शीतयुद्वको अन्त्यपछि, पश्चिमी संसारमा कम्युनिज्मको कुनै गुन्जायस नै रहेन । कम्युनिष्ट लक्षित पश्चिमी विदेश नीति बिसाईए । तर, अहिले आतंकवादले त्यसको स्थान लिएको छ, जुन सबैभन्दा ठुलो समस्या बनेको छ । पश्चिमी देशहरुमा हुने सबैखाले आतंककारी घटनामा मुश्लिम अतिवादीहरु हात देखिएको छ । स्पष्ट रुपमा भन्दा, मुश्लिम अतिवाद र पश्चिमी संसार आमने सामने भएका छन् ।
लण्डनको पछिल्लो घटना उदारहण हो । सात जनाको मृत्यु भएको छ भने पाँच दर्जन घाईते भएका छन् । बेलायतमा तीन महिनामा यो तेस्रो आतंकवादी घटना हो । युरोप र अमेरिकाले श्रृखलाबद्व मुश्लिम आतंककारी हमलाको सामना गरिरहेको छ । सेप्टेम्बर ११ को आक्रमण, सन २००४ को म्याड्रिड बम बिफोष्ट, २००५ को लण्डनको रेल्वे सेवा माथिको आक्रमण लगायत दर्जनौं घटनामा सयौं निर्दोषको ज्यान गएको थियो । पछिल्लो समय, युरोपमा सबैभन्दा धेरै ५० लाख बढी मुश्लिम आप्रबासी रहेको फ्रान्सले यसको चर्को सामना गर्दैछ भने सिरियाको गृहयुद्व र त्यसबाट सिर्जित शरणार्थी समस्याबाट युरोपले ठुलो मुल्य चुकाईरहेको छ । बिशेषत बेल्जियम र जर्मनी यसबाट प्रभावित छन् । यसले अतिवाद माथि नभएर समग्र पश्चिमी संसार र मुश्लिम विश्वबीच नै एकखाले कटुता जन्माएको छ ।
धेरै हदसम्म अमेरिका र बेलायतमा देखिएको पछिल्लो ‘पपुलिष्ट मुभमेन्ट’ मा धार्मिक अतिवाद निर्देशित आतंकले प्रभाव पारेको देखिन्छ ।
किन यस्तो भईरहेको छ ?
आतंकवाद कुनै नौलो बिषय होईन् । तर, धार्मिक अतिवादले निर्देशित गरेको आतंकवादको स्वरुप भयानक देखिदैंछ । जब धर्मले अतिवादको रुप ग्रहण गर्यो, तब आतंकवादको अन्तर्राष्ट्रियकरण भयो भन्दा फरक पर्दैन । किनकी धर्म र त्यसको अतिवादका पक्षधरहरु, कुनै निश्चित भुगोलमा सिमित रहने पक्ष रहेन । लडाकु दस्ता मात्र नभएर, सामान्य सर्मथकहरु पनि यस्ता खाले घटना गर्न उद्यत छन् । बिशेषत, खुला समाज मानिने पश्चिमी संसार त्यसको निशानामा परिरहेको छ ।
प्यालेस्टाईन र इजरायलको कटुताको पृष्ठभुमि बिना मुश्लिम अतिवादी एवम आतंकबादको चर्चा व्यर्थ छ । दोस्रो विश्वयुद्वको अघि र त्यसको केहि समयपछिसम्म, राष्ट्रबादी धार एवम् अल्पसंख्यक र पृथकताबादी धारले आतंकबादलाई निम्त्याएको उदारहणहरु छन् । तर, इतिहासले सन १९६८ जुलाई २२ को घटनाले आतंकवादलाई अन्तर्राष्ट्रिय रुप दिएको दाबी गर्छ । प्यालेस्टाईनको स्वतन्त्रता संग आबद्व तीन जना लडाकुहरुले रोमबाट तेल एभिभका लागि उडेको यात्रुबाहक इजरायली राष्ट्रिय ध्वजाबाहक बिमान अपहरण गरे । जुन राजनीतिक प्रयोजनका लागि विदेशभुमिमा पुगेर गरिएको पहिलो घटना थियो ।
