काठमाडौं, जेठ २८
छिमेकी देश साउदी अरब, यूएई र बहराइनबाट कतार नाकाबन्दीमा परेपछि भक्तपुरकी करुणा राउतलाई निद्रा परेको छैन । उनका श्रीमान् कतारमा काम गर्न थालेको ७ वर्ष भइसक्यो । भर्खरै घर बनाएर ऋणको भारी बोकेर परदेश हिँडेका श्रीमानको कर्मथलोको सन्देश सुखद छैन । यो खबरले उनको मनमा एकै खालको प्रश्न बारम्बार आइरहन्छ, ‘यो नाकाबन्दी कति लामो समयसम्म जाला ? खानेकुरा कसरी आउला रु काम नपाएर त्यत्तिकै फर्किनुपर्ने हो कि ?’
विराटनगर घर भएका कतारमा कार्यरत होम बाँस्कोटाले नेपालबाट आउने दैनिक ४० वटा फोन उठाइरहेका छन् । उनका परिवार, आफन्त र साथीभाइले सोधिरहेका हुन्छन्, ‘हवाईजहाज पनि बन्द छ रे, समुद्र पनि बन्द छ । अब त्यहाँ के हुन्छ रु’ गएको सोमबार ९जून ५० देखि कतारको अवस्थालाई लिएर त्यहाँभन्दा बढी नेपालमा चासो र चिन्ता एकसाथ बढिरहेको छ । ‘हामीले यहाँको अवस्था बुझिरहेका छौं । दैनिकी सामान्य छ । तर, नेपालका आफन्त साथीभाइ डराइडराई फोन गर्दा लाग्छ उता अनावश्यक चिन्ताले सताएको छ,’ उनले भने, ‘नेपालमा परेको मानसिक असरलाई कसरी चिर्ने होला रु कसरी सम्झाउने होला ?’
कतारमाथि भरोसा
अरब समन्वय समिति (जीसीसी) का सदस्य राष्ट्र साउदी, बहराइन र यूएईसँग कूटनीतिक सम्बन्ध विच्छेदपछि एक मात्रै जमिन जोडिएको साउदीको सीमा बन्द छ । आन्तरिक हवाई सम्पर्क पनि बिच्छेद छ । ताजा हरियो सब्जीदेखि दूधसम्मको मुख्य स्रोत साउदी अरब नै हो । कतारलाई पहिलो चुनौती बजारमा तरकारी र खाद्यान्य अभाव हुन नदिनु हो । उसले कुन सामान कहिले सकिन्छ भनेर सामान आपूर्तिमा ध्यान दिएको देखिन्छ । ‘नाकाबन्दी हुनेबित्तिकै बजारमा दूध सकिन्थ्यो । कतारले रातारात टर्कीबाट दूध–दही ल्याएर बजारमा अभाव सिर्जना हुन दिएन,’ १२ वर्षदेखि कतारमा रहेका झापाका माहमुद कार्कीले भने, ‘साउदीको दूधको बजार टर्कीले लिइसकेको छ ।’
चामल, पिठो, मासु, माछालगायत उपभोग्य वस्तु पाकिस्तान, भारत र बंगलादेशबाट नियमित रूपमा आपूर्ति भइरहेको छ । कतारसँग नजिक रहेको इरानले पनि कतारलाई चाहिने ताजा तरकारी पठाउने प्रस्ताव राखेको छ । इरानको बन्दरगाहाबाट १२ घण्टामा कतारमा सामान पठाउन सकिन्छ । कतारले इरानले प्रस्तावलाई स्वीकार गरिसकेको छैन । ‘कतारप्रति हामी ढुक्क छौं । संकटै आउने अवस्था भए पनि कतारसँग एक सयभन्दा बढी हवाईजहाज छ । विश्वको जुन देशबाट पनि सामान ल्याउने सामथ्र्य राख्छ,’ उनले भने, ‘खाद्यान्य अभाव होला भन्ने मलाई लाग्दै लाग्दैन ।’
