Breaking

Saturday, June 10, 2017

बर्खा नलाग्दै तिलाठी डुबानमा


जेष्ठ २८, २०७४- नेपाल–भारत सीमावर्ती क्षेत्र तिलाठीमा शनिबार अपराह्न कान्तिपुर टिम पुग्दा गाउँ नै गर्मीले हपहपी पाकिरहेको थियो । तर पहाडी भेगमा परेको पानी बग्दै खाँडो खोला झरिसक्दासम्म बाढीमा बदलिइसकेको थियो । अकस्मातको बाढीले भारत जोड्ने सप्तरीको पहिलो पक्की सडक खण्ड राजविराज–कुनौलीको तिलाठी डुबानमा पार्‍यो ।

बाढीसँगै सीमा क्षेत्रको आवागमन ठप्प हुँदा पारिपट्टि किनमेलमा गएका नेपाली उतै अड्किए । कुनौली बजार गइरहेका राजविराज–८ का रामचन्द्र दासको मोटरसाइकल हेर्दाहेर्दै बाढीले बगायो । प्रहरी र स्थानीयको उद्धारले कसोकसो उनी बच्न सके । साउन १३ गते चर्चित तिलाठी काण्डका अगुवा देवनारायण यादव त्यस बेलासम्म दसगजा क्षेत्र पुगिसकेका थिए । ‘बर्खा लागेकै छैन, जेठमै हाम्रा दु:खका दिन सुरु भइसके,’ उनले दुखेसो पोखे, ‘बर्सेनि तिलाठी र वरपरका गाउँ डुब्छन्, तर जति कराए पनि सरकार उदासीन छ ।’

यादव चिन्तित हुने अर्को कारण भारतीय पक्षको ‘मनपरी’ पनि हो । तिलाठी काण्ड त्यही मनपरीको उत्कर्ष थियो, जहाँ नेपाली पक्ष ज्यान फाल्नै तयार भएर सीमा रक्षामा उभियो । झडपमा भारतीय पक्षको आक्रमणबाट उनै यादवको टाउको फुट्यो । अन्य ११ नेपाली घाइते भए । त्यतिबेला नेपाली राज्य प्रशासनको साथ नपाए पनि तिलाठीका मधेसी समुदायले बरु भारतीय सशस्त्र सीमा बल (एसएसबी) को चुटाइ खपे, तर आफ्नो जमिन खोसिन दिएनन् । त्यसपछि तत्क्षणलाई पारिपट्टिबाट हेप्ने साहस भएन । स्थानीयवासीका अनुसार सीमा स्तम्भ कुनै बेला पूर्ववत् क्षेत्रमै खडा थियो । कालक्रममा त्यो जंगे पिलर ‘सर्दै’ दसगजा वर आइपुगेको हो । एक स्थानीय किसानका भनाइमा प्रहरी प्रशासनले चाहेर पनि केही गर्न सकेको छैन । ‘हामीलाई राजनीतिक नेतृत्वको साथ भएन,’ सप्तरी भन्सार कार्यालयनेर बाढीको कहर काटिरहेका उनले भने, ‘सरकार र नेताहरूले उतापट्टि वार्ता नगर्दा हामीलाई मात्रै दबाब थेग्न गाह्रो हुन्छ ।’ एक स्थानीय प्रशासकका अनुसार भारतीय पक्ष आफ्नो जनताको दु:खमर्का बुझ्न यसअघि पटक–पटक आइसक्यो, नेपालबाट कोही पुगेको छैन ।

कान्तिपुरले शनिबारै सदरमुकाम राजविराजमा राखेको मधेसको मत बहस यात्रामा बोल्दै सहभागीहरूले तिलाठी प्रकरणलाई नसल्टाएकोमा राज्य सञ्चालकप्रति आक्रोश पोखे । भारतीयले बाढी नियन्त्रणका नाममा दसगजामा बाँध बाँध्ने र सीमा मिच्ने खतरा बढेकोमा उनीहरूको आपत्ति थियो । खाँडोखोलामा बाढी आउनेबित्तिकै भारतीय सुरक्षाकर्मीको आडमा भारतीय नागरिकले खोलाको मुहानलाई नै थुन्ने गरी बाँध हाल्न थाल्दा नेपालतिर कुनै समन्वय गर्नुको साटो डुबानमा पार्ने गरेको पीडा तिलाठीसित छ ।

‘यहाँ देश चलाउने यत्रा–यत्रा पार्टी छन्, अनि मधेसीको मुक्तिका लागि पनि पार्टी नै पार्टी छन्,’ यादव आक्रोशित भए, ‘नेपाली बस्ती बर्खा नलाग्दै डुब्न थाल्छन्, बर्खामा त झनै बिजोग हुन्छ । उताबाट अनेक हर्कत हँ‘दा हाम्रो पक्ष निदाएर बस्ने हो ?’ उनले गत वर्षको तिलाठी घटनापछि बिहारका मुख्यमन्त्री नितीशकुमार दुई पटक कुनौली क्षेत्र आइसकेको बताए । उच्च भारतीय अधिकारीहरू पटक–पटक निरीक्षणमा आइरहे पनि सरकारी अधिकारी एक पटक पनि विवादित स्थलबारे जानकारीसमेत लिन नआएको दुखेसो पोखे । ‘यो सीमाको रक्षा र बाढीबाट स्थायी समाधानको उपाय खोज्ने काम के सीमावासीको मात्र हो ?’ साविकको तिलाठी गाविसका पूर्वअध्यक्ष दिनेश्वर मिश्र भन्छन्, ‘सरकारी अधिकारीले समयमा ध्यान पुर्‍याउन नसक्दा समस्या अझै बढ्न सक्छ ।’

