जेठ २४ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आग्रहमा अरब देशले कतारसँगको सम्बन्ध ताडेको दाबी गर्नुभएको छ ।
आतंकवादीलाई सहयोग गरेर अरब क्षेत्रमा अस्थिरता कायम गरेको आरोप लगाउँदै साउदी अरेबिया, बहराइन, संयुक्त अरब इमिरेट्स, यमन, लिबिया तथा माल्दिभ्सले कतारसँगको कुटनीतिक तथा राजनीतिक सम्बन्ध अन्त्य गरेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै यी देशले आफ्नो आग्रहमा कतारसँगको सम्बन्ध तोडेको दाबी गर्नुभएको छ । केही समयअघि मात्रै भएको आफ्नो भ्रमणको क्रममा साउदी अरेबियासँग आफूले कतारले अतिवादी विचारधाराको समर्थन गरेको र आतंककारीलाई आर्थिक सहयोग गरिरहेको बताएको ट्रम्पको भनाई छ ।
आफू भ्रमण सकेर फर्किएको केही समयपछि नै आफ्नो साउदी भ्रमणको असर देखिन थालेको ट्रम्पको दाबी छ । झण्डै दुई हप्ताअघि ट्रम्पले मध्य पूर्वको भ्रमण गर्नुभएको थियो ।
ट्रम्पको यो भनाईलाई विश्लेषकले निकै गम्भीर तथा महत्वपूर्ण रुपमा लिएका छन् । साउदी अरेबियाको भ्रमणको क्रममा ट्रम्पले इरानमाथि पनि अस्थिरता फैलाएको आरोप लगाउनु भएको थियो । आफूसँगको सम्बन्ध तोड्ने निर्णय गरेका देशलाई कतारले वार्ताका लागि आह्वान गरिसकेको छ ।
साउदी बाट कुनै पनि बेला कतारमाथि आक्रमण हुनसक्ने
साउदी अरबले कतार माथि कुनै पनि बेला आक्रमण हुन सक्ने बताएको छ । न्स्ट्च्यिुट फर गल्फ अफेयर्सका संस्स्थापक र निर्देशक प्राध्यापक अली अल–अहमदले कतार माथि कुनै पनि बेला हमला हुन सक्ने बताएका हुन् ।
‘कतारमाथि अब आक्रमण हुन्छ । कतारी सिमानानजिक साउदीले सैन्य गतिविधि चलाइरहेको सूचना मैले पाएको छु,’ अल–अहमदले सोमवार भने, ‘साउदीहरू युद्धको तयारी गर्दैछन् ।’
उनले सोचेभन्दा निकै अगावै कतारमाथि पूर्ण आक्रमण हुनसक्ने चेतावनी समेत दिएका छन् । ‘यमनमाथि बम आक्रमणको आवृत्ति हेर्नुस् ।
यमनका विद्रोहीहरूमाथि साउदी अरबले आक्रमण बन्द ग–यो वा घटायो भने कतारविरुद्ध आक्रमणको तयारी गरेको भनी बुझ्नुपर्छ,’ उनले भने, ‘ अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र विदेशमन्त्री रेक्स टिलरसनले साउदी राजपरिवारसँग निकट सम्बन्ध कायम राखेका छन् र उनीहरूले कतारमाथि साउदी आक्रमणलाई समर्थन गर्नेछन् ।’
ट्रम्पले साउदीहरूले गर्ने आक्रमणप्रति कुनै आपत्ति नजानाउने उनले बताएका छन् । साउदीले कतारमाथि आक्रमण गरेमा इजिप्ट र युएई अनि विशेषगरी बहराइनले पूर्ण समर्थन गर्ने अल–अहमदको भनाइ छ ।
‘साउदीहरू कतारीसँग बेस्सरी रिसाएका छन् । साउदीहरूले यमनलाई कहिल्यै स्वतन्त्र हुन दिने छैनन् । बहराइन कतारसँग घृणा गर्छ,’ उनले भने, ‘साउदी अरबका नेताहरू कतारलाई रियादको नोकर बनाउन चाहन्छन्, अहिलेको यमन सरकार जस्तो ।’
साउदीहरूको दुईवटा लक्ष्य रहेको भन्दै उनले भने, ‘पहिलो, कतारलाई आफ्नो दास बनाउने । यसमा उनीहरू कुनै तलमाथि गर्ने छैनन् । दोस्रो, साउदीहरूको आँखा कतारको अकूत सम्पत्तिमा गडेको छ । उनीहरूलाई त्यो पैसा चाहिएको छ ।’
डोनल्ड ट्रम्पले साउदीहरूलाई सुरक्षा चाहिने भए अमेरिकालाई उनीहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ठूलो रकम दिनुपर्ने प्रस्ट पारेका छन् जसले गर्दा उनीहरूमा ठूलो वित्तीय भार परेको अल–अहमदको निष्कर्ष छ ।
