जेष्ठ २५, २०७४- बेलैमा जहाज नउडाउने, बहानाबाजी गर्ने, अन्य पाइलटलाई धम्क्याउने अभियोगमा ६ महिनादेखि ग्राउन्डेड (निलम्बन) गरिएका नेपाल वायु सेवा निगमका दुई वरिष्ठ पाइलटमध्ये क्याप्टेन निपेन्द्र भट्टराईलाई बर्खास्त गरिएको छ ।
कारबाहीस्वरूप सोमबारदेखि बर्खास्त हुने क्याप्टेन भट्टराई चीनबाट ल्याइएको वाई १२ ई विमान उडाउने क्याप्टेन हुन् । ‘क्याप्टेन भट्टराईलाई भविष्यमा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको छ,’ निगमको सञ्चालक समितिका अध्यक्ष तथा पर्यटन सचिव शंकरप्रसाद अधिकारीले कान्तिपुरलाई भने ।
उनीसँगै उही आरोपमा मंसिरदेखि निलम्बनमा परेका अर्का क्याप्टेन सञ्जय बादे श्रेष्ठको निलम्बन भने यथावत् छ । ‘निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले क्याप्टेन निपेन्द्र भट्टराईलाई कारबाही गर्नुपर्ने भनी ल्याएको प्रस्ताव सञ्चालक बैठकले पारित गरेको छ,’ बोर्डमा प्रतिनिधित्व गर्ने आठमध्ये एक सहसचिवले भने ।
‘क्याप्टेन श्रेष्ठलाई भने प्रशिक्षक पाइलटसँग पीपीसी (पाइलट प्रोफिसेन्सी चेक) गराई नियमित उडानमा फर्काइनेछ,’ निगमका महाप्रबन्धक कंसाकारले भने । निगम व्यवस्थापनले दुबैलाई कारबाहीस्वरूप पहिला मौखिक अनि लिखित स्पष्टीकरण पनि सोधेको थियो । क्याप्टेन भट्टराईले निगमले गरेको कारबाहीबारे आफूलाई लिखित जानकारी आइनसकेको प्रतिक्रिया दिए । ‘मैले कुनै जानकारी पाएको छैन, पत्र पाएपछि खबर गरूँला,’ उनले भने ।
बर्खास्त गरिएका भट्टराई दुर्गम भेगका लागि उडान गर्ने क्याप्टेनका रूपमा खुला प्रतिस्पर्धाबाट ०७१ भदौमा निगम छिरेका थिए । दुवै पाइलटको मासिक तलब डेढ लाख हाराहारी हुन्छ । निगम आउनुअघि क्याप्टेन भट्टराई निजी एयरलाइन्स गोमामा लगानीकर्ताका रूपमा आबद्ध थिए ।
‘भट्टराईलाई बर्खास्त नगरेर कुनै अन्य सजाय दिन सकिन्थ्यो, निगमले मात्रै उनीमाथि विदेशी तालिमलगायतमा डेढ करोड लागनी गरेको छ,’ निगमको अपरेसन विभागको संयोजनकारी भूमिकामा रहेका क्याप्टेन सुवास रिजालले भने, ‘निगमलाई अप्ठ्यारो परेका बेला र जनशक्ति पलायन भइरहेका बेला वरिष्ठ पाइलटलाई बर्खास्त गर्ने निर्णयले सकारात्मक सन्देश जाँदैन ।’ निगम सञ्चालक समितिले यसरी पाइलटलाई बर्खास्त गरेको सम्भवत: यो पहिलो घटना हो ।
हाल निगमसँग दुर्गम उडानका लागि दुइटा टुइनअटर र दुइटा चिनियाँ वाई १२ ई विमान छन् । क्याप्टेन भट्टराई र श्रेष्ठलाई निलम्बन गरेपछि वाई १२ ई उडाउने उद्धव घिमिरे एक्ला क्याप्टेन थिए । अपरेसन विभागका अनुसार यो विमानका लागि थप क्याप्टेन र कोपाइलट बनाउन केही साताअघि निगमले न्युजिल्याण्डबाट प्रशिक्षक पाइलटका रूपमा पेनी मायतालाई मासिक १८ लाख रुपैयाँ पारिश्रमिक दिने सर्तमा करार नियुक्त गरेको छ । उनको निगरानीमा अब क्याप्टेन र कोपाइलट तयार गरिनेछ ।
क्याप्टेन बादे श्रेष्ठलाई पनि विदेशी प्रशिक्षक पाइलट पेनीले पीपीसी (पाइलट प्रोफिसेन्सी चेक) तालिम दिने छन । त्यसैगरी निगमले यही विमानका लागी भर्ना गरेका चार जना ट्रेनी कोपाइलट र चार महिनादेखी गयल रहेका अर्का क्याप्टेन अनिशमान शाक्यलाई पनि पेनीले पीपीसी तालिम दिने छन् ।
हाल क्याप्टेन घिमिरेका साथ कोपाइलट प्रचण्ड खडका र राकेश काफ्ले मात्रै उडानमा थिए । एक्ला क्याप्टेन घिमिरेको कमान्डमा यी जहाजले काठमाडौं–पोखरा–काठमाडौं र काठमाडौं–भैरहवा–काठमाडौं, काठमाडौं-सिमरा-काठमाडौं सातामा ६ दिन नियमित उडान गर्दै आइरहेका छन् ।
त्यसैगरी ग्रिनकार्ड भएका कारण निगम छाडेर अमेरिका भासिएका यही विमानका प्रशिक्षक पाइलट आङ नुरी शेर्पालाई पनि निगमले पुन: विदेशी पाइलटका रूपमा नियुक्ति दिने तयारी गरेको छ । भट्टराई र श्रेष्ठ तथा प्रशिक्षक पाइलट शेर्पाबीच यसअघि मनमुटाव थियो । निगमले १९ सिट क्षमताको चिनियाँ विमान दुर्गम तथा उच्च हिमाली भेगका नागरिकलाई सेवा दिने उद्देश्यले ल्याएको हो ।
नियमित उडानअघि यीनले लुक्ला, मनाङ, जोमसोम, हुम्लामा टेस्ट फलाइट गर्न बाँकी छ । उच्च भेगमा टेस्ट फलाइट गर्न प्रशिक्षक पाइलट चाहिने भएकाले पेनी र शेर्पालाई नियुक्त गरिएको हो ।
Thursday, June 8, 2017
निगमले वरिष्ठ पाइलटलाई बर्खास्त गर्यो
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News