Breaking

Thursday, June 1, 2017

भरतपुरमा क्षति पुगेको मतपत्र ९० वटा, ९९८ मतपत्र सुरक्षित


चितवन, जेठ १८ –  भरतपुर महानगरपालिकाको मतगणना भइरहँदा आइतबार राति च्यातिएको मतपत्रमध्ये ९० वटामा क्षति पुगेको नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिनुभएको छ ।

भरतपुर वडा नम्बर १९ मा जम्मा खसेको मत २ हजार ८ सय ९७ हो ।  यसअघि १ हजार ८ सय ९ मत गणना भइसकेको छ । बाँकी रहेको मतमध्ये ९ सय ९८ वटा सुरक्षित रहेको र ९० वटा मतपत्रमा क्षति पुगेको सभापति श्रेष्ठले जानकारी दिनुभयो ।

बिहीबार चितवनको  भरतपुरमा च्यातिएको मतपत्रको अवस्था बुझ्नका लागि सबै दलका प्रतिनिधि तथा मेयर, उपमेयरलगायत अरु उम्मेदवार गरी ४६ जना मतगणनास्थल भरतपुरको कभर्डहलमा छन् ।

निर्वाचन आयोगले गएको आइतबार राति च्यातिएको मतपत्रको संख्या यकिन गरेर पठाउन भनेपछि च्यातिएका मतपत्र गनिएको हो । वडा नम्बर १९ को मत गन्ने क्रममा त्यहाँ रहेको माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि भरतपुरको मतगणना रोकिएको थियो ।