‘साउदीहरूलाई अहिले जसरी भएपनि पैसा जम्मा गर्नु छ । अझ त्यसमाथि ट्रम्पले उनीहरूमाथि आर्थिक भार थोपरिदिएका छन् । उनीहरूको पैसा सकिँदै गएको छ र टन्न क्याश तत्कालै आवश्यक छ,’ उनले भने ।
कतारको नेतृत्व आफूहरूप्रति पूर्ण बफादार हुनुपर्ने अपेक्षा साउदी अरबले राखेको अल–अहमद निष्कर्ष निकाल्छन् । उनले साउदी अरबले कतारसँग सबै सम्बन्ध तोड्ने निर्णय गरेर आफूभन्दा सानो र धनी देशमाथि कब्जा जमाउँदै त्यहाँको सम्पत्ति हात पार्नका लागि भूमिका बनाएको उनको भनाई छ ।
नेपाल पर्ख र हेरको रणनीतिमा : लामो नाकाबन्दी भए रोजगारीमा समस्या
कतारमा गहिरिएको संकटबाट त्यहाँ रहेका नेपालीको रोजगारीमा तत्काल कुनै असर नगर्ने सरकारी अधिकारीहरूले बताएका छन् । कतारसँग सातवटा छिमेकी मुलुकले तत्कालका लागि कूटनीतिक सम्बन्धविच्छेद गरेपछि त्यहा“ कार्यरत नेपाली र आगामी दिनमा कतारमा रोजगारीको अवसर के होला भन्ने जिज्ञासा बढेको छ । आजको नयाँ पत्रिकामा खबर छ ।
श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता तथा सहसचिव गोविन्दमणि भुर्तेलका अनुसार कतारमा रोजगारीको अवसर र त्यहाँ कार्यरत कामदारको भविष्य के हुन्छ भन्ने सन्दर्भमा सरकार पर्ख र हेरको रणनीतिमा छ ।
‘पछिल्लो घटनाक्रमबाट कतारस्थित नेपाली नागरिकलाई नकारात्मक असर परेकोबारे अहिलेसम्म कुनै रिपोर्टिङ आइसकेको छैन,’ उनले भने, ‘परिस्थिति जसरी अगाडि बढ्छ, सरकारले त्यसैगरी रणनीति बनाउँछ ।’
लामो समय आर्थिक नाकाबन्दी भए मात्र रोजगारीमा समस्या
श्रम तथा रोजगार मन्त्रालयका अनुसार कतारमा अहिले साढे ३ देखि ४ लाख नेपाली कामदार कार्यरत छन् । त्यसमध्ये ठूलो हिस्सा निर्माण क्षेत्रमा सक्रिय छ ।
मन्त्रालयका अनुसार भारतपछि धेरै नेपाली कामदार निर्माण क्षेत्रमा कार्यरत छन् । त्यसकारण कूटनीतिक विच्छेद र नाकाबन्दीले रोजगारीमा तत्काल ठूलो असर नपर्ने, तर आर्थिक नाकाबन्दी लामो समय रहेमा भने समस्या आउन सक्ने मन्त्रालयको भनाइ छ ।
नयाँ रोजगारीको माग के होला ?
कतार समस्या लामो समय लम्बिएमा नया“ रोजगारीको अवसर नआउने र कतारको गन्तव्य नै खतरामा पर्ने सम्भावनाबारे आशंका सुरु भएको छ ।
तर, व्यवसायीहरू भने यो समस्या शीघ्र हल हुनेमा आशावादी छन् । ‘यो समस्या कति दीर्घकालसम्म लम्बिन्छ भन्ने विषय महत्वपूर्ण हो,’ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमलप्रसाद ढकाल भन्छन्, ‘आजकै दिनमा अब के हुन्छ भनेर प्रतिक्रिया दिन सक्ने अवस्था छैन ।’
”कतार समस्याबाट नेपालीमाथि पर्ने तत्कालीन असर वायुसेवाको टिकट हो, यसका लागि पनि विकल्प छन् । आगामी दिनमा के हुन्छ आजै भन्न सकिने अवस्था छैन । परिस्थिति जसरी अगाडि बढ्छ, सरकारले त्यसैअनुसार रणनीति बनाउँछ ।” -गोविन्दमणि भुर्तेल, प्रवक्ता, श्रम तथा रोजगार मन्त्रालय
”आफ्नो मुलुकमा ट्रान्जिट गरी कतारसम्म उडान गर्ने कम्पनीले कतारको टिकट बिक्री बन्द गरेपछि अन्य कम्पनीले मौकाको फाइदा छोपी भाडा बढाउन सक्छन् । नेपाली कम्पनीहरूलाई निकै राम्रो अवसर आएको छ । नेपाली कम्पनीले उडान संख्या बढाएर नेपाली दाजुभाइलाई सेवा दिनुपर्छ ।” – यमबहादुर खड्का, प्रबन्ध निर्देशक, एरोलिना ट्राभल
