Breaking

Saturday, May 27, 2017

मलेसियामा हराएको छोरालाई घर फर्काउन सेतीमायालाई सम्धीको चार महिने अल्टिमेटम


सर्लाही, जेठ १३ –‘मैले छोरी घरलाई दिएको होईन तपाईको छोरालाई दिएको हो । ज्वाईं नआए म छोरीको घरजम अन्तै गरिदिन्छु । के गर्ने सम्धिनी ?’ सम्धीले यस्तो भनेपछि  परवानीपुर–२ आहालदमारकी सेतीमाया मोक्तानको होस हराए जस्तै भयो । सम्धिले उहाँलाई यही दशैंसम्ममा छोरालाई घर फर्काउने अल्टिमेटम पनि दिनुभयो ।
सेतीमायाका छोरा राजाकुमार २०६९ सालमा मलेसिया जानुभएको हो । छोरालाई पठाउन सेतीमाया आफैंले ऋण खोजिदिनुभयो अनि उहाँ काठमाडौंको तिनकुनेमा रहेको पुमोरी म्यानपावरबाट मलेसिया जानुभयो । दुई वर्षसम्म उहाँले दिनमा एक पटक फोन गरिरहनुभयो अनि अनि पैसा पनि पठाउनुभयो ।

फोनमा आमा र श्रीमती सुनमायासँग पालैपालो कुरा गर्नुहुन्थ्यो राजाकुमार । पैसा चाहिँ उहाँले दुई वर्षमा ५० हजार रुपैयाँ मात्रै पठाउनुभयो । २०७१ साल असारमा राजाकुमारले घरखर्चका लागि ५० हजार रुपैयाँ पठाइदिने भने राजाकुमारले आमासँग । छोराले पैसा पठाइदिने भनेपछि सेतीमाया त्यसैले फुरुङ्ग ।

भोलिपल्ट छोरालाई फोन गरेपछि भने उहाँलाई रिस उठ्यो । ‘मैले फोन गरेर आइएमई नम्बर कति हो त भनेर सोध्दा पुलिसले पैसा खोसिदियो भन्यो’ सेतीदेवीले रिस उठ्नुको कारण पनि सुनाउनुभयो ‘पैसा जति सबै ईण्डोनेशियन केटीलाई दियो होला अनि कसरी होस त पैसा । पुलिसले पनि पैसा खोस्छ र ?’

पुलिसले पैसा लुट्यो भनेका राजाकुमार त्यसपछि भने सम्पर्कबिहीन हुनुभयो । यताबाट पहिलाको नम्बर फोन गर्दा स्वीच अफ भन्छ । उहाँ सम्पर्कबिहीन भएको पनि अब आउने असारमा तीन वर्ष पुग्छ । २०७१ सालमा सेतीमायाका कान्छा छोरा युवराज मलेसिया जानुभयो । युवराज मलेसिया पुगेपछि उहाँले दाइसँग उहाँको गफ भयो । तर भेट चाहिँ भएन ।
राजाकुमार विदेश जाँदा गर्भमै रहेका छोरा अहिले ५ वर्षका भइसके । अहिले त उनलाई हर्निया भएको छ । भतिजो बिरामी भएपछि  युवराजले आफूले कमाएर ल्याएको ५० हजार रुपैयाँ खर्च गरेर उपचार गर्नुभयो । श्रीमान हराउँदाको समस्या त छँदैछ त्यसमाथि गाउँलेले गर्ने खालखालका कुराले सुनमायालाई झनै तनावमा पारेको छ । ‘श्रीमान् नभएको घर रुँगेर के बसेको ?  राजा चाहिँ मलेसियामा मस्ती गरिरहेको छ भन्छन्’ सुनमायाले भन्नुभयो ।



गाउँलेका यस्ता कुरा सुनेपछि सुनमायाले सासु सेतीमायालाई पनि साँच्चै उहाँ त फर्किनुहुन्न कि क्यो हो ? भनेर सोध्नुभयो । तर उहाँले त्यस्तो हुँदैन भनेर सम्झाइरहनुभएको छ । तर आफूलाई पनि त्यस्तै लाग्दा लाग्दै बुहारीलाई छोरो फर्किन्छ भनेर आश्वासन दिन थालेको पनि ३ वर्ष बिकिसक्यो । त्यसैले उहाँलाई पनि छोरा फर्किंदैन कि भन्ने लाग्न थालिसक्यो ।

अहिले त सानुमायाले पनि आफ्नै बुवाको जस्तो कुरा गर्न थाल्नुभएको छ । सानुमाया अहिले यदी दसैँसम्ममा उहाँ घर आउनुभएन भने म आफै विदेश जान्छु भन्न थाल्नुभएको छ । ‘बुहारी घर छोडेर हिँडेपछि के हो ? के हो ? मलाई डर लाग्छ, घर भन्दा टाढा भएपछि बुहारीको मन पनि त बदलिन सक्छ कतै उसले भने जस्तै गरी भने त मेरो छोराको घरै बिग्रिने भयो’ सेतीमाया भन्नुहुन्छ ।

त्यसैले सेतीमाया छोरालाई जसरी भए पनि घर फर्किन आग्रह गर्नुहुन्छ । छोरा घर फर्किएर बिग्रिन लागेको छोराको घर जोगिने थियो भन्ने उहाँको आशा छ । ‘अहिले नै यो कुरा ख्याल गरेन भने उसको बिजोक हुन्छ’ सेतीदेवी भन्नुहुन्छ । अनि भर्खर ५ वर्ष पुगेको नातिलाई बेसाहारा नबनाउन पनि उहाँ छोरासँग बिन्ति गरिरहनुभएको छ । ‘यसले आफनो बाबुको अनुहार हेर्न नपाउने ?’ सेतीदेवी भन्नुहुन्छ ।

समयमै नसोचे पछि फर्किंदा छोराले परिवारको खुशी पाउँदैन भन्ने लागिरहेको छ सेतीदेवीले । यदी अप्ठ्यारै परेको भए त्यो भने सहयोग जुटाउन हिँड्थें भन्ने लाग्छ सेतीदेवीलाई । छोराले बुद्दी नपुरयाएपनि कसैले यो खबर देखेर छोरासम्म पुर्याइदेला कि भन्ने आशामा हुनुहुन्छ सेतीदेवी ।