जेष्ठ १८, २०७४- ‘तपाईं पहिलोपटक नेपाल आउनुभएको हो ?’ धेरैको जिज्ञासा थियो भारतीय राजदूत मन्जिभसिंह पुरीलाई । सवाल कानमा पर्नेबित्तिकै उनले जवाफ फर्काइहाले, ‘हाम्रो उमेर समूहका को हिन्दुस्तानी अहिलेसम्म नेपाल नआई बसेको होला र ?’ उनले आफ्नो पहिलो नेपाल भ्रमणबारे खुलाउँदै भने, ‘म विद्यालय शिक्षा पूरा गर्नेबित्तिकै साथीहरूसँग नेपाल भ्रमणमा आएको थिएँ । त्यसपछि पनि आएँ ।’ भारतमा नेपालप्रति छुट्टै सम्मान रहेको बताउँदै उनले भने, ‘देव भूमिमा पाइला टेक्न सबैको आकांक्षा हुन्छ । यो भूमिका बारेमा जानकारी भएका हिन्दुस्तानीले पक्कै नेपाल आउन छुटाउँदैनन् । म त्यो भाग्यमानी हुँ जसले दुई देशको सम्बन्ध र सहकार्यमा राजदूतका रूपमा नै काम गर्ने गरी यहाँ आउन पाएँ ।’
नेपाल–भारत मैत्री समाजले बुधबार राजधानीमा गरेको सम्मान कार्यक्रममा उनले भने, ‘नेपालको आन्तरिक राजनीतिको समाधान यहीँ खोज्ने हो । हाम्रो शुभेच्छा र भेटघाटलाई आन्तरिक राजनीतिमा जोड्न मिल्दैन । राजदूतको जोड राजनीतिभन्दा पनि सहकार्यका विषयमा हुन्छ । मेरो जोड पनि त्यसैमा छ । हामी शान्त, समृद्ध र समुन्नत नेपाल हेर्न चाहन्छौं ।’ राजनीतिक भेटघाटको प्रसंग उल्लेख गर्दै उनले थपे, ‘हाम्रो सम्बन्धमा मतभेद नै हुन पाउनु हुँदैन । यति सबल सम्बन्ध सबै पक्षसँग छ भने किन यस्तो अवस्था आउँछ र ?’ उनले राजदूत हुनुअघि नै नेपालका अधिकांश कूटनीतिज्ञसँग विभिन्न क्षेत्रमा काम गरेको स्मरण गर्दै भने, ‘त्यसैले होला नेपाली भन्नेबित्तिकै ममा बेग्लैखाले सम्मानको भावना पैदा हुन्छ ।’
नेपालको भूराजनीति पनि फरक प्रकारको भएकाले यहाँ विश्वको आँखा पर्नु स्वाभाविक रहेको उनले बताए । ‘यसलाई हामीले आगामी पुस्ताका लागि सोचविचार गरेर काम गर्न सक्नुपर्छ,’ राजदूत पुरीले भने, ‘सञ्जाल (सडक, हवाई, रेल) सबै क्षेत्रमा सहकार्य आवश्यक छ । जब कुनै मुलुक बहुदलीय अभ्यासमा जान्छ, त्यो मुलुकमा केही समय राजनीति स्थिरता हुँदैन भन्ने उदाहरण भारत नै छ ।
कार्यक्रममा पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख प्राध्यापक गोविन्दराज पोखरेलले नेपालका एलिट गैरसरकारी संस्था चलाउन व्यस्त भएको तर भारतमा एलिटहरू
व्यापारमा सक्रिय भएको बताए । भारत विकासमा छलाङ मार्दै जानुमा युवाको सहभागिताको ठूलो हिस्सा रहेको दाबी गर्दै उनले भने, ‘हामीले युवालाई अवसर दिन सक्नुपर्छ । राजनीतिक स्थिरताका साथै लगानी मैत्री वातावरण नै प्रमुख हो ।’
प्राध्यापक लोकराज बरालले पनि भारतीय राजदूत सफल हुने या नहुने विषय उनले गर्ने कामले देखाउने बताए । ‘नेपालको भूराजनीतिक अवस्था र अन्योल बुझेर काम गर्न सक्नुपर्छ । विशेष सम्बन्ध भएको मुलुकमा विशेष परिस्थिति पनि आउने हुनाले त्यसलाई मध्यनजर गर्न सक्नुपर्छ ।’ कार्यक्रममा डा. सुुन्दरमणि दीक्षितले भारतले नेपालमा ‘अपनत्व’ सम्झेर काम गर्न सके समस्या कहिल्यै नआउने बताए ।
Wednesday, May 31, 2017
समाधान नेपाल आफैंले खोज्ने हो
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News
