Breaking

Monday, May 29, 2017

श्रम तथा रोजगारी विदेशको कमाइ अब आफ्नै खातामा


विप्रेषणलाई औपचारिक माध्यमबाट भित्राउन सरकारले वैदेशिक रोजगारीमा जानुअघि हरेक कामदारले अनिवार्य रूपमा बैंक खाता खोल्नुपर्ने नीति ल्याउने भएको छ । विदेशमा कमाएको रकम सोही खातामा पठाउने व्यवस्था मिलाई विप्रेषणलाई औपचारिक प्रणालीमा ल्याइने बजेट वक्तत्वमा उल्लेख छ । सरकार चालू आवमै बैंक खाता खोली विप्रेषणलाई औपचारिक प्रणालीबाट भित्राउने लक्ष्य लिए पनि सफल हुन सकेको छैन । चालू आवको बजेटमा सरकारले औपचारिक माध्यमबाट विप्रेषण ल्याउने कार्यलाई प्रोत्साहन गर्ने र बैंकबाट रकम आएको प्रमाणसहित घरजग्गा खरिद गरेमा लाग्ने रजिस्टे«सन शुल्कमा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ । आगामी आवमा भने यसलाई अनिवार्य गर्ने योजना सरकारको छ । श्रम तथा रोजगारअन्तर्गत चालू आवका सबै कार्यक्रमलाई निरन्तरता दिएको सरकारले यस प्रयोजनका लागि १ अर्ब १४ करोड बजेट छुट्याएको छ ।

बजेटमा श्रम तथा रोजगारी

– रेमिट्यान्स आर्जनकर्ताको स्वेच्छिक योगदान रहने गरी जलविद्युत्लगायत उत्पादनमूलक क्षेत्रमा लगानी प्रोत्साहन गर्ने

– मुलुकभित्र रोजगारीको अवसर सिर्जना वृद्धि गरी उपलब्ध श्रमशक्तिलाई देशभित्रै उपयोग गर्ने

-वैदेशिक रोजगारीमा श्रमको उच्चतम मूल्य प्राप्त गर्ने गरी दक्ष वा अर्धदक्ष जनशक्ति विकास गर्ने

– श्रमबजारको आवश्यकताअनुकूल सीप विकास तालिम कार्यक्रम सञ्चालन गर्ने

– रोजगार सूचना प्रणालीका माध्यमबाट पहुँच सुदृढ गर्ने

– स्वरोजगारमा लाग्न चाहने उद्यमशील जनशक्तिलाई सीपमूलक तालिम र सहुलियत दरमा पुँजी उपलब्ध गराउने

– निकृष्ट प्रकारको बालश्रम निवारणसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने, बालश्रम निवारणको १० वर्षे गुरुयोजना आगामी आवबाट कार्यान्वयनमा ल्याउने ।