Breaking

Sunday, May 28, 2017

यी हुन् अमेरिकी सेनामा कार्यरत नेपाली चेली:


अमेरिकी सैन्य पोसाकमा नेपाली मुहारकी एक युवती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निकै व्यस्त थिइन्, भूकम्पपछिको राहत र उद्धारका बेला । नेपाली चेली अमेरिकी सैन्य पोशाकमा देखिएपछि धेरैको ध्यान स्वाभाविक रूपमा उनीतिर तानियो । धेरैले आश्चर्य पनि माने । अनि ती युवतीबारे सोधीखोजी हुन थाल्यो ।

त्यतिबेला महाभूकम्पपछि शक्तिसम्पन्न मुलुक अमेरिकी सेनाको मरिनलगायतको ‘फोर्स’ पीडितको खोजी तथा उद्धार कार्यमा नेपाल आइपुगेको थियो । त्यही ‘फोर्स’ समूहमा सामेल थिइन्, कविता विष्ट । पश्चिम नेपालकी कविता उद्धारका लागि नेपाल भित्रिएका अमेरिकी सैन्य समूहको समन्वय गर्न खटिएकी थिइन् । तर उनी महाभूकम्पपछि नेपाल आएकी होइनन्, त्योभन्दा छ महिनाअघिदेखि नेपालमै थिइन् ।

उनले त्यतिबेला यस पंक्तिकारसँग भनेकी थिइन्, ‘मलाई धेरैले महाभूकम्पपछि नेपाल आएको ठानें । त्यसो होइन, म छ महिनादेखि अमेरिकी दूतावासमा रहेर सेना र प्रहरीसँग काम गरिरहेको थिएँ ।’ सशस्त्र प्रहरीसँग मिलेर विभिन्न जिल्लामा स्यालो ट्युबवेल राख्नेलगायतका धेरै काममा उनी सहभागी भइन् । यता हुँदा उनले गैरफौजी प्रकृतिका काम गरेकी थिइन् । अमेरिका फर्किनुअघि भनिन्, ‘प्यारासुट जम्प नगरेको छ महिना भयो । अब गएर दुईपटक नियमित ‘प्याराजम्प’ गर्नुपर्छ ।’ अमेरिकी सेनाले आफ्नो नियमित अभ्याससँगै हरेक तीन महिनामा एकपटक प्याराजम्प गर्नैपर्छ । यो नियमित प्रक्रिया हो । कविता अमेरिका भने सैनिक बन्न गएकी थिइनन् ।

उनी पत्रकारितामा उच्च शिक्षा लिन अमेरिका पुगेकी थिइन् । पढाइसँगै जीवनलाई कुन मोड दिने भन्ने अन्योलकै बीच उनी अमेरिकी सेनामा भर्ती भइन् । त्यहाँ पुगेपछि पत्रकारितामा ग्राजुयसन गरेकी उनले अहिले पढाइको क्षेत्रसमेत परिवर्तन गरेकी छन् । ‘अहिले सेनामा रहेर रसायनशास्त्र पढ्दै त्यहाँबाट माथि उक्लने भर्याङ तय गरिरहेकी छु,’ उनले भनिन् । अमेरिकी सेनामा नेपाली र अन्य दक्षिण एसियाली मुलुकले पनि भर्ना पाउने जानकारी पाएपछि उनी यथार्थ बुझ्न सेनाको क्याम्प पुगेकी थिइन् । उनले भनिन्, ‘विद्यार्थीले सेनामा नपाउने थाहा पाएपछि निराश भएर म फर्किएँ ।

तर हिम्मत हारिनँ ।’ नेपालमा रहँदा अध्ययनकै क्रममा रेडियो नेपालमा काम गरेकी उनले त्यहाँ पुगेर पनि सूचना लिने तथा लगातार लागिरहने कार्यमा पछि परिनन् । ‘सन् २००९ तल्लो सिपाहीमात्र होइन योग्यताअनुसारको दर्जामा विद्यार्थीले पनि आवेदन दिन पाउने भयो । त्यसपछि हतारिंदै सेनामा भर्ना हुन क्याम्प पुगें । तर नेपाली भाषाबाट जानेको कोटा सकिएको सूचनाले म पुन: निराश भएँ,’ उनले सुनाइन्, ‘तर, तत्काल थाहा भयो । उर्दूको कोटा बाँकी रहेछ । मलाई उर्दूको पनि ज्ञान भएको हुनाले त्यसमै परीक्षा दिएँ ।’

