बेलाबेलामा बजारमा नक्कली नोटको बिगबिगी हुने गरेको छ। अहिले पोखरामा नक्कली तथा जाली नोटहरू विभिन्न माध्यमबाट बैङ्कहरूमा आएको छ। गत शुक्रवाररसम्ममात्र नेपाल राष्ट्र बैङ्क, पोखरा शाखामा ९१ ओटा नक्कली नोट सङ्कलन भइसकेका छन्। त्यसमा रू. ५ सय र १ हजारका नोट छन्।
आर्थिक अभियान दैनिकमा ममता थापा अगाडि लेख्छिन्-नक्कली नोट कारोबार गर्नेले मौका हेरेर सर्वसाधारणसँग कारोबार गरेर झुक्याउँछन्। राष्ट्र बैङ्कको पोखरा शाखामा एकैदिन १० ओटासम्म नक्कली नोट आएको बताइएको छ। यस्तै, केही महीनाअघि जाजरकोटमा नक्कली नोट छाप्ने मेशिनसहित व्यक्ति पनि पक्राउ परेका थिए।
नेपाल राष्ट्र बैङ्कका मुद्रा व्यवस्थापन विभागका निर्देशक भीष्म उप्रेतीका अनुसार केन्द्रीय बैङ्कमा प्रायः ८—१० दिनमा एक÷दुईओटा नक्कली नोट आउने गरेको छ।
विशेष गरेर भीडभाड तथा घुइँचो भएका पसल, मेला, हाटबजार, जुवातास खेल्ने ठाउँ र जाँडरक्सी खाने ठाउँमा नक्कली नोटको प्रयोग हुने बढी सम्भावना हुन्छ। घुइँचो भएका ठाउँमा, हतारमा र अँध्यारो भएका बेला गरिने कारोबारमा नक्कली नोटको प्रयोग हुने सम्भावना बढी भएकाले सतर्क हुनुपर्ने निर्देशक उप्रेतीको सुझाव छ।
केन्द्रीय बैङ्कको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक भुवन कँडेल अपरिचित व्यक्तिसँग कारोबार नगर्ने, भीडभाडमा सतर्क रहने, ठूलो कारोबार नगर्नेलगायत सावधानी अपनाउने र रकमको कारोबार सधैं बैङ्किङ च्यानलबाट गर्नुपर्नेमा जोड दिन्छन्। ‘यसले पनि सर्वसाधारणलाई नक्कली नोटबाट बचाउँछ तर विशेष गरेर नोटको कागजबारे जानकारी राख्नुपर्छ।
नक्कली नोटको कागज चिप्लो र लुलो हुन्छ तर, सक्कलीको खस्रो र कडा हुन्छ,’ उनले भने।
सर्वसाधारणले धेरै कुरा हेर्न नसक्ने भएकाले कागज, सुरक्षण धागो र लाली गुराँसको पानी छाप रहेको बारे जानकार हुन जरुरी भएको उनको भनाइ छ।
सर्वसाधारणले नक्कली नोट र सक्कली नोटबारे थाहा पाउन सचेत हुन जरुरी भएको तर नेपाल राष्ट्र बैङ्कले यसका लागि जनचेतना गर्न कमी भएको नेपाल राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागका निर्देशक भीष्म उप्रेतीले स्वीकार गरे।
उनका अनुसार ऐनले नक्कली नोट फेला परेमा राष्ट्र बैङ्कले जफत गर्ने व्यवस्था गरेको छ। तर, कारबाहीका लागि कडा व्यवस्था छैन।
सक्कली–नक्कलीबीच फरक
सक्कली नोटको कागज कटनबाट बन्ने स्तरीय, खस्रो र कडा हुन्छ भने जाली नोटको कागज छाम्दा चिप्लो र लुलो हुन्छ।
नोटमा उज्यालो पर्नेगरी हेर्दा सक्कली नोटको सेतो गोेलाकार भाग, जहाँ केही लेखिएको हुँदैन, त्यहाँ लालीगुराँसको छाप स्पष्ट देखिन्छ भने नक्कली नोटमा देखिँदैन, देखिए पनि अस्पष्ट हुन्छ।
नोटको दायातर्फ रहेको सेतो भागको बायाँतर्फको रङ्गीन आधा अक्षर (अङ्ग्रेजीमा लेखिएको एनआरबी)लाई उज्यालोतर्फ फर्काएर हेर्दा स्पष्ट देखिन्छ भने नक्कली नोटमा ती अक्षर स्पष्ट देखिँदैन।
सक्कली र जाली नोटलाई कान नजीकै लगेर हल्लाएमा सक्कली नोटको आवाज कडा र खडखड गर्ने हुन्छ भने जाली नोटको आवाज कम हुन्छ।
जाली नोट सक्कली नोटजस्तो खासै चहकिलो देखिँदैन। सक्कली नोटको रङ स्पष्ट र सफा गाढा हुन्छ भने नक्कली नोट हल्का, अस्पष्ट र फुङ्ङ उडेकोजस्तो देखिन्छ।
नेपाल राष्ट्र बैङ्कले चलनचल्तीको नोटलाई खुम्च्याउन, दोबार्न र च्यात्न नहुने व्यवस्था गरेको छ। तर, सर्वसाधारणले शङ्का लागेको खण्डमा नक्कली नोट हो कि सक्कली भनेर पत्ता लगाउन भने नोटलाई हातले कच्याककुचुक पारेर टेबलमा छोडिदिएमा यसबाट पत्ता लगाउन सकिन्छ। यसो गरेमा सक्कली नोट हो भने विस्तारै केही फुक्छ तर नक्कली नोट छ भने कच्याक्कुचुक नै रहन्छ।
नोटमा रहने सुरक्षण धागो (सेक्युरिटी थ्रेड)बारे जानकार हुनु जरुरी छ। सक्कलीमा सुरक्षण धागोमाथि अक्षर हुन्छ। तर, नक्कलीमा धागोपछि लेपका रूपमा मात्र राखेको हुनाले यस्तो देखिँदैन। नोटलाई उज्यालोतर्फ फर्काएर हेर्दा सेक्युरिटी थ्रेडमा नेपाल राष्ट्र बैङ्कको अङ्ग्रेजीमा लेखिएको एनआरबी अक्षर स्पष्ट देखिन्छ, जाली नोटमा सो अक्षर स्पष्ट देखिँदैन।
सक्कली नोटमा रहेको स्टेप फिचर्सलाई उज्यालोमा दायाँबायाँ पार्दा छुट्टै चमक आउँछ भने जाली नोटमा यस्तो हुँदैन।
बैङ्किङ च्यानलमा नक्कली नोट पत्ता लगाउने प्रविधि छ। सक्कली र जाली नोट सामान्य हिसाबले पत्ता नलागेमा नक्कली नोट पत्ता लगाउन डिटेक्टर मेशिन प्रयोग गर्न सकिन्छ।
यसले नक्कली नोट फालिदिन्छ। यस्तै, युवि लाइट र मेग्निफाइङ ग्लास प्रविधिको प्रयोगबाट पनि नोट सक्कली वा नक्कली पत्ता लाग्छ।
Sunday, May 28, 2017
बजारमा नक्कली नोटको बिगबिगी, यसरी चिन्न सकिन्छ नक्कली नोट !
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News
