कोलम्बो ( श्रीलंका) : श्रीलंकामा मनसुनपूर्वको भीषण वर्षापछिको बाढी र पहिरोमा परेका कारण पाँच लाख व्यक्ति विस्थापित भएका छन् र अझै कतिपय जोखिमयुक्त अवस्थामा छन् ।सेनाको मातहतमा सञ्चालित उद्धारकार्यका क्रममा शनिबार करिब पाँच लाखभन्दा बढी जनतालाई बाढी पहिरो प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ । यस दैवी प्रकोपमा परी शनिबार रातिसम्म १ सय २२ जनाको मृत्यु भइसकेको सम्बन्धित अधिकारीले जानकारी दिएका छन् । श्रीलंकाको प्रमुख सामुद्रिक द्वीपका दक्षिणी र पश्चिमी क्षेत्रहरूका समथर मैदानी भूखण्डमा गत शुक्रबार आएको बाढी र पहिरो विगतका १४ वर्षपछिको सबैभन्दा भयंकर भएको बताइएको छ । समथर भूभाग भएका तल्ला इलाका अझै पनि जलमग्न भई पूरै डुबानमा परेको स्थानीय अधिकारीले जनाएका छन् ।
उक्त बाढी र पहिरोमा ९७ जना हराइरहेका श्रीलंकाको सरकारी प्रकोप व्यवस्थापन केन्द्र (डीएमसी)ले पनि पुष्टि गरेको छ । यस प्रकोपमा परी घाइते भएका ४९ जनालाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ । यस प्रकोपमा मारिएका १ सय २२ जनामध्ये पहिरोकै कारण अधिकांशको र डुबानमा परी केही संख्यामा मात्र मृत्यु भएको श्रीलंकाका स्वास्थ्यमन्त्री तथा सरकारका प्रवक्ता राजिथा सेनारात्नेले बताएका छन् । उनका अनुसार कतिपय सर्वसाधारणलाई सम्झाउँदा बुझाउँदा पनि आफ्नो थातथलो छोडेर जान नमानेकाले केही बल प्रयोग गरी उनीहरूको वासस्थानबाट अस्थायी शिविरमा सार्नुपरेको थियो । सरकारले हेलिकोप्टर, प्रहरी, सेना तथा स्थानीय संघसंस्थाको सहयोगमा घटनामा पीडित नागरिकको उद्धार र बेपत्ता भएकाहरूको खोजीलाई निरन्तरता दिएको छ।
संयुक्त राष्ट्र संघीय विश्व स्वास्थ संगठन, विश्व बालबालिका कोष, भारत, पाकिस्तान लगायत अन्य मुलुकले बाढी पहिरोपीडित श्रीलंकाली जनतालाई उल्लेखनीय परिमाणमा खाद्यान्न, लत्ता कपडा तथा अन्य उद्धार सामग्रीको सहयोग पठाइरहेका छन् । श्रीलंकामा लामो समयसम्म परेको खडेरीका कारण सुक्खा लागी कृषि उत्पादनमा अत्यन्त नकारात्मक प्रभाव पर्नुका साथै खोलानाला सुकी जल विद्युत्को उत्पादन र आपूर्ति अत्यन्तै न्यून भइरहेको थियो ।
श्रीलंकालाई सन् २००३ देखि बाढी पहिरोले नराम्ररी सताउन थालेको हो । त्यस वर्ष परेको भीषण वर्षाले २ सय ५० जनाको मृत्यु हुनाको साथै दश हजार घर नष्ट भएका थिए । गत वर्ष आएको भीषण मनसुनी वर्षाका कारण ठाउँठाउँमा भएका बाढी र पहिरोका घटनामा १ सयभन्दा बढीको मृत्यु भएको थियो । रासस\एएफपी
Sunday, May 28, 2017
श्रीलंकामा बाढी पहिरो, सयभन्दा बढीको मृत्यु ५ लाख विस्थापित
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News
