Breaking

Sunday, May 28, 2017

रूखमा ठोक्किएर विमान दुई टुक्रा । उद्धारपछि उपचारका क्रममा चालक र सहचालकको मृत्यु


जेष्ठ १४, २०७४- धावनमार्ग नजिकै रूखमा ठोक्किन पुगेको गोमा एयरको नाइन एनकेए कल साइन भएको विमान (समिट एयर) शनिबार लुक्ला विमानस्थलमा दुर्घटना हुन पुगेको छ । भाँच्चिएर दुई टुक्रा भएको विमानमा रहेका तीनै जना चालक, सहचालक र परिचारिकाको उद्धार गरिए पनि उपचारका क्रममा चालक पारस राई र सहचालक सुजन मानन्धरको मृत्यु भएको छ । परिचारिका प्रज्ञा महर्जन घाइते छिन् । राईको अपराह्न र मानन्धरको राति अबेर निधन भएको हो । घाइतेलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडांै लैजाने अबेरसम्मको प्रयास खराब मौसमका कारण सफल हुन सकेन । काठमाडौंबाट लुक्लाका लागि कार्गो लिएर उडेको विमान अवतरण गर्ने क्रममा धावनमार्ग नपुग्दै डिलमा रहेको सल्लाको रूखमा ठोक्किएर धावनमार्गको तारजाली नजिकैबाट १० मिटर जति तल खसेको प्रत्यक्षदर्शी ङिमाटासी शेर्पाले बताए । विमान भाँच्चिएर दुई टुक्रा भएकाले उद्धार गर्न एक घण्टाभन्दा बढी समय लागेको थियो । परिचालिकाको सुरुमै उद्धार भए पनि ककपिटभन्दा अघि र पछिको भाग छुट्टिने गरी भाँच्चिएकाले चालक र सहचालकको उद्धारमा समय लागेको थियो ।  चालक राईको लुक्लास्थित पासाङल्हामु निकोलनिकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । सहचालक मानन्धरको राति अबेर मृत्यु भएको हो । महर्जन दोहोरो बोल्न सक्ने अवस्थामा छिन् । मानन्धरको टाउको, निधार, च्युँडोलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो । ‘थप उपचारका लागि घाइतेहरूलाई राजधानी लाने प्रयास अबेरसम्म गरिए पनि सकिएन,’ जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव बुढाथोकीले भने । पानी परिरहेको र बाक्लो बादलका कारण साँझसम्म पनि लुक्लाबाट कुनै हेलिकप्टर उड्न सकेन ।

परिचारिका महर्जनलाई थप उपचारका लागि राजधानी लैजान खोजेको एयर डाइनेस्टीको हेलिकप्टरले खराब मौसमका कारण नजिकैको छेप्लुङ गाउँमा आकस्मिक अवतरण गरेको थियो । त्यहाँबाट उडान गर्न सक्ने अवस्था नभएपछि स्ट्रेचरबाटै साँझ अबेर प्रज्ञालाई पुन: लुक्ला ल्याउन प्रयास भइरहेको लुक्ला प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक यादवकुमार खड्काले बताए । सहचालक मानन्धरलाई काठमाडांै लैजान अस्पतालमै एयर डाइनेस्टीको अर्को हेलिकप्टर तयारी अवस्थामा रहे पनि मौसमले साथ नदिएपछि उडान हुन सकेन र राति निधन भयो ।

‘हात हल्लाएजस्तो लाग्यो’
नामगेल शेर्पा
लुक्ला विमान दुर्घटनाका उद्धारकर्मी

एयरपोर्ट नजिकैको लुक्ला बजारमा हिँडदै थिएँ । विमानको फरक खालको आवाज सुनियो । आकाशतिर हेर्दाहेर्दै विमान त खसिसकेछ, धावनमार्गको प्रवेश विन्दुमै । सबै विमान खस्यो–विमान खस्यो भनेर कराउन थाले । हतारहतार १० मिनेटमै घटनास्थल पुग्यौं । हामीभन्दा पहिल्यै एयरपोर्ट नजिकैका प्रहरी पुगेका रहेछन् । विमानबाट आवाज आइरहेकै थियो । अघिल्तिरको भाग जमिनमा ठोक्किएर पछाडि फर्केको देखिन्थ्यो । धावनमार्गको देब्रे भागमा प्रहरी चौकी थियो, विमान दाहिनेतिर ठोक्किएको थियो । उद्धारका लागि विमान नजिक जाने बाटो थिएन । स्टार्ट बन्द नभएकाले आगो लाग्ला वा पडकेला कि भन्ने डरले हामी विमान नजिक जान डराइरहेका थियौं । केहीबेर हेरेको हेर्‍यै भयौं ।

बाटो बनाउँदै, डराई–डराई सुरक्षाकर्मीसँगै विमान नजिकै गयौं । बाहिरै छेउमा सिटसहित एयर होस्टेज बेहोस अवस्थामा लडिरहेको देख्यौं । एउटा टोलीले उनलाई उठाएर अस्पताल पठायौं । विमानको अघिल्लो भागबाट पाइलटले हात हल्लाएजस्तो लाग्यो । भित्र जाने अवस्था भएन । स्टार्ट बन्द भएकै थिएन । निकैबेर अलमल भयो । सयौं सुरक्षाकर्मी र स्थानीय भेला भए पनि उद्धारमा निकै समस्या भयो । विमानको आवाज बन्द नहुँदै कसैले बन्चरो, कसैले खुकुरीलगायत हतियारले पाइलट र कोपाइलट च्यापिएको भाग काट्न थाल्यौं । पाइलट नजिकै कोपाइलट सिटमा च्यापिएको अवस्थामा थिए । धेरै समय लगाएर निकालियो । टाउकोमा चोट देखिन्थ्यो । तर विमानको भाग सहजै फोर्न सक्ने अवस्था थिएन । पाइलट अडिएको भाग फोर्न थाल्यौं । बल्लबल्ल उनलाई निकाल्यौं । सिटमा च्यापिएका उनी बेहोस थिए । हेर्दा नै जीवित छैनन्जस्तो देखिन्थ्यो । पानी परिरहेको र हुस्सु लागेकाले चालकले अगाडिको ‘भिजन’ सही नहुँदा दुर्घटना भएको अनुमान गर्न सकिन्छ । धावनमार्गको प्रवेश विन्दुमै सल्लाको रूखको टुप्पोमा विमान ठोक्किएको हुन सक्छ, रूखको टुप्पो भाँच्चिएको छ । स्थानीय, सेना, नेपाल र म्यादी प्रहरीसमेतको सयौं जनालाई उद्धार गर्न डेढ घण्टाभन्दा बढी समय लाग्यो ।
(कुराकानीमा आधारित)

source:-ekantipur