भरतपुर, १६ जेठ । चितवन प्रहरीका एसपी दीपक थापाले गाडी चोरी तस्करीमा कुख्याती कमाएका ‘दीप’ भन्ने दीपेन्द्र श्रेष्ठलाई कारबाही नै नगरी रिहा गरिदिएका छन् ।
माथिको आदेशभन्दै एसपी थापाले ‘दीपु’लाई मंगलबार रिहा गरिदिएका हुन् । स्रोतका अनुसार माओवादी केन्द्रका नेताहरूसँग कनेक्सन रहेको दाबी गर्ने ‘दीपु’ले आर्थिक लेनदेनमा कुरा मिलाएर रिहा भएका हुन् ।
‘दीपु’लाई रिहा गराउनमा एसपी थापाका घुमुवा प्रहरी हवल्दार रामप्रवेश यादवको मुख्य भूमिका रहेको स्रोतको दाबी छ । घुमुवा प्रहरी हवलदार यादवलाई यसअघिका एसपी वसन्त कुँवरले बदमासी र अनियमितताको अभियोगमा कारबाही गरेका थिए ।
अहिले तिनै प्रहरी हवलदार यादवलाई हातमा लिएर एसपी थापाले ‘खेतीपाती’ गर्दै आएको जिल्ला प्रहरी कार्यालयका एकजना जुनियर अधिकृतले जानकारी दिए । ‘ठूला हाकिमहरूको ठूलै कारोबार हुन्छ’, ती जुनियर प्रहरी अधिकृतले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘एसपी दीपक थापाले कारबाहीमा परेका घुमुवा प्रहरी हवलदार रामप्रवेश यादवलाई किन काखी च्याप्नु भएको सबैलाई थाहा छ । ‘दीपु’ भन्नेसँग पनि उहाँको रामै उठबस छ ।’
चोरीका गाडी तस्करसँग कनेक्सन रहेका घुमुवा हवलदार यादवले पछिल्लो समय ‘दीपु’लाई प्रयोग गरेर मोटो रकम आफ्ना हाकिमहरू समक्ष पुर्याउने गरेको आरोप छ । ‘दीपु’ले चोरीका गाडीहरू वीरगञ्ज, नवलपरासी चितवन हुँदै राजधानीमा पुर्याउने गरेका छन् । यसकार्यमा हवलदार यादवले सहयोग गर्दै आएका छन् । यो घटनामा एसपी थापा पनि मुछिएका छन् ।
यस विषयमा जानकारी लिन सोमबार अपरान्ह चितवन प्रहरीका एसपी थापासँग मोबाइल फोनमा सम्पर्क गर्दा उनी बोल्न चाहेनन् । मोबाइल फोनमा उनले भने, ‘म ब्यस्त छु । अरु कुरा गर्ने मुडमा छैन ।’ उनले तत्काल फोन काटिदिए ।
दैनिक नेपाल डटकममा ‘दीपु’ भनिने दीपेन्द्र श्रेष्ठ र एसपी थापाबीच चोरीका गाडी तस्करीमा संलग्नता रहेको समाचार प्रकाशित भएपछि ‘दीपु’ पक्राउ परेका थिए । तर, ‘दीपु’लाई कारबाही गर्नुको साटो मंगलबार कारबाही बिनै रिहा गरिएपछि एसपी थापामाथि आशंका उब्जिएको स्रोतको दाबी छ ।
Tuesday, May 30, 2017
गाडी तस्करीका नाइकेप्रति चितवनका एसपी थापाको किन यति धेरै मोह ? ‘दीपु’ रिहा
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News
