काठमाडौं, जेठ १७ – काठमाडौं महानगरपालिकाको पहिलो बोर्ड बैठकले काठमाडौंलाई सफा राख्ने ‘क्लिन द सिटी’ अभियान सुरु गर्ने निर्णय गरेको छ ।
महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीले पदभार ग्रहण गरेपछि बुधबार बेलूकी बसेको पहिलो बोर्ड बैठकले काठमाडौंलाई सफा राख्न ‘क्लिन द सिटी’ अभियान सुरु गर्ने, बिहानै सबै फोहोर व्यवस्थापन गरिसक्ने, नेपालीसंगै नेपाल भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउने लगायतका विषयमा निर्णय भएको महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले जानकारी दिनुभयो ।
मेयर शाक्यले बिहीबार नै काठमाडौंको बासबारीबाट आफै सडकमा आएर सफाई अभियानको सुरुवात गर्नुहुनेछ । सफाई अभियानका क्रममा विदेशबाट धुलो हटाइने प्रविधि ल्याएर प्रयोग गरिने र मास्क नलगाएरै हिँड्न सकिने गरि सडक सफाई गरिने पनि उहाँले बताउनुभयो ।
साथै बैठकले ८० वर्ष पुगेका वृद्ध र ७५ वर्ष उमेर पुगेका वृद्धालाई वार्षिक १२ हजार रुपैयाँ भत्ता दिने दिने र उनीहरुको नियमित स्वास्थ्य चेकजाचँका लागि घरमै चिकित्सक पठाउने निर्णय पनि बैठकले गरेको छ ।
यस्तै बैठकले महानगरका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय क्षेत्रका सम्पदा र सार्वजनिक स्थलमा निशुल्क वाइफाइको व्यवस्था पनि गर्ने भएको छ । यस्तै पर्याप्त मात्रामा सार्वजनिक शौचालय निर्माण गर्ने र आधुनिक शहर निर्माण तथा सबै सरकारी कार्यालयको सेवा सुविधा छिटो छरितो बनाउन पनि निर्देशन दिने निर्णय गरेको छ ।