रोजगारीका लागि कतार जान रोकिएको श्रम स्वीकृति पुनः सुरु भएको छ। छिमेकी मुलुकले सम्बन्धबिच्छेद गरेपछि कतार एक्लिँदा त्यसको असर नेपालसम्म पर्नसक्ने भन्दै धेरैले शङ्का गरेका थिए । कतारको सङ्कटले गर्दा अनेक समस्या निम्तिने भन्दै कतार जाने कामदार र श्रम स्वीकृति जारी गर्ने वैदेशिक रोजगार विभागलाई नियमित काम सुरु गर्ने/नगर्नेबारे अन्योल सिर्जना भएको थियो। रोकिएको श्रम स्वीकृति बुधवारदेखि सुरु भएपछि भने केही राहत महसुस भएको छ ।
सोमबार छिमेकी मुलुकले कतारसँगको सम्बन्ध तोडेपछि मङ्गलवार कतार जाने कामदारको श्रम स्वीकृति प्रदान नगरेको वैदेशिक रोजगार विभागको काठमाडौँ कार्यालयले बुधवारदेखि पुनः श्रम स्वीकृति सुरु गरेको जनाएको छ। ‘पहिलो दिन प्राविधिकलगायतका समस्याले श्रम स्वीकृति जारी हुन सकेन,’ विभागको काठमाडौँ कार्यालयका प्रमुख तेजराज पाण्डेले भने, ‘बुधवार सबैतिर सोधीखोजी गरेपछि पुनः श्रम स्वीकृति जारी गर्यौँ। सबै काम नियमित भएको छ।’
उनले बुधवार संस्थागततर्फ ३ सयजनाको अन्तिम श्रम स्वीकृति जारी गरिएको बताए। त्यही दिन पूर्वस्वीकृति भने ९ सयले लिएका छन्। कतारको अवस्था सामान्य रहँदा संस्थागततर्फ रोजगारीमा जानेमध्ये दैनिक तीनदेखि ४ सयले अन्तिम स्वीकृति लिने गर्थे।
प्राकृतिक ग्यास बिक्री गरेर राम्रो आर्थिक उन्नति गरिरहेको कतारमा पछिल्ला वर्ष रोजगारीका लागि जाने नेपाली बढिरहेका छन्। सन् २०२२ मा विश्वकप फुटबल प्रतियोगिता गर्ने तयारीमा जुटेकाले समेत यतिखेर कतारको निर्माण क्षेत्रमा रोजगारीका थुप्रै अवसर बढेको थियो
छिमेकी मुलुकले सम्बन्धबिच्छेद गरेको घोषणापछि विभिन्न सञ्चारमाध्यमले यतिखेर कतारमा खाद्यान्न सङ्कट सिर्जना हुने र त्यसको पहिलो मार आप्रवासी कामदारले खेप्नुपर्ने समाचार लेखिरहेका छन्। विभागले जारी गर्ने श्रम स्वीकृति लिएर हालसम्म करिब साढे १० लाख युवायुवती कतार गएका छन् जसमध्ये हाल करिब ४ लाख नेपाली त्यहीँ रहेको अनुमान छ।
हालसम्मको तथ्याङ्कमा नेपालले श्रम स्वीकृति जारी गर्ने विश्वका १ सय ८ देशमध्ये कतार दोस्रो ठुलो गन्तव्य हो। नेपाली कामदारको पहिलो गन्तव्यको रूपमा रहेको मलेसिया जाने कामदार सङ्ख्या कतारको भन्दा थोरैले मात्र बढी छ। विभागका अनुसार हालसम्म करिब साढे १० लाख युवायुवती श्रम स्वीकृति लिएर कतारमा जाँदा मलेसिया जानेको सङ्ख्या १२ लाख जति छ। त्यस्तै अहिलेसम्म नेपाली कामदारको तेस्रो नम्बरको गन्तव्यमा रहेको साउदी अरबमा करिब साढे ८ लाख नेपाली रोजगारीका लागि पुगेका छन् ।
Source : NagarikNews
