जेष्ठ २८, २०७४- चिनियाँ चालक स्वोलुङ दुई महिनादेखि नेपाली भूमिमा एक्जाभेटर चलाइरहेका छन् । नेपाल–चीन सीमा टिप्ताला भन्ज्याङबाट खन्न सुरु गरेका उनले करिब ११ किमि सडक निर्माण गरिसके । अहिले बाकाङसम्म सडक पुगेको छ । २ सय ४० सीसी क्षमताको मेसिन चलाउने उनी ट्रयाक खोल्छन् । त्यो मिलाउने, सडक चौडा बनाउने, खाल्टाखुल्टीमा ढुंगा लगाएर पेल्ने र खँदिलो बनाउने काम अर्का चालक स्वोफेले गर्छन् । स्वोफेले चलाउने मेसिन २ सय ८ सीसी क्षमताको छ ।
उनीहरू चीनको राजधानी बेइजिङ नजिकको सान्दाङ नजिकबाट ल्हासा, रिउ हुँदै सडक निर्माण गर्न यहाँ आएका हुन् । साथमा अर्को एक डोजर पनि छ । प्राविधिक समस्या भइहाले पनि काममा अवरोध नहोस् भनेर डोजर पनि तयारी अवस्थामा राखिएको हो । बसाइँसराइका सामान र ड्रममा डिजेल ओसार्ने काममा पनि डोजरको प्रयोग हुन्छ । डोजर चलाउने चालक भने तिब्बतका चोन्दे भोटे हुन् । उनीहरूलाई काम लगाउने र निगरानी चिनियाँ ठेकेदार कम्पनीका नेनेले गर्छन् । एक जना भान्छे महिलासहित तीन पुरुष सहयोगी पनि उनीहरूले ल्याएका छन् ।
यो चिनियाँ टोली फागुनदेखि नेपाली पहाड छिचोल्दै बस्तीतर्फ लम्किरहेको छ । उनीहरूको एउटै ध्येय ओलाङचुङगोलाको बस्ती सडकले जोडिदिने हो । त्यही ध्याउन्नमा प्रत्येक बिहान ५ बजेदेखि सुरु भएको मेसिन बेलुका ७ बजेमात्रै रोकिन्छ । सडकको नियमित अनुगमन ओलाङचुङगोलाका छेतेन वालुङले गरिरहेका छन् ।
यहाँका बासिन्दा आफैं चीनसँगको व्यापारिक सम्बन्ध विस्तार गर्न र ओलाङचुङगोला नाकालाई सडक सञ्जालले जोड्न जुटेका हुन् । यहाँ जन्मेर अमेरिका, बेलायत र काठमाडौं गएर बसेकाहरू मिलेर सडक खन्न २ करोड रुपैयाँ जुटाएका छन् । हाल फक्तालुङ गाउँपालिका–७ मा पर्ने तत्कालीन ओलाङचुङगोला गाविसको पूर्वाधारतर्फको ४२ लाख र निर्वाचन क्षेत्र नम्बर २ का सांसद डम्बरध्वज तुम्बाहाम्फेको सांसद विकास कोषको १० लाख रुपैंया सडक निर्माणमा लगाइएको छ । अमेरिकामा व्यवसाय गर्ने तेन्जिङ उक्याव एक्लैले ५० लाख दिएका छन् । यो सडक बनाउन नेपाल सरकारले चीनसँग भाडामा मेसिन मागिदिएको हो । भौतिक योजना तथा निर्माण मन्त्रालयले परराष्ट्र, परराष्ट्रले चिनियाँ दूतावासलाई मेसिनका लागि अनुरोध गरेको थियो । अनुरोधपछि चीनले भाडामा मेसिन र जनशक्ति दिएको हो । आफूले उपलब्ध गराएको जनशक्तिको कामको अनुगमन त्यहाँका प्रशासन प्रमुखले पनि गर्छन् ।
छेतेनको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ । सडकको गुणस्तरबारे उपभोक्ता समितिले कामदारलाई होइन, त्यहाँको प्रशासनलाई गुनासो गरे हुन्छ । ‘हामी कामदारलाई यस्तो गर्नुपर्छ भन्छौं, उनीहरूले नमाने वा हामीले नदेखेको कमजोरी भए त्यहाँको प्रशासन प्रमुखले आएर तुरुन्तै सुधार गर्न लगाइदिन्छन्,’ छेतेनले भने, ‘तर अहिलेसम्म कम्प्लेन गर्नुपरेको छैन ।’ जति सडकको ट्रयाक खुलेको छ, त्यहाँसम्म सानो गाडी र मोटरसाइकल चल्न सक्छ । तेलको ट्यांकर पनि त्यहींसम्म ल्याइएको छ ।
सडक निर्माणका लागि अहिलेसम्म २ करोड संकलन भएको छ । ‘ग्राभेल गर्दा, ढल काट्ता र सडक पेलेर चिल्लो बनाउँदा अझै ५० लाख नपुग हुने देखिएको छ,’ छेतेनले भने, ‘पहिलाको योजनाभन्दा काम बढी भएकाले रकम पनि बढ्ने भयो ।’ रकम संकलनको समन्वय तेन्जिङ आफैंले गरेका छन् । अहिलेसम्म मेसिन भाडा र कामदार गरी चिनियाँ ठेकेदारले १ करोड २० लाख रुपैयाँ लगेका छन् । प्रारम्भिक सर्भेमा १९ किलोमिटर भनिए पनि बीचमा पहरो निस्किएर सडक घुमाउनु पर्दा झन्डै २२ किमि पुग्ने उनले बताए । मौवाटारमाथि डाँडामा पहरो फुटाउन २२ दिन लाग्यो । ‘त्यसलाई समय खर्चिनु नपरेको भए अबको १०–१५ दिनमा बस्ती नजिक पुर्याउन सकिन्थ्यो,’ छेतेनले भने, ‘तैपनि साउन पहिलो सातादेखि बस्तीका बासिन्दाले ओलाङचुङगोलाबाटै गाडी चढेर तिब्बत जान पाउने अपेक्षा गरेका छौं ।’
अब खन्ने ठाउँमा पहरा नभएकाले काम चाँडो हुने उनीहरूको विश्वास छ । यहाँका बसिन्दा बिहान सबेरै हिँडे मात्रै बेलुका तिब्बतको रिउ पुग्छन् । बाहिरबाट जानेलाई एक दिन र एक बिहान लाग्छ । ५ हजार १ सय मिटर उचाइ पार गरेर जानुपर्दा लेक लाग्ने भएकाले एकैदिनमा पुग्न कठिन हुन्छ ।
Saturday, June 10, 2017
सडकले छिचोलिँदै ओलाङचुङगोला
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News