त्यसपछि श्रृखलाबद्व आतंककारी घटना भए । त्यसमा सन् १९७२ को म्युनिख ओलम्पिकमा प्लाईस्टाईनी लडाकुद्वारा एघार इजरायली खेलाडीको हत्या प्रमुख थियो । सन् १९८० को शुरुताका विश्वमा चालिस जति आतंकवादी संगठनहरु सक्रिय थिए । तर, प्यालेस्टाईन लिर्बेसन अर्गनाईजेशन (पीएलओ) पहिलो अन्तराष्ट्रिय संगठन थियो, जसको प्रमुख उद्देश्य, अर्थ संकलन मात्र नभएर, इजरायल विरुद्व सैन्यशक्ति तयार गर्दै आक्रमणको रफ्तारलाई तेज पार्नु थियो ।
इजरायल र प्यालेस्टाईनबीचको तिक्ततामा, पश्चिमी शक्ति राष्ट्रहरुको विदेभपूर्ण निती, यसको प्रमुख जिम्मेवार भन्दा अतियुक्ति नहोला । त्यसपछि सन १९७९ को इरानी क्रान्तिले पश्चिमी र मुश्लिम संसारबीचको तिक्ततालाई झनै क्रुरता प्रदान गर्यो । पश्चिमाहरु ठान्छन्, सन १९७९ मा क्रान्तिबाट इरान ईस्लामिक गणतन्त्रमा परिणत भएपछि धार्मिक अतिवाद, आतंकवादको सामिप्यमा पुग्यो । अफगानी भूमि माथि, सोभियत संघ र अमेरिका कटुता एवम् इरान र इराक युद्वले आगोमा घिउ थप्यो । धेरै ईस्लामिक अतिवादीहरु ठान्छन्, प्यालेस्टाईन माथिको इजरायली एवम् पश्चिमेली थिचोमिचोले धर्म अतिवादले निर्देशित आतंकवाद, बिफोष्टक बन्यो ।
सेप्टेम्बर ११, २००१ को आतंकवादी घटनाले धार्मिक अतिवादलाई भयानकरुप दियो । सन २००१ को अक्टोबरको पहिलो साता, जब अमेरिकाले अफगानिस्तान माथि आक्रमण गर्यो । त्यसको केहि घण्टामै एउटा भिडियो रेकर्ड सार्वजनिक भयो । अग्लो, पातलो र दाह्रीवाला अलकायदा नेता ओसामा बिन लादेनले अमेरिका विरुद्व युद्वको घोषणा गरे । उनले भनेका थिए, ‘अल्लाहले अमेरिका माथि प्रहार गरेका छन् । ठुला भवनलाई ध्वस्त पारेका छन । अल्लाहको प्रशंसा गर्नैपर्छ ।’
अमेरिकी नेतृत्वमा अफगानिस्तान र इराक युद्व शुरु भएपछि, पश्चिम र मुश्लिम संसारबीचको तिक्तताले चरम रुप लियो । युद्वमा हजारौं निर्दोष मारिएपछि, मुश्लिम संसार झनै क्रुद्व बन्यो । लादेन र उनका सहयोगी अल जवारीले अमेरिकालाई ईस्लाम धर्म विरुद्वको सबैभन्दा दुश्मनको संज्ञा दिए । उसैले मध्यपुर्वका हैकमवादी ईस्लामिक शासकहरुलाई सघाईरहेको आरोप लगाउथे । सन १९९८ को मेमा विन लादेनले अमेरिकी एबीसी न्युजसंगको अन्तर्वार्तामा भनेका थिए, ‘सबैभन्दा खराब चोर र आतंकबादी नै अमेरिकीहरु हुन भन्ने हाम्रो विश्वास छ ।’
सन् २०११ मा बिन लादेन मारिएपछि, धेरैको विश्वाश थियो, आतंकवाद निर्मुल हुनेछ । तर, नयाँ ढंगले आईएसआईएस अगाडी बढेपछि, यसको सबैभन्दा बढता चिन्ता र चासो, पश्चिमी संसारलाई छ । लादेन नेतृत्वको अलकायदाले लडाकु दस्ता मार्फत आतंक फैलाउने गरेको पृष्ठभुमिमा आईएसआईएसले भने सामान्य सर्मथकलाई उक्साउँदै आतंकवादी घटना गर्दै आएको छ । यसले पश्चिमी संसार र मुश्लिम अतिवादबीचको सर्घष अझै चर्किने तर्फ संकेत गर्दछ ।
