसार कूल दूध उत्पादनमध्ये ७० प्रतिशत भैँसीको र ३० प्रतिशत गाईको छ । दूध उत्पादन बढाउन सरकारले बिभिन्न कार्यक्रम पनि सञ्चालन गरेको छ ।
कार्यक्रम
सरकारले देश तीन वर्षमा दूधमा आत्मनिर्भर बन्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ । पछिल्ला वर्ष पशु स्रोत केन्द्र स्थापना, गाई भैँसी अनुसन्धान कार्यक्रमलाई व्यापकता दिने लगायतका अभियानमा जोड दिइएको छ । पशुमा कृत्रिम गर्भधारण, उन्नत नश्लका दुधालु गाईको वंश सुधार तथा उन्नत जातको घाँस–बिउबिजनमा वृद्धि, गोठ सुधार, उत्पादनमा वृद्धि, सरकारी अनुदानमा वृद्धि, पशु बीमा कार्यक्रम सञ्चालन भएका छन् ।
यसले विस्तारै दूध उत्पादन बढ्दै गएको छ । तर पुग्दो भने अझै छैन । दुग्ध उत्पादन वृद्धिका लागि सरकारले सुरु गरेको कृत्रिम गर्भधान कार्यक्रम निकै प्रभावकारी भएकाले कार्यक्रम थप विस्तार गर्दै लैजाने निर्देशनालयले जनाएको छ । मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गलाई गाई तथा भैँसीको दूध उत्पादनको नयाँ क्षेत्रका रूपमा पहिचान गरी कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।
विश्व दूध दिवस
विश्व खाद्य संगठनले सन् २००१ देखि विश्व दूध दिवस मनाउने निर्णय गरेको हो । नेपालले सन् २०११ बाट दिवस मनाउन थालेको हो । हरेक नेपालीले वर्षमा ७० लिटर मात्रै दूध उपभोग गरेको पाइन्छ ।
तर विश्व स्वास्थ्य संगठनका अनुसार मानव स्वास्थ्यका लागि प्रतिवर्ष प्रतिव्यक्ति ९१ लिटर दूधको आवश्यकता पर्छ । अझै पनि प्रतिव्यक्ति २१ लिटर दूध अपुग छ । नेपाल पशुपालनमा आधारित देश भए पनि दूधको समस्या उस्तै छ ।