काठमाडौं : नेपाल मेडिकल काउन्सिलले दाङका शिव चौधरीको उपचारमा मेघा अस्पतालले गरेको लापरवाही तथा चर्को शुल्क असुलेको घटनाबारे छानबिन थालेको छ । स्वास्थ्यमन्त्री गगन थापाले मेघा अस्पतालको घटनाप्रति चासो देखाउँदै तत्काल छानबिन गर्न निर्देशन दिएपछि काउन्सिलले छानबिन सुरु गरेको हो । राँगाले हानी घाइते भएका चौधरीको ललितपुरस्थित मेघा अस्पतालमा ४१ दिनको भोगाइबारे उनका छोरा ऋषिको भनाइ अन्नपूर्ण पोस्ट्ले जस्ताको तस्तै प्रकाशन गरेको थियो ।
काउन्सिलको व्यावसायिक आचरण समितिका संयोजक डा.सतीश देवको नेतृत्वको टोलीले मंगलबार मेघा अस्पताल पुगी त्यहाँका कर्मचारीसँग स्पष्टीकरण लिएको थियो ।देव नेतृत्वको टोलीले चौधरीलाई भर्ना गरेदेखि डिस्चार्ज गर्दासम्मका सम्पूर्ण 'रेकर्ड' र खर्चबारे विवरण माग गरेको छ । तर, प्राविधिक कारणले मेघा अस्पतालले तत्कालै बुझाउन नसक्ने बताएपछि तीन दिनको समय दिएर टोली शिवको अवस्था बुझ्न राष्ट्रिय ट्रमा सेन्टर पुगेको थियो ।
डा.देवले छानबिन भइरहेकाले वास्तविकता बाहिर आउन केही समय लाग्ने बताउनुभयो ।मेघामा उपचार गराउँदा बेखर्ची तथा अवस्था झन् झन् बढी नाजुक बनेपछि उहाँ राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना हुनुभएको छ ।शिवको स्वास्थ्य क्रमिक सुधारमा आएको छ । उपचारमा धेरै ढिलाइ भएकाले अपेक्षित सुधार नहुने चिकित्सकले बताएका छन् । ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा.गौरवराज ढकालले शिवले समयमै आवश्यक उपचार नपाएकाले सोचेजस्तो परिणाम आउन कठिन हुने बताउनुभयो ।
'उहाँको गर्धनको हड्डी भाँचिएको छ । यस्तो अवस्थामा २४ वा ७२ घन्टाभित्र शल्यक्रिया गरिसक्नुपर्छ । तर, उहाँ ६ सातापछि आउनुभयो', डा.ढकालले भन्नुभयो, 'उहाँले उपचारमा भएको सबै पैसा रित्याउनुभएछ । यहाँ निःशुल्क उपचार गरिरहेका छौं ।'
डा.ढकालका अनुसार शिवको अप्रेसनका लागि आवश्यक उपकरण जुटाउने प्रयास भइरहेको छ ।ट्रमामा चार दिन बस्नुभएका शिव सजिलै कुराकानी गर्न, हातखुट्टा चलाउन र खान सक्ने हुनुभएको छ । चिकित्सकका अनुसार शिवको भाँचिएको गर्धनको हड्डी जोडिन समय लाग्नेछ ।'मलाई यहाँ असाध्यै राम्रो छ, डाक्टर पनि धेरै असल हुनुहुँदो रहेछ, नर्र्सले पनि हेरचाह गरिरहनुभएको छ । बाँच्छु भन्ने आशा जागेको छ', शिवले भन्नुभयो ।
शिवका अनुसार ट्रमा सेन्टरमा आएपछि पहिलेजस्तो तीन÷चार थरीका औषधि खान परेको छैन । पटक–पटक एक्सरे र सिटीस्क्यान गरिएको छ । अप्रेसन गर्न तयारी भइरहेको छ । 'दिनमा एकथरी औषधि मात्रै खान दिइएको छ । खाना पनि निःशुल्क उपलब्ध छ', शिवले भन्नुभयो ।
सेन्टरमा भर्ना गर्दा सुरुमा तीन हजार रुपैयाँ जम्मा गरेको शिवका छोरा ऋषिले बताउनुभयो ।मेघा अस्पतालमा ४१ दिनको उपचारका क्रममा चौधरीको दुई लाख २० हजार खर्च मात्र भएन, अवस्था झन् जटिल बन्दै गएपछि जबर्जस्ती रिफर गर्न लगाएर शिव ट्रमा सेन्टर भर्ना हुनुभएको हो । 'उपचार खर्च तिर्न नसक्दा उपचार नै नहुने हो कि भन्ने डर थियो । यहाँ आएपछि बुबा फेरिनुभएको छ', शिवका छोरा ऋषिले भन्नुभयो ।
वैशाख २ गते राँगाले हानेपछि शिवको ढाड र खुट्टामा चोट लागेको हो । शिवलाई भैरहवाको युनिभर्सल मेडिकल कलेज हुँदै एम्बुलेन्सबाट काठमाडौंको सिभिल अस्पताल ल्याइएको थियो । सिभिलबाट ट्रमा सेन्टर रिफर गरिएका शिवलाई एम्बुलेन्स चालकले ट्रमाभन्दा मेघा धेरै राम्रो र सस्तो भएको बताएपछि त्यतै लगिएको थियो ।
भिडियो :
Tuesday, May 30, 2017
बिरामी लुट्ने अस्पतालमाथि छानबिन सुरु, ट्रमा लगेपछि फेरिए बिरामी (भिडियो सहित)
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News
