Breaking

Wednesday, May 31, 2017

काबुलमा भीषण आक्रमण : ९० को मृत्यु, ४ सय घाइते

जेष्ठ १८, २०७४- अफगानिस्तानको राजधानी काबुलस्थित जर्मन दूतावासनजिकै बुधबार आत्मघाती कार बम आक्रमणमा ९० जनाको मृत्यु भएको छ । चार सयभन्दा बढी घाइते भएका छन् ।

अफगानिस्तानकै सबैभन्दा सुरक्षित मानिने जानवाक स्क्वायरमा बिहान ८.२५ बजे विस्फोट भएको थियो । मृत्यु भएका अधिकांश सर्वसाधारण छन् । सर्वसाधारण दूतावास र सैनिक बेसमा जाँदै गरेका बेला विस्फोट गराइएको थियो । शक्तिशाली विस्फोटले टाढा–टाढाका भवनहरूका साथै ५० भन्दा बढी गाडी ध्वस्त भएका छन् । राष्ट्रपति भवन र धेरै मुलुकका दूतावास रहेको उक्त क्षेत्रमा आक्रमणकारीहरू सामान आपूर्ति गर्ने कम्पनीको कर्मचारीका रूपमा पसेको र विस्फोटक पदार्थ पानी ट्यांकरमा हालेर लगिएको आशंका छ । आक्रमणको कसैले जिम्मा लिएको छैन । तालिवानले विस्फोटमा आफ्नो संलग्नता नरहेको जनाएको छ भने इस्लामिक स्टेट (आईएस) ले कुनै प्रतिक्रिया दिएको छैन । स्थानीय बासिन्दाले यस्तो भयानक विस्फोट जिन्दगीमै नदेखेको र ठूलो भूकम्पजस्तो महसुस भएको बताएका छन् ।
आक्रमण शृंखला
  •     मे २०१७– मजार–ए सरिफको सैनिक तालिम केन्द्रमा आक्रमण, १३५ को मृत्यु
  •     ८ मार्च २०१७– काबुलको सैनिक अस्पतालमा आक्रमण, ३० को मृत्यु
  •     २१ नोभेम्बर २०१६– बकिर उल ओलुम मस्जिदमा आक्रमण, २७ को मृत्यु
  •     २३ जुलाई २०१६– सिया हजारा अल्पसंख्यक समुदायले गरेको र्‍यालीमा आक्रमण, ८० को मृत्यु

  •     १९ अप्रिल २०१६– रक्षा मन्त्रालय भवननजिकै विस्फोट, २८ को मृत्यु
  •     १ फेब्रुअरी २०१६– प्रहरी मुख्यालयमा विस्फोट, २० को मृत्यु
  •     ७ अगस्ट २०१५– काबुलमा बम आक्रमण, ३५ को मृत्यु
विस्फोटमा बीबीसी अफगान सेवाका सवारी चालकको मृत्यु भएको छ भने बीबीसीका चार पत्रकारसमेत घाइते भएका छन् । यस्तै, समाचार समिति ‘टोलो’ का एक कर्मचारीको मृत्यु भएको छ ।

काबुल प्रहरीका प्रवक्ता बसिर मुजाहिदले जर्मन दूतावासनजिकै विस्फोट भएको उल्लेख गर्दै केमा निसाना गरिएको थियो भन्ने स्पष्ट नभएको बताए । यसैबीच, घाइतेहरूका लागि रगत अभाव भएपछि गृह मन्त्रालयले रक्तदान गर्न आह्वान गरेको छ । उक्त आह्वानपछि विभिन्न स्थानमा रक्तदान गर्नेको भीड लागेको छ । पश्चिमी कूटनीतिक स्रोतलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार आक्रमणमा १ हजार ५ सय किलोको बिस्फोटक पदार्थ प्रयोग गरिएको थियो ।

कूटनीतिक नियोगहरू निसानामा 

जर्मनीका विदेशमन्त्री सिगमार गाब्रियलले आफ्नो दूतावासका कर्मचारीहरू घाइते भएको र एकजना अफगान सुरक्षा गार्डको मृत्यु भएको बताएका छन् । जापानी दूतावासका पनि दुई कर्मचारी घाइते भएका छन् । विस्फोटमा टर्की र फ्रान्सका दूतावास भवन पनि क्षतिग्रस्त भएका छन् । यी दुई दूतावासका कर्मचारीहरू भने सकुशल रहेको बताइएको छ ।

विश्व समुदायबाट निन्दा 

आक्रमणको विश्वका नेताहरूले निन्दा गरेका छन् । जर्मनी चान्सलर एंगेला मर्केलले आतंकवादको सीमा नभएको भन्दै म्यानचेस्टर, बर्लिन, पेरिस, इस्तानबुल, सेन्टपिटर्सवर्ग जहाँ भए पनि यसले सबैलाई निसाना बनाएको बताइन् । अफगान राष्ट्रपति असरफ घानीले रमजानको पवित्र महिनामा निर्दोष सर्वसाधारणलाई निसाना बनाई आक्रमण गरिएको भन्दै कडा निन्दा गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमा घटनाको भत्र्सना गर्दै मृतकका परिवारप्रति समवेदना र घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन् । पाकिस्तानी विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै आक्रमणको भत्र्सना गरेको छ ।

हाल अफगानिस्तानमा ८ हजार ४ सय अमेरिकी सेना तथा ५ हजार नाटो गठबन्धनको सेना तैनाथ छन् । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले तालिवानविरुद्धको कारबाहीका लागि थप हजारौं सेना पठाउन राष्ट्रपतिलाई दबाब दिँदै आएको छ । अफगानिस्तानको एक तिहाइ भाग सरकारी नियन्त्रणबाहिर रहेको बताइएको छ । पछिल्लो घटनाले अफगानिस्तानभर नै सुरक्षा अवस्था खस्कँदै गएको पुष्टि गरेको छ ।

घाइतेमध्ये ५ नेपाली

नयाँदिल्ली – काबुल आक्रमणमा घाइते भएकामध्ये ५ नेपाली छन् । चार जना सामान्य उपचारपछि फर्केका छन् भने एक नेपालीको शल्यक्रियाका लागि उपचार भइरहेको छ । दिल्लीस्थित नेपाली दूतावास स्रोतका अनुसार काबुलमा रहेका विदेशी दूतावासमा कार्यरत नेपाली कर्मचारीको विवरण संकलन भइरहेको छ । अफगानिस्तानको स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयसँग समेत घाइतेको अवस्था बुझ्ने काम भइरहेको दूतावासले जनाएको छ । अफगानिस्तानका विभिन्न कूटनीतिक मिसनमा सुरक्षा गार्डका रूपमा काम गर्ने नेपालीको संख्या ठूलो छ । नेपाल सरकारले आक्रमणको भत्र्सना, मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त र घाइतेको स्वास्थ्य लाभको कामना गरेको छ ।