काठमाडौं, जेठ १६ – तपाईंका आफन्त विदेशमा छन् ? यदि तपाईं परदेशीका आफन्त हुनुहुन्छ र बिरामी पर्नुभयो भने तपाईंलाई वैदेशिक रोजगार प्रर्वद्धन बोर्डले उपचार खर्च दिन्छ ।
तर त्यस्तो उपचार खर्च पाउनका लागि तपाईंका आफन्त वैधानिक रुपमा विदेश गएको हुनु पर्दछ । दुई महिना अघि बोर्डले परदेशीका आफन्तलाई उपचार खर्च दिने निर्णय गरेको हो । अहिलेसम्म बोर्डमा पाँच जनाले उपचार खर्चका लागि निवेदन समेत दिइसकेका छन् ।
उपचार खर्च दावी गर्नका लागि परिवारका सदस्यले आफू विरामी भएको प्रमाण पुग्ने कागजात र आफ्नो परिवारको सदस्य विदेश गएको हो भन्ने पुष्टि गर्ने प्रमाण पत्र सहित वैदेशिक रोजगार प्रर्वद्धन बोर्डमा निवेदन दिन सक्छन् । बोर्डले निवेदन विशेषज्ञ समितिमा पेश गरेर बढिमा ५० हजार रुपैयाँसम्म उपचार खर्च उपलब्ध गराउँछ ।
विदेश गएका आफन्तको पासपोर्ट र श्रम स्विकृतीको फोटोकपी, बिरामीको नागरिकता, विरामी र विदेश गएको व्यक्ति बिच नाता खुल्ने प्रमाणपत्र, बिरामीलाई अर्थिक सहायता आवश्यकता परेको प्रमाणपत्र र बिरामीको रोग स्पष्ट रुपमा खुल्ने गरी सरकारी अस्पतालमा जाँच गरेको प्रमाणपत्र वा कानुनी मान्यता प्राप्त चिकित्सकको सिफारिसको प्रमाणपत्र सहित निवेदन दिन पर्दछ ।
उपचार खर्च रोगको प्रकृति अनुसार ५० हजार रुपैयाँसम्म बोर्डले उपलब्ध गराउँछ । क्यान्सर, मुटुको शल्यक्रिया, अल्जाईमर, मिर्गौला प्रत्यारोपण र पार्किन्सनको उपचारका लागि उपचार खर्च पाइने बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले जानकारी दिनुभयो ।
नियमित औषधि सेवन गर्नु पर्ने र शल्यक्रिया गर्न आवश्यक नरहेको अवस्थामा १५ हजार रुपैयाँ, औषधि सेवनबाट बिरामी ठिक हुने अवस्था नभई सामान्य शल्यक्रिया नै गर्नु पर्ने मध्यम अवस्थाको बिरामीलाई ३० हजार र शल्यक्रिया गरेर नियमित औषधि सेवन गर्नुपर्ने गम्भीर अवस्थाका बिरामीलाई बोर्डले ५० हजार रुपैयाँसम्म औषधि उपचार खर्च दिन्छ ।
यस्तो उपचार खर्च विदेशमा गएका पुरुषका आमाबुवा, श्रीमती र छोराछोरीले पाउँछन् । त्यसैगरी विवाहित महिलाको हकमा भने सासुससुराले समेत उपचार खर्च पाउँछन् ।
बोर्डमा परेको निवेदनलाई सरकारी अस्पतालका डाक्टर सहितको समितिले छानविन गरेपछि रोगको प्रकृति छुट्याई पाउने रकमको निर्धाण गर्ने उहाँले बताउनुभयो ।
बोर्डले २०७३ चैत्र १० गते देखि वैदेशिक रोजगारीमा गएकाका परिवारका सदस्यले पनि उपचार खर्च पाउने मापदण्ड बनाएर लागु गरेको हो । बोर्डमा परेका निवेदनको छिट्टै छानविन गरी उपचार खर्च उपलब्ध गराइने कार्यकारी निर्देशक काफ्लेले जानकारी दिनुभयो ।
सन्जिता देवकोटा/उज्यालो ।
Tuesday, May 30, 2017
विदेशमा आफन्त भएका बिरामीले बोर्डबाट ५० हजार उपचार खर्च पाउने
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News