भाषा परीक्षामा कविता पास भइन् र अमेरिकी सेना बनिन् । उर्दूको परीक्षाबाट सेनामा गए पनि उनलाई त्यहाँको सेनाले नेपालसँग सम्बन्धित कामै बढी जोड दिएको उनले बताइन् । त्यही क्रममा उनी आफ्नो सेनाको तर्फबाट नेपालस्थित अमेरिकी दूतावासमा काम गर्न आएकी हुन् । यहाँ उनले सशस्त्र प्रहरी बल र नेपाली सेनासँग मिलेर काम गरिन् । विभिन्न परियोजना लागू गर्न सहकार्य गरिन् । काम सकिएर उनी फर्किने क्रममा थिइन् । त्यही बेला आठ हजारभन्दा बढीको ज्यान लिने गरी महाभूकम्प गयो । त्यसपछि उनलाई सोच्दै नसोचेको जिम्मेवारी आइपर्यो ।

त्यसपछि उद्धार कार्यमा आएका अमेरिकी सेनालाई नेपाली सेनासँगको सहकार्यमा उनले सघाइन् । भीएस निकेतनबाट विद्यालय शिक्षा र हिमालयन ह्वाइटहाउसबाट १० जोड दुई सकेकी उनी अन्तर्राष्ट्रिय विमानस्थलमा सेलिब्रेटीजस्तो बनिन् । तर पनि फर्कने बेलामा उनले नेपालको पीडा र यहाँ भएको अमेरिकी हेलिकोप्टर दुर्घटना नै सम्झिरहेकी थिइन् । कविताले अमेरिका फर्किनु एक दिनअघि दूतावासअगाडि आफ्नो सेना प्रवेश कथा सुनाएकी थिइन् । हसिली मुद्राकी उनी निकै कम बोल्दै थिइन्, त्यो पनि अड्कली–अड्कली । कुनै बेला उनी आफू मात्र बोलिरहने रेडियोको जागिरमा थिइन् । उनले भनिन्, ‘अब अधिकृतको रूपमा बढुवा हुन सके पेन्सन पकाउन्जेल यही पेसामा रहिन्छ । यदि त्यस्तो हुन नसकेमा केही वर्षपछि अर्काे जागिरमा जाने योजना छ ।’

सेनामा जागिर खान घरपरिवारबाट कुनै रोकावट नआएको उनले बताइन् । उनका बुवा रामबहादुर विष्ट कांग्रेस नेता हुन् । ‘बुवा लामो समयदेखि राजनीति गर्ने भएकाले हामी सधैं आमामा नै निर्भर थियौं,’ उनले भनिन्, ‘मेरो दाइ नेपाली सेनामा रहेको कारण पनि आफूलाई अमेरिकी सेनामा जागिर हुने विषय उठाउँदा घरमा सहज भएको हो ।’ कविता अविवाहित छन् । ‘घरजम गर्ने विषयमा पनि सोच्दैछु, हेरौं के हुन्छ,’ उनले सुनाइन् ।

उनले सिपाहीको दर्जा ई थ्रीबाट आफ्नो सेनाको जागिर आरम्भ गरेकी हुन् । ‘इ–वान’ र ‘इ–नाइन’ सम्म सिपाहीको स्तरमा हुनेछ । तर ‘ओ–वान’ र ‘ओ–टु’ अधिकृत स्तर हुन्छ । ‘एअर फोर्स, नेभी, मोरिन र अमेरिकी आर्मी भन्ने छ तर म अमेरिकी सेनामा हुँ,’ उनले भनिन्, ‘सेनाको सबै अभ्यास नियमित नै छ । म यो अभ्यासबाट कत्ति पनि बाहिर हुन चाहन्नँ ।’ सानोमा अग्लो स्थानबाट हामफाल्न डर लाग्ने उनी अहिले आँटिली भएकी छन्, प्याराजम्प गर्नसमेत डर नमान्ने । ‘म पहिलोपटक प्याराजम्पमा दुर्घटनामा परें । ज्याकेटको एक बटम खोल्न नसक्दा समुद्री किनारमा राम्रैसँग घस्रिएँ । तैपनि हिम्मत हारिनँ,’ उनले सुनाइन् ।

सन् १७७५ देखि महिलाले स्थान पाएको अमेरिकी राष्ट्रिय सेनामा नेपाली चेलीहरू पनि थपिंदैछन् ।

स्वेता लामिछाने । काठमाडौंकी एलिजा रञ्जित (२६) लाई ६ वर्षअघिसम्म संयुक्त राज्य अमेरिका एउटा सपना थियो । अहिले उनी यो स्वप्नदेशको राष्ट्रिय सेनामा छिन् । आफूलाई नेपाली नामबाट चिनाउँदै अर्कै देशको सेनामा काम गर्नुलाई बाध्यता नभई रहरको विषय मान्ने एलिजा भन्छिन्, “यो अवसर मेरा लागि चुनौती पनि हो ।”

