Breaking

Sunday, May 28, 2017

महावीरका पदकहरू बिक्रीमा

राष्ट्रलाई आवश्यक प्राविधिक जनशक्ति र प्रविधि निर्माण गर्दै विकास अभियानमा लाग्न राष्ट्रिय आविष्कार केन्द्र गठन गरेका सामाजिक अभियन्ता महावीर पुनले आफूले पाएका राष्ट्रिय–अन्तर्राष्ट्रिय पदक बिक्रीमा राखेर नौलो तरंग ल्याएका छन् ।

आविष्कार केन्द्रमार्फत नयाँ योजना तय र प्रविधिगत उपलब्धि हासिल गर्न लागिपरेका महावीर सरकारसँग आवश्यक सहयोगका लागि हारगुहार गरेर थाकेपछि सर्वसाधारण नेपालीसँग ‘पैसा, बुद्धि र समय’ को सहयोग माग्दै आएका छन् । ‘देश–विदेशमा रहेका नेपाली हितैषीको स्वैच्छिक महादानबाट केन्द्रमा ४ करोड रुपैयाँ जम्मा भइसकेको छ,’ महावीर सेन्टर फर नेपाल कनेक्सनको ठमेलस्थित क्याफेमा शनिबार उनले भने, ‘यही अभियानमा थोरैतिनो आर्थिक भरथेग होस् भनेरै आफूले पाएका पदक बिक्रीमा राखेको हुँ ।’

केन्द्रले राखेको लक्ष्य र योजनामा बल पुर्‍याउन १० महिनायता सुरु ‘स्वैच्छिक महादान’ मा ५० करोड रुपैयाँ संकलन गरी जलविद्युत् परियोजना सञ्चालन गर्दै यसको नियमित आम्दानीबाट आविष्कार केन्द्रलाई ‘परिणाममुखी’ बनाउने योजना पुनको छ । ‘मैले यसबीचमा चाउचाउ र सिमेन्टको विज्ञापनमा पनि खेलेको छु, जसको आम्दानी पनि यही केन्द्रलाई जानेछ,’ उनले भने, ‘पदकलाई घरको कुनामा थन्क्याएर राख्नुभन्दा यी उपलब्धिलाई थप उत्पादनमूलक बनाउन बिक्रीमा राखेको हुँ ।’ महावीरले र्‍यामन म्यागासेसे अवार्ड (२००७), इन्टरनेट हल अफ फेम (२०१४), राष्ट्रद्वीप (२०१२), युनिभर्सिटी अफ नेब्रास्का (२००१) र डा. हर्कबहादुर गुरुङ पर्वतीय पुरस्कारलाई बिक्रीमा राखिएको जानकारी दिए । यीमध्ये डा. हर्क गुरुङका नाममा आफूलाई मिलेको पुरस्कार (पदक) कतै हराइरहेकाले त्यसको खोजबिन भइरहेको उनले बताए । यी पदक उनले आफ्नो ठमेल अफिसमा सार्वजनिक प्रदर्शनीमा राखेका छन् । यीमध्ये एसियाको नोबेल पुरस्कार मानिने म्यागासेसे उनले ५० हजार अमेरिकी डलरसहित पाएका थिए ।

प्रतिष्ठित पदक बिक्रीमा राखिए पनि यिनको मूल्य भने निर्धारण गरिएको छैन । ‘यसमा पदकको मूल्यभन्दा पनि स्वविवेक र हृदयले प्रदान गर्ने मूल्यको अर्थ महत्त्वपूर्ण हुनेछ,’ ६१ वर्षीय पुनलाई लागेको रहेछ, ‘यी पदकको मूल्य कसले, कसरी भन्ने ? मूल्य बेच्नेलाई पनि थाहा छैन, किन्नेलाई पनि थाहा छैन । हृदयले तोक्ने कुरा हो ।’

आफूले पछिल्लो पटक सरकारी तहमा एक वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई आविष्कार केन्द्रको योजना र सपनाबारे बताए पनि यो अभियानमा ‘सरकारको मुख ताकेर कहिल्यै नबसेको’ बताए ।

सरकारसँग ‘न आग्रह न पूर्वाग्रह’ को मनस्थितिमा उनी पुगेका छन् । यसलाई राज्य पद्धतिप्रति अथवा कहींकसैप्रति प्रतीकात्मक अर्थको ‘व्यंग्य’ का रूपमा समेत नलिन उनले आग्रह गरे ।

‘बाहिरी मुलुकमा एन्टिक भइसकेका कला, पदक वा पुराना सामग्री लिलामीमा जाने गरेको मैले सुनेको हँ‘ । तर आफ्नै पदक बिक्रीको यो उपायलाई मैले व्यक्तिगत लाभहानिमा कहिल्यै राखेको छैन,’ उनले भने । पदक बिक्रीको घोषणा गरेपछि सामाजिक सञ्जालमा ‘पाएको सम्मानको अपमान’ भन्दै टिकाटिप्पणी आइरहेकोमा पुनले दु:खमनाउसमेत गरे । ‘यो त पदकले पाउने दोहोरो सम्मानको कुरा हो, पाएको पदकलाई थन्क्याएर राख्नुभन्दा थप उत्पादनमूलक बनाउन मैले यो निर्णय लिएको हुँ,’ उनले भने, ‘त्यसमाथि मान/पदक दिने अन्तर्राष्ट्रिय संस्थालाई सोधेरै निर्णय लिएको हुँ । म्यागासेसे कमिटीसहितका निकायले दिइसकेको पदक बिक्री गर्ने वा साथमा राख्ने सर्वाधिकार पदक पाउनेमै रहेको भनेपछि म ढुक्क भएँ ।’