ताप्लेजुङ, जेठ २६ – कञ्चनजंघाको फेदीमा रहेको हिमाली पर्यटकीय गाउँ ओलाङचुङगोलाका बासिन्दहरुलाई तिब्बतको रिउँमा गएर खाद्यान्न जोहो गर्नु पर्ने बाध्यता रहेको छ । पर्यटकीय गाउँ ओलाङचुङगोलाका बासिन्दाहरु चार सय वर्ष पहिलेदेखि बसोबास गर्दै आएका छन् । तर, उनीहरु नेपाली भूमिमा बसेपनि तिब्बतीयन भूमिमा गएर अफ्नो जीविका चलाउनलाई दैनिक उपभोग्य बस्तु ल्याउन बाध्य भएको बताउँछन् ।
जिल्ला सदरमुकाम आउदाँ ३ दिनको पौदल हिड्नु पर्ने र तिब्बतको रिउ पुग्न एक दिन मात्र लाग्ने भएका कारण यस गाउँका बासिन्दाहरु त्यस क्षेत्रमा गएर आफ्नो दैनिक उपभोग्य बस्तुको जोहो गर्ने गरेको गोलाका एक बासिन्दा छेतेन शेपाले बताउनुभयो ।
नेपाली भएर आफ्नो जिल्ला सदरमुकामदेखि भन्दा अर्काको देशबाट सधै दैनिक उपभोग्य बस्तु ल्याउनु पर्दा आफूलाई पीडा भएको गोलाबासीको भनाइ छ ।
वर्षमा ६ महिना हिउँ पर्ने भएकाले तिब्बततर्फबाट ६ महिनाको लागि सामाग्री ल्याउनु पर्ने बाध्यता छ । ओलाङचुङगोलाका बासिन्दाले तिब्बतबाट सामाग्री ल्याउँदा प्रतिकिलो नुन ७० रुपैयाँ पर्छ भने जिल्ला सदरमुकामबाट ल्याउँदा १ सय ४० रुपैयाँ पर्ने गरेको छ ।
त्यस्तै चामल तिब्बतको रिउबाट ल्याउँदा प्रति किलो एकसय रुपैयाँ पर्छ, जिल्ला सदरमुकामबाट ल्याउँदा दुईसय रुपैयाँ पर्ने गर्छ । यसरी हरेक सामाग्रीको मूल्य तिब्बतबाट ल्याएको भन्दा जिल्ला सदरमुकाममा बढी पर्ने उनीहरुको गुनासो छ ।