Breaking

Friday, June 9, 2017

कतार लाई राहत सबै सहयोग गर्न इरान तयार, दक्षिणी बन्दरगाह प्रयोग गर्न दियो, कतार ले आत्मसमर्पण कोहि संग पनि नगर्ने


कतारका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीले यसको घोषणा गरेका हुन् । इरानले दोहालाई आफ्ना तीनवटा बन्दगरगाह प्रयोग गर्न दिने भएको छ ।
यसबाट कतारले आफूलाई चाहिने सबै मालमत्ता आयात गर्न सक्नेछ ।

साउदी अरब, इजिप्ट, युएई र बहराइनले आफूमाथि लगाएको प्रतिबन्ध सामूहिक सजाय भएको भन्दै शेख मोहम्मदले चिन्ता व्यक्त गरे ।

‘हामीहरू सफल र प्रगतिशील भएकाले एक्ल्याइयौं । हामी शान्तिको वाहक हौं, आतंकवादको होइन,’ उनले पत्रकारहरूलाई बताए ।

कतारले लगभग सबै सामान आयात गर्छ तर शेख मोहम्मदका अनुसार नाकाबन्दी लगाउने मुलुकहरूबाट १६ प्रतिशत सामान मात्र कतार भित्रिने गरेको छ ।
इरानको एक मालवाहक विमानले कतारमा खानेकुरा आपूर्तिका लागि बिहीवार उडान भरेको त्यहाँका सञ्चारमाध्यमले बताएका छन् ।
लोकान्तर बाट

कतारमा नेपाली

खाडी मुलुकहरूमा अहिले अचानक उत्पन्न तनावका कारण कतार एक्लिएको छ । त्यहाँका छ मुलुकहरूले सम्बन्ध बिच्छेद र आर्थिक नाकाबन्दीपछि त्यहाँको अर्थतन्त्र, व्यापार र सुरक्षामा प्रतिकूल परिस्थिति उत्पन्न हुने संकेतहरू देखा परेका छन् । खाडी क्षेत्रमा बढी समृद्ध र आफ्नो आर्थिक सम्पन्नताका कारण बाह्य जगत्मा उपस्थिति बनाउन सफल कतारका लागि यो शुभ संकेत हैन । जुन आरोप अर्थात आतंकवादी शक्तिलाई प्रोत्साहित गरेको आरोप लागेको छ, त्यसबाट आगामी वर्षहरूमा कतारले विश्व समुदायलाई आश्वस्त गर्न नसके ऊ एक्लिने र अन्य कडा कारबाही खेप्नुपर्ने सम्भावना त्यत्तिकै बढ्दोछ । रोजगारी र केही आम्दानीको सुनिश्चितताका लागि कतार नेपालीहरूको आकर्षणको केन्द्र बन्दै आएको छ, विगत दुई दसकयता । अहिले त्यहाँ करिब ५ लाख जति नेपाली कामदार रहेको अनुमान छ ।

कतारले अहिले भोगेको प्रतिकूल परिस्थितिका कारण आउने दिनमा रोजगारीका हिसाबले आम कामदारहरूले नयाँ समस्या भोग्नुपर्ने छ । आगामी ओलम्पिक (२०२२ सन्) को प्रस्तावित आयोजकका रूपमा अति उत्साहसँगै रोजगारीका अतिरिक्त अवसर जुराएको थियो । विगत दुई वर्षमा बढी नेपालीहरूले कतारलाई आफ्नो कर्मथलो बनाउनुको कारण पनि त्यही थियो ।

नेपाल सरकारले अहिलेसम्म कतारमा नेपालीहरूले केही समस्या नझेलेको दाबी गरे पनि सरकारले परिस्थितिको नियमित आकलन गर्नुका साथै परिआएमा आपत्कालीन उद्धार अभियानका लागि तयार हुनु आवश्यक छ ।
कतार एयरलाइन्सको उडान अहिले यथावत छ नेपालमा, तर नाकाबन्दीको सामना गरिरहेको मुलुकले कहिलेसम्म त्यसलाई नियमितता दिन सक्छ, ढुक्क हुने अवस्था छैन । पक्कै पनि कतारको वर्तमान भोगाइका अन्तर्राष्ट्रिय आयाम छन् र त्यसले विश्वको वा अन्य ठूला शक्तिलार्ई ध्रुवीकृत गर्ने सम्भावना छ ।

परिस्थितिले मुलुकभित्र र बाहिर कता कोल्टे फेर्ला त्यो एउटा पाटो हो, तर कतारमा अहिले रहेका नेपालीको जिउधनको सुरक्षा सबै नेपालीको चासो बन्न पुगेको छ, जसलाई आधिकारिक र निर्णायक रूपमा नेपाल सरकारले प्रतिनिधित्व गर्नु र उचित कदम उठाउनु आवश्यक छ । त्यहाँको परिस्थितिले कुन रूप लेला भन्न सकिने अवस्था नरहेकाले सुरक्षापूर्ण फिर्ति प्रक्रिया सुरु गर्न ढिलाइ भएमा त्यसले अनपेक्षित दुष्परिणाम ल्याउन सक्नेछ र त्यसको ठूलो दोष सरकारले लिनुपर्ने छ । annapurnapost