एक वर्षअघि अमेरिकी सेनामा छनोट भएकी पीएफसी दर्जाकी उनी आमनागरिकको भन्दा भिन्न सैनिक जीवनमा चौबीसै घण्टा ‘अलर्ट’ अर्थात् ड्युटीमा रहनुपर्ने भएकोले निजी जीवनका स्वतन्त्रताहरू सीमावद्ध हुने बताउँछिन् । “यस्तोमा कहिलेकाहीं अति धैर्य चाहिन्छ”, एलिजा भन्छिन् ।

आठ वर्षअघि अमेरिकी सैनिक भएकी श्वेता लामिछाने (२८) ले भने रहरले नभई वाध्यताले यो पेशामा आएको बताइन् । उनी अमेरिकामा काम गर्दै अध्ययनलाई अगाडि बढाउन कठिन भएपछि सेनामा भर्ति भएकी थिइन् । सानैदेखि अभिनयमा रुचि भएकी श्वेतालाई भर्तिपछिको एकवर्ष साह्रै नियास्रो लाग्यो । “बिहानदेखि बेलुकासम्म शारीरिक प्रशिक्षणमा व्यस्त हुनुपर्ने शुरुका दिनहरू ज्यादै कठिन रहे”, एक दिन पनि एक वर्षजस्तै भएको बताउँदै करपोरल श्वेता भन्छिन्, “घरपरिवारको यति याद आउँथ्यो कि छिनछिनमै आँखाहरू आँसुले भरिन्थे ।”

शुरुको त्यो अनुभवले सैनिक जीवनमा आफूलाई मजबुत बनाएको उनको अनुभव छ । सैनिक जीवनले पाँचौं वर्ष प्रवेश गरेसँगै श्वेताले आफ्नो रुचिको अभिनय कलालाई पनि अँगालिन् । नाटक विधामा हलिउडसँग जोडिन खोजिरहेकी श्वेता मातृभूमिको सेवाका लागि ‘केयर फर कर्णाली’ संस्थामा पनि आवद्ध छिन् । “अहिले लाग्छ, अमेरिकी सेनामा भर्ति हुने मेरो निर्णय सही थियो”, श्वेता भन्छिन्, “सहज हुन सकियो भने आर्मीजस्तो राम्रो पेशा अरु केही छैन ।

प्रेसिका चौधरीको रातो घेरामा ।

श्वेताका अनुसार अमेरिकी सेनामा प्रवेश गर्ने उनी नै पहिलो नेपाली महिला हुन् । काठमाडौंबाट सान्तारोसा आएकी प्राश्ना श्रेष्ठ (२०) चाहिं अमेरिकी मरिन बन्ने सम्भवतः सबभन्दा पछिल्लो नेपाली युवतीमा पर्छिन् ।

आठ महिनाअघि सैनिक बनेकी उनले अहिले धेरै कुरा सिकिरहेको बताइन् । यसैगरी अफगानिस्तानबाट भर्खरै फर्केकी प्रेसिका चौधरी (२१) ले पनि अनलाइन संवादमा भनिन्, “सेनामा जहिल्यै जहाँ गए पनि काम लाग्दो नयाँ कुरा सिकिन्छ । अमेरिकाको माउन्टेन भ्यूदेखि अफगानिस्तानको कान्दाहारसम्मको यात्रामा मेरो अनुभव यस्तै छ ।”

एलिजा रञ्जित । त्यस्तै, पाँच वर्षअघि अमेरिकी मरिन बनेकी सोलुखुम्बुकी फुर्वा याङ्जी शेर्पा (२७) ले सैनिक जीवन सुख र दुःख दुवैले भरिभराउ हुने अनुभव सुनाइन् । उनका अनुसार सैनिक जीवनमा कुन बेला कुन दुःख र कुन बेला कुन मस्तीको मोड आउँछ पत्तो हुन्न । “दुःख र मस्ती दुवैमा सहकार्य हुन्छ”, फुर्वाले भनिन्, “टीममा एकले अर्कालाई स–सम्मान सघाउने परम्परा छ ।”

फुर्वा याङ्जी शेर्पा । चुनौती र अवसरको संसार मानिने अमेरिकी सेनामा हाल करीब १५ प्रतिशत महिला कार्यरत छन् । तीमध्ये ९० प्रतिशत मेडिकल विभागमा छन् ।

चिनियाँ मूलकी कोरल पिट्च अमेरिकी सेनाको जनरल अफिसर तहबाट निवृत्त भएकी थिइन् । पछिल्लो समय २०–२५ वर्ष उमेर समूहका करीब डेढ दर्जन नेपाली युवती अमेरिकी सेनामा कार्यरत छन् । उनीहरूमध्ये धेरैजसोले मेडिकल विभागभन्दा बढी जोखिमपूर्ण सेवाको क्षेत्र रोजेका छन्