Breaking

Wednesday, June 7, 2017

तीन वर्षमा ३० पाल्पालीको विदेशमा मृत्यु


देव पचभैया/उज्यालो ।

पाल्पा, जेठ २५ – तीन वर्षको अवधिमा ३० जना पाल्पालीले विदेशमा ज्यान गुमाएका छन् । घाइते र अंगभंग हुनेको रेकर्ड छैन ।

विदेशमा मृत्यु भएका परिवारलाई मृतकले काम गर्ने कम्पनीले परराष्ट्र मन्त्रालय हुँदै जिल्ला प्रशासनमा पठाएको क्षतिपूर्तिको विवरण अनुसार तीन वर्षमै ३० पाल्पालीको मृत्यु भएको तथ्याङ्क भेटिएको हो ।
परदेशमा ज्यान गुमाएका, घाइते र अंगभंग भएकाको संख्या अझै धेरै हुन सक्ने अनुमान गरिएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाका अनुसार आर्थिक वर्ष २०७१/७२ मा ९ जना, २०७२/७३ मा ११ जना र २०७३/७४ मा १० जना विदेशमा ज्यान गुमाएका पाल्पालीका परिवारले क्षतिपूर्ति वापतको रकम जिल्लामा आएको छ ।
‘यो त क्षतिपूर्ति आएकाको मात्रै संख्या हो’, प्रमुख जिल्ला अधिकारी बावुराम गौतमले भन्नुभयो, ‘क्षतिपूर्ति नपाएकाको संख्या जोड्दा ज्यान गुमाउनेको संख्या अझ धेरै हुन सक्छ ।’

कामका लागि भारतमा पनि धेरै पाल्पाली गएका छन् तर त्यहाँको तथ्याङ्क प्रशासनमा आएको छैन । ज्यान गुमाउने अधिकांश सडक दुर्घटना र स्वास्थ्यमा समस्या आएकाहरु छन् । कलकारखानामा च्यापिएर घाइते हुने र खानपान तथा रहनसहनमा ध्यान नदिँदा पनि धेरै नेपालीको विदेशमा मृत्यु भैरहेको छ ।