जेष्ठ २४, २०७४- एक दशकदेखि कतारमा कार्यरत गोरखाका रितेश ढकाल मंगलबार त्यहाँका मुख्य पाँच सुपरमार्केट पुगे । लुलु, क्यारिफोर, अलमिरा, सफरी मल, फ्यामेली फुड सेन्टर, क्वालिटी हाइपर मार्केटमा उनले अघिल्लो दिनजस्तो भीडभाड भने देखेनन् ।
साउदी अरबलगायत ७ देशले कतारसँग कूटनीतिक सम्बन्धविच्छेद गरेको सूचना फैलिएलगत्तै सोमबार यिनै सुपरमार्केटमा सामान किन्नेको घुइँचो थियो । सबैले एकैचोटि जोगाड गर्नतिर लाग्दा पछि पुग्नेलाई खाद्यान्न अभाव भएको थियो । ‘रित्तै भइसकेका यी सुपरमार्केट मंगलबार भने भरिभराउ भइसकेका छन् । चामल, पिठो, अन्डाजस्ता सामान टन्नै छ,’ ढकालले टेलिफोनमा कान्तिपुरसँग भने, ‘उपभोक्ताहरूमा पनि अभावको चिन्ता हटेको देखियो ।’
उनले अलमिरा मार्केटमा भने टर्कीबाट ल्याइएको दूध देखेको बताए । ‘कतारमा साउदीबाट मात्रै दुध आउने गथ्र्यो । एक दिन पनि अभाव नहोस् भनेर टर्कीबाट ल्याइसकिएछ,’ उनले भने, ‘मिनरल वाटर र तरकारी पनि थिए ।’
खोटाङका प्रेमप्रसाद भट्टराई मार्केटमा सामान खरिद गर्न गएका छैनन् । ‘परिवार भएका, रेस्टुरेन्ट व्यवसायी र क्याटरिङ सञ्चालकले भण्डार गर्न बढी सामान खरिद गरे । हामीजस्ता कामदारलाई धेरै भण्डार गर्न जरुरी थिएन,’ उनले भने, ‘हिजो हामी निकै डरायौं तर आज (मंगलबार) मन हलुको भएको छ ।’
कतारको अर्थ व्यवस्था तथा वाणिज्य मन्त्रालयले खाद्यान्न पर्याप्त मात्रामा रहेको र मूल्यमा तलमाथि नहुने भन्दै पटकपटक दोहोर्याइरहेकाले चिन्ता नलागेको भट्टराईले बताए । ‘हामी जस्ता आप्रवासीको जीवन सामान्य छ । धेरै चिन्ता हटेको छ,’ उनले भने, ‘बरु नेपालमा भएका परिवार, आफन्त बढी चिन्तित भएका छन् । यताको विषयलाई लिएर आत्तिनुपर्दैन,’ उनले टेलिफोनमा भने । कतारको वाणिज्य मन्त्रालयले पनि साउदीको बोर्डर बन्द हुँदैमा खाद्यान्न अभाव नहुने जनाएको छ । कतारमा २६ लाख जनसंख्यामध्ये झन्डै ४ लाख नेपाली कामदार छन् । ‘के होला जस्तो थियो, सबै साथीभाइ आआफ्ना काम सामान्य रूपमा गरिरहेका छन्,’ झापाका महेश सुनारले भने, ‘कम्पनीले पनि केही हुँदैन, आफ्नो काम गर भनेको छ । हामी काममै व्यस्त छौं ।’ कतारको मन्त्रिपरिषद् बैठकले पनि त्यहाँको अर्थतन्त्र तथा नागरिक र आप्रवासीको दैनिक जनजीवनमा असर पर्न नदिने जनाएको छ ।
Tuesday, June 6, 2017
कतारका नेपाली भन्छन्—‘आत्तिनुपर्ने अवस्था छैन’
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News