त्यसो त, नेपाल–भारतबीच सीमावर्ती समस्या सुल्झाउन यसअघि समझदारी नबनेको होइन । तर भारतीय प्रशासनको उपेक्षाका कारण सहमति कागजमै सीमित छ । २०१४ मार्चमा दुवै देशका प्राविधिकको स्थलगत अवलोकनपछि पटनामा संयुक्त बैठक बस्यो । त्यसले खाँडो र जिता खोलालाई हाल विवादित रहेको बाँधस्थल हुँदै पश्चिमतर्फ च्यानल खनी भलुवाही खोलामा खसाल्ने साझा निर्णय लियो पनि, जसमा नेपालका तर्फबाट जलउत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय जनकपुरका तत्कालीन प्रमुख रत्नेश्वरलाल कर्ण र भारतीय पक्षबाट उनका समकक्षी ओमप्रकाश गुप्ताले हस्ताक्षर गरे । त्यस सम्झौताको आधारमा दुवै देशका प्राविधिकले संयुक्त सर्वेक्षण गरेर योजना बनाई काम गर्ने सम्झौता गरे । अनि खाँडो खोला व्यवस्थापनसम्बन्धी १४ करोडको त्यो तात्कालिक योजनामा भारतीय पक्षले प्रतिबद्धता जनायो । तर उक्त रकम सीमावर्ती भारतीय प्रशासनबाटै स्वीकृत नहुँदा काम अघि बढ्न नसकेको नेपाली अधिकारी बताउन त बताउँछन्, तर नेपाली पक्ष नै भारततिर भर पर्नुको सट्टा डीपीआरअनुसार किन आफैं निर्माणमा क्रियाशील नभएको भन्ने प्रश्नको जवाफ भने उनीहरूसँग पनि छैन । ‘खाँडो खोलाको नियन्त्रण र व्यवस्थापनमा तात्कालिक र दीर्घकालीन दुवै उपायसहितको योजना भारतीय पक्षको हातमा गएको लामो समय भयो,’ जलउत्पन्न प्रकोप व्यवस्थापन विभागका महानिर्देशक मधुकरराज राजभण्डारीले भने, ‘हामीले यो कुरा विभिन्न फोरममा उठायौं, भारतीय चासो देखिएको छैन ।’

साउन १३ गते तिलाठी तनावले दुवै देशको संयुक्त प्राविधिक टोली गठन गर्ने रचनात्मक निचोड भने दियो । दुई देशका स्थानीय प्रशासनिक अधिकारीको बैठकले नेपालतर्फबाट जलउत्पन्न प्रकोप व्यवस्थापन विभागका प्राविधिक र बिहार सरकार जल संसाधन विभाग प्राविधिकहरू सम्मिलित एउटा संयुक्त प्राविधिक टोली गठन गर्ने र टोलीले सक्दो चाँडो उक्त क्षेत्रमा तत्काल गर्न सकिने निकासका उपायबारे प्रतिवेदन पेस गर्नुपर्ने सहमति भएको थियो । यस्तै दसगजा सीमा स्तम्भलगायत विषयमा दुई देशको केन्द्रीय स्तरमा छलफल गरी निकास निकाल्ने सहमति पनि भएको थियो । तर सप्तरीका तत्कालीन प्रमुख जिल्ला अधिकारी बलदेव गौतमको सरुवासँगै त्यो सहमति पनि सेलाएको तिलाठीका स्थानीय निरज मुक्तिले बताए ।

‘भारतीय पक्ष दसगजामा खाँडो समस्या समाधान गर्न आनाकानी गरिरहेका छन्,’ जलउत्पन्न प्रकोप व्यवस्थापन विभागका महानिर्देशक राजभण्डारीले भने, ‘समस्या समाधानका लागि आवश्यक प्राविधिक खाकासहितको डीपीआर हामीले दिइसकेका छौं तर भारतीय पक्ष किन हो, कुनै जवाफ दिँदैन ।’ पटक–पटक विभिन्न बैठकमा भारतीय पक्षलाई उक्त समस्याबारे अवगत गराउँदा पनि कुनै चासो नदिने गरेको महानिर्देशक राजभण्डारीले गुनासो गरे । ‘यो यहाँबाट गरेर हुने नै होइन, दसगजा क्षेत्रमा देखिएको खाँडो खोलाको समस्या समाधानका लागि उच्च राजनीतिक स्तरमै सहमति भई समाधान खोज्नु आवश्यक छ,’ साविकको तिलाठी गाविसका पूर्वअध्यक्ष दिनेश्वर मिश्रले भने । source: ekantipur