कतारको राष्ट्रिय कल्याणकारी कोषमा ३ खर्ब ३५ अर्ब डलर छुटयाइएको छ । कतारको परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रमा समस्या देखिएमा कतारमा बस्ने सबैको हितका लागि यो कोष प्रयोगमा ल्याउने हो । हाइपरमार्केट र सुपरमार्केटमा मूल्य यथावत् छ । वकला (पसल) हरूले मूल्य ३० देखि ४० प्रतिशतसम्म बढाएर सामान बेच्न थालेका छन् । ‘३५ केजी चामल १ सय ५ रियालमा पाइन्थ्यो । अहिले १ सय ३५ रियालमा बेच्न थालेको छ,’ हरि घिमिरेले भने, ‘वकलामा भर पर्नेहरू मारमा परेका छन् ।’ अर्थ तथा व्यापार मन्त्रालयले अनुगमनमा कडाइ थालेको छ । ‘सरकारले तोकेको भन्दा बढी मूल्यमा सामान बेच्न पाइन्न,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बलियो अर्थतन्त्रमा टिकेको रोजगार
साउदीले स्थलमार्ग र यूएईले आफ्नो बन्दरगाहबाट वञ्चित गरे पनि कतारसँग अन्तर्राष्ट्रियस्तरमा सम्पर्क राख्ने विकल्पहरू खुला छन् । ‘साउदीको एक मात्रै स्थल सीमा बन्द हुँदा असर त पर्छ,’ कतारका परराष्ट्रमन्त्री सेख मोहम्मद विन अब्दुलरहमानले भनेका छन्, ‘अन्तर्राष्ट्रिय हवाई उडान र समुद्री मार्ग कायमै छ । हामी त्यो प्रयोग गरिरहेका छौं ।’
यूएई र साउदीको हवाई क्षेत्र बन्द हुँदा उसले इरान र पर्सियन सागरको घुमाउरो बाटो प्रयोग गरेको छ । यूएई र साउदीसँग कतारको व्यापार १० प्रतिशत मात्रै छ । अरब क्षेत्रको सबैभन्दा ठूलो बन्दरगाह आबुधाबी (यूएई) मा छ । यही बन्दरगाहबाट निर्माण सामग्री आउने गर्छन् । कतारले आफ्नै ठूलो हमाद बन्दरगाहसमेत वनाएको हुँदा असर नगर्ने दाबी छ । कतारको आम्दानीको मुख्य स्रोत प्राकृतिक ग्यास हो । यो ग्यास उत्पादनमा कतार विश्वको तेस्रो ठूलो मुलुक हो । ‘जुन गतिमा ग्यास झिकिरहेको छ । यही गतिमा अगाडि बढदा पनि दुई सय वर्षलाई पुग्छ,’ कतारका लागि पूर्वराजदूत सूर्यनाथ मिश्रले भने, ‘कतारमा अन्तर्राष्ट्रियस्तरका बहुपक्षीय कम्पनीहरूको लगानी छ । यो मुलुकको अर्थतन्त्र सामान्य हिसाबले डग्मगाउँदैन ।’
कतारले विश्वकपसँगै ठूला राजमार्ग, रेल र ठूला स्तरका आयोजनाहरू निर्माणाधीन छ । यो वर्ष कतारले १३ अर्ब डलर भौतिक पूर्वाधारमा खर्च गर्ने प्रक्षेपण छ । तेलको मूल्यमा आएको गिरावटका बाबजुद पनि उसको विकासमा कमी आएको छैन । नाकाबन्दीले निर्माणाधीन आयोजनामा कस्तो प्रभाव पर्ला भन्ने चिन्ता छ । ‘अहिले त रमजानको महिना हो । प्रोजेक्टका कामहरू कमै चालु छन् । निर्माण सामग्री पनि धेरै चाहिएन । यो नाकाबन्दी लामो समयसम्म जान्छ जस्तो लाग्दैन । यदि गयो भने निर्माण सामग्री आपूर्ति गर्ने रणनीति कतारसँग योजना होला । यी सामग्री अभाव हुन नदिएमा हाम्रो रोजगारीमा असर पर्दैन,’ एक कम्पनीमा व्यवस्थापक रहेका दाङका कमलमणि गुरागाईले भने ।
