Breaking

Wednesday, May 31, 2017

विदेशबाट फर्केर गाउँपालिका उपाध्यक्षमा उम्मेद्वारी

जनार्दन घिमिरे/उज्यालो । 

गुल्मी, जेठ १८ – वैदेशिक रोजगारकालागि विदेश गएकी गुल्मीकी एक महिला स्वदेश फर्किएपछि गाउँपालिकाको उपाध्यक्षमा उम्मेद्वार बन्नुभएको छ । गुल्मी ईस्मा गाउँपालिका–१ हस्तिचौरकी ३६ वर्षीया विमला खत्री नेकपा एमालेको तर्फबाट ईस्मा गाउँपालिकाको उपाध्यक्षमा उम्मेद्वार बन्नु भएको हो ।
दुई वर्षअघि साईप्रस पुग्नुभएकी विमला नेपालमा स्थानीय तहको चुनाव घोषणा भएपछि उम्मेद्वारी दिने विचार बोकेर दुई महिनाअघि स्वदेश फर्किनु भएको थियो । रोजगारीको शिलशिलामा साईप्रस पुग्नुभएकी विमला त्यहाँ काम गर्दा पाउने मासिक एक लाख बराबरको पारिश्रमीक छोडेर चुनावमा उम्मेद्वारी दिनका लागि गुल्मी फर्किनु भएको हो ।

स्वदेश फर्किएसँगै नेकपा एमाले जिल्ला कमिटी गुल्मीले विमलालाई सर्वसम्मत रुपमा ईस्मा गाउँपालिकाको उपाध्यक्षमा उम्मेद्वार बनाउने निर्णय गरेको थियो । पार्टीको तर्फबाट उम्मेद्वार बनेपछि विमलालाई अहिले मत माग्नका लागि नागरिकको घरदैलोमा पुग्न भ्याई नभ्याई छ । विमलाले गाउँको विकास र महिलाका हक र अधिकारको लागि आफूले उम्मेद्वारी दिएको भन्दै मत माग्न थाल्नु भएको छ ।

‘रोजगारीका लागि विदेशिएका म जस्ता धेरै मानिसको दुःख पनि देखेँ, त्यो दुःख यहि स्वदेशमा गर्न सक्ने हो भने यहिँ नै सुख भेटिन्छ र केही गर्नुपर्छ भन्ने लागेर स्वदेश फर्किए’ चुनावमा लड्ने मन पलायो, ‘गाउँको विकासका लागि केही उदहारणीय काम गर्ने सोच बनाएकी छु’ विमलाले भन्नुभयो ।

विद्यार्थी जीवनकालदेखि राजनीतिमा सक्रिए रहँदै आउनु भएकी खत्री यसअघि स्थानीय स्तरमा सामाजिक एवं महिला अधिकारको क्षेत्रमा क्रियाशिल रहँदै आउनु भएको थियो ।