८ हजार ६ सय मिटरको बालकोनीदेखि ७ हजार ९ सय मिटरको साउथकोलसम्म रेस्क्यु गरेर दावालाई झार्दे शेर्पा खाङग्री आउटडोर कम्पनीका आरोही शेर्पा गाइड आङछिरिङ लामा, निमाग्याजेन र जाङबु शेर्पा।
‘म १२ घन्टा मरेछु’
काठमाडौं : सगरमाथा शिखरभन्दा दुई सय मिटर मात्र तल बालकोनीमा पाकिस्तानी आरोही अब्दुल जाभार भाटी अस्वस्थ भएपछि आरोही गाइड दावा साङ्गे शेर्पालाई बडो अप्ठ्यारो परिस्थिति आइलाग्यो।
आफूले प्रयोग गरेको अक्सिजन सिलिन्डर उनलाई प्रयोग गर्न दिए पनि भाटी हिँड्नै सकेनन्। ‘उनी हिँड्न सकेनन्, मैले बोक्न पनि सकिनँ,’ शेर्पाले सम्झिए। त्यसपछि उनीहरू दुवै जनाले ८ हजार ६ सय मिटरको बालकोनीनजिकै रात बिताउनुप¥यो। ‘म सहजै झर्न सक्थें तर ६० वर्षीय आरोही अब्दुललाई छाडेर झर्न चाहन्नथेँ,’ उनले भने, ‘पछि उनी अचेत नै भए– मरेतुल्य।’त्यसपछि एजेन्सीको सम्पर्क छुटेका उनीहरूलाई यसै पनि मरेको ठानियो।
अब्दुल हिँड्न नसकेपछि साउथकोलदेखि २२ घन्टा लगाएर भए पनि चुचुरो पुग्न सफल भए उनीहरू। जेठ ७ गते दिउँसो ३ बजे सगरमाथा चुचुरोमा पाइला टेकेका उनीहरू झर्ने क्रममा अब्दुल अस्वस्थ भएपछि ८ हजार ६ सय मिटर बालकोनी पुग्दा साँझको ८ बज्यो।
‘जसोतसो टर्चलाइट बालेर झर्दा भाटी हिँड्नै सकेनन्, म पर्खेर बसिरहेँ, त्यसै समयमा मेरो हात हिउँले पूरै खाइदियो। त्यसपछि रात छिप्पिँदै गएपछि म पनि चिसोले अचेत बनेछु त्यसपछि मैले केही थाहा पाइनँ,’ उनी आफ्नो ‘मृत्यु’ भएको त्यो क्षण सम्झन्छन्।
जाँदै मौसम बिग्रँदै गएको थियो। दाबाले पटकपटक फर्कन अनुरोध गरे पनि तर अब्दुलले आरोहण नगरी नफर्किने जिद्दी गरे तर हिँड्नै सकेनन्। ‘त्यही हाम्रो कमजोरी थियो,’ दावाले भने। आफूले प्रयोग गर्न लगेको दुई सिलिन्डर अक्सिजनसमेत अब्दुललाई नै प्रयोग गर्न दिएपछि उनी त बाँचे तर दाबा आफैं भने चिसो सहन नसकी अचेत भए।
हिउँले खाएको दावाको दुईवटा हात।
‘चुचुरोमा पाइला टेकेको खुसी त थियो नै तर मौसम खराब भएर हावाहुरी चल्न थालिसकेको थियो, हामीले प्राविधिक कमजोरी गरेकै थियौँ तर उसको कमजोरीले म पनि झन्डै मरेँ, सम्झिँदा आँसु आउँछ,’ दावाले अनुहार मलीन पार्दै भने।
१२ घन्टापछि बिहान ८ बजेतिर शेर्पा खाङग्री आउटडोर कम्पनीका आरोही गाइड आङछिरिङ लामा, निमाग्याजेन र जाङबु शेर्पाले बालकोनीदेखि ७ हजार ९ सय मिटरको साउथकोलसम्म उनीहरूको रेस्क्यु गरे। ‘पछि थाहा भयो, म १२ घन्टा मरेको रहेछु,’ दावाले भने।
सेभेन समिट ट्रेकिङका आरोही गाइडले साउथकोलदेखि क्याम्प दुईसम्म दावा र अब्दुलको रेस्क्यू गरेपछि हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर उनीहरूको उद्धार गरिएको थियो। ‘जीवन बाँचे पनि दुवै हातका औँला हिउँले खाइदियो, अबको दिन कसरी बिताउने ? ’ उनी चिन्तित देखिए। आफूले प्रयोग गरेको अक्सिजनसमेत दिएर बचाएको पाकिस्तानीले फर्केर गएपछि कुनै सम्पर्क नगर्दा उनलाई नमीठो लागेको छ।
कलिलै उमेरमा दुवै हातका औंला गुमाएपछि उनका बुबा पेम्वारिन्जी चिन्तित बनेका छन्। तीन वर्षअघि आमाको मृत्यु भएपछि बुबा गाउँमा २ जना भाइ र ३ जना बहिनीको गुजारा चलाउन खेतीकिसानी गर्दै आएका छन्।
कक्षा ८ सम्म अध्ययन गरेका दावाले कलिलै उमेरमा पर्वतारोहण क्षेत्रमा काम गर्न थालेका थिए। पर्वतारोहण क्षेत्रमा काम गर्ने फुपाजुसँग काठमाडौंमा बस्दै आएका दावाले चार वर्षअघि पर्वतीय क्षेत्रमा काम थालेका हुन्।
घमण्डी विदेशी आरोहीका कारण उनको जीवन वर्वाद भएको दावाका फुपाजु कामी शेर्पाको गुनासो छ। सानैमा अभिभावक गुमाएका दावालाई सम्बन्धित एजेन्सी र राज्यले सहयोग गर्नुपर्ने माग बुबा पेम्वारिन्जीले राखेका छन्। दावाले चार लाख रुपैयाँको उपचार बिमाबाहेक केही पाउँदैनन्। नर्भिक अस्पतालमा साधारण वार्डमा राखेर उनको उपचार गरिएको थियो। उनको थप उपचार सिभिल अस्पतालमा भइरहेको छ।
दुवै हातका औंलाले काम नदिएपछि कुहिना र खुट्टाले मोबाइल कम्प्युटर चलाउँदै।
Source : annapurnapost.com