कतारका साना पुँजी भएका कम्पनीले यूएईमा रहेका कम्पनीमार्फत सामग्री आपूर्ति गर्छ । ‘अब ती कम्पनीले सीधै सामान आपूर्ति गर्न सक्नुपर्छ । त्यसका लागि कतारको आफ्नै बन्दरगाह छ,’ उनले भने, ‘कतारले यो बन्दरगाहबाट सीधै सामान ल्याउन सकिन्छ भनिरहेको छ ।’ समान अभाव भएमा सबैभन्दा पहिला लेबर सप्लाई गर्ने कम्पनी मारमा पर्छन् । ‘मुख्य कम्पनीले आफ्ना मात्रै कामदार राखेर सप्लाइ कम्पनीबाट कामदार लिन छोड्न सक्छ,’ एक कम्पनीका सञ्चालकले भने, ‘अहिले यस्ता कम्पनीहरू हिक्कहिक्कको अवस्थामा चलेका छन् । त्यतिखेर कामदार कटौती हुने अवस्था आएमा कामदारले तलब नपाउने अवस्था बढ्न थाल्ला ।’
ती व्यवसायीका अनुसार कामदार कटौती हुने अवस्था एकैपटक आउँदैन । नाकाबन्दी जारी भएमा कतार मात्रै होइन, साउदी र यूएईमा कार्यरत नेपालीको रोजगार पनि प्रभावित हुन जान्छ । निर्माण कम्पनी सञ्चालन गर्दै आएका एक नेपाली व्यवसायी भन्छन्, ‘ठूला आयोजनालाई चाहिने सामान त जसरी पनि आउँछ । व्यक्तिगत भिल्लाहरूमा भने सबैभन्दा बढी प्रभाव पर्छ जस्तो लाग्छ ।’ यूएईमा बेस भएर सामान आपूर्ति गर्ने कम्पनीहरू नयाँ रुटमा सामान ल्याउनुपर्ने भएकोले केही समय व्यवस्थापनमा बित्ने जानकारहरूको भनाइ छ ।
पर्ख र हेरको रणनीति
पूर्वराजदूत मिश्र बदलिँदो घटनाक्रम हेरेर नयाँ कामदारलाई श्रमस्वीकृति दिने कार्य स्थगित गर्नुपर्ने बताउँछन् । कतारमा ४ लाख ६ हजार नेपाली कार्यरत छन् । खाडीमा आएको कूटनीतिक संकटपछि श्रम बजार कस्तो हुन्छ भन्ने यकिन गर्न सकिएको छैन । ‘एकपटक जारी भएको भिसा ६ महिनासम्म म्याद हुन्छ । अवस्था थप बिग्रिन्छ जस्तो त लाग्दैन । तैपनि सरकारले केही समयसम्म हेर र पर्खको रणनीति अपनाउँदा उयपुक्त हुन्छ जस्तो लाग्छ,’ उनले भने ।
कूटनीतिक संकट तुरुन्तै हट्ने अवस्था देखिइहालेको छैन । कतारले आफ्नो परराष्ट्र नीति सच्चाए आफूहरू सम्बन्ध स्थापना गर्न तयार रहेको यूएईको सर्त छ । ‘कसैको दबाबमा हाम्रो स्वतन्त्र परराष्ट्र नीति परिवर्तन गर्दैनौं,’ कतार परराष्ट्रमन्त्री अब्दुलरहमानले भने । यसलाई हटाउन कुवेतले मध्यस्तता गरेको छ । नेपाली कामदार कतारको बलियो संयन्त्र पनि अझै आशा गरेर बसेका छन् । ‘कतार सानो देश त हो । तर, बलियो र व्यवस्थित संरचना छ,’ कार्कीले भने, ‘आफूलाई बलियो स्थापित गर्न पनि उसले आफूलाई चाहिने सामग्री आपूर्ति गर्छ ।’
