Breaking

Saturday, June 10, 2017

विदेशमा बनाएको लाइसेन्स नेपालीकरण गर्दै हुनुहुन्छ ? यस्तो छ प्रक्रिया


विदेशमा चालकको कमाई राम्रो हुने भएकोले हजारौँ नेपालीहरु सवारी चालकको रुपमा कार्यरत छन्।

कुटनीतिक नियोगहरुमा काम गर्ने, सामान डेलिभरी गर्ने लगायत कामका लागि सम्वन्धित देशकै लाइसेन्स चाहिन्छ।

विदेशमै लाइसेन्स बनाएका तथा क्याटोगरी (वर्ग) थपेकाहरुले नेपालमा आएर पुनः सवारी चलाउनु परेमा भने यहाँकै लाइसेन्स जरुरी पर्ने सवारी चालक अनुमतिपत्र कार्यालय वागमती अञ्चलका सूचना अधिकारी ईश्वरराज रेग्मीले जानकारी दिए।

आवश्यक कागजात भएपछि यातायात कार्यालय वागमती अञ्चलले विदेशी लाइसेन्सलाई सहजै रुपमा नेपालीकरण गरिदिन्छ। त्यसका लागि भने केही कागजात जुटाउनुपर्ने उनले बताए।

लाइसेन्स नेपालीकरण गर्न चाहनेले लाइसेन्स जारी भएको मुलुकको नेपालस्थित राजदूतावासबाट उक्त लाइसेन्स प्रमाणीकरण गरेको कागज बनाउनुपर्दछ। रेग्मीले भने ‘दूतावासमा गई एउटा फारम भरेपछि प्रमाणीकरणको निस्सा दिइन्छ, त्यो जरुरी हुन्छ।’

त्यस्तै भिसा लगेको पासपोर्ट र स्मार्टकार्ड (लाइसेन्स)को सक्कल प्रतिलिपी, फोटो र हुलाक टिकट सहित सवारी चालक अनुमतिपत्र कार्यालयको प्रशासन शाखामा बुझाउनुपर्दछ।

त्यहाँबाट कागजपत्र सदर भएपछि नयाँ स्मार्ट कार्डको लागि अर्को शाखामा फोटोको कार्य गरिन्छ।
व्यक्ति स्वस्थ रहे नरहेको वा ड्राइभिङका लागि शारीरिक योग्य भए नभएको सामान्य स्वास्थ्य परीक्षण गरेपछि मात्रै लाइसेन्सका लागि स्वीकृत गरिने रेग्मीले बताए।

यी परीक्षण पास भइसकेपछि ‘इन्ट्रान्स फि’ बुझाउनुपर्दछ। रेग्मीका अनुसार एउटा क्याटोगरीको इन्ट्रान्स फि ५ सय रुपैयाँ तोकिएको छ।

फि बुझाएपछि स्मार्ट कार्डको छुट्टै राजस्व तिर्नु पर्छ। जसमा क्याटोगोरी ‘ए’को १५ सय, ‘बि’ को २ हजार, ‘एफ’को २५ सय र ‘जी’ को ३ हजार रुपैयाँ तोकिएको छ।

राजस्व भुक्तानी भइसकेपछि लाइसेन्स नम्बर जारी हुन्छ। लाइसेन्स नम्बर जारी भएपछि नम्वरसहितको रसिद तपाईंलाई थमाइन्छ र लाइसेन्स लिन जाने मिति पनि तोकिइन्छ।

विदेशमा लाइसेन्स बनाएकाले नेपालमा ट्रायल दिइराख्नु पर्दैन। ‘सामान्यतः ट्रायल दिनु पर्दैन तर कार्यालयलाई शंका लागेको खण्डमा भने सवारी चलाएरै देखाउनुपर्छ’ रेग्मीले भने।

त्यस्तै विदेशी नागरिकको हकमा विदेशको पासपोर्ट र सोमा लागेको गैर पर्यटकीय भिसाको सक्कल र प्रतिलीपी दुवै, गैर आवासीय नेपालीको हकमा निजको पासपोर्ट, भिसा र नेपाल सरकार तथा आधिकारीक निकायबाट स्वीकृत गरिएको गैर आवासिय नेपाली परिचयपत्र पनि चाहिने उनले बताए।