Breaking

Friday, June 9, 2017

खाडीमा कूटनीतिक संकट

जेष्ठ २६, २०७४- पाँचथर फिदिमका राजन श्रेष्ठलाई कतारसँग साउदी अरबसहित ७ देशले कूटनीतिक सम्बन्ध विच्छेद गरेको घटनाले निकै पीडा महसुस गराएको छ। त्यसमाथि जमिन जोडिएको एकमात्र मुलुक साउदीले सीमा नै बन्द गरिदिंदा उनी थप चिन्तित छन्। उनलाई लागेको छ, ‘ती देशले कतारलाई होइन कि आफूमाथि नै नाकाबन्दी लगाएका छन्।’

नेपाल र कतारको झन्डा राखेर उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘म कतारको साथमा छु।’ कतारमा कार्यरत नेपालीले कतारको पक्षमा यस्तो अभियान नै चलाएका छन्। ‘११ वर्षदेखि कतारमा कार्यरत छु। परिवार यहीँ छ। मेरा दुई छोरी यहाँ नै पढ्छन्। यो मेरो दोस्रो घर हो,’ उनले भने, ‘नेपालमा जन्मे र हुर्कें। भविष्य यहाँ नै आएर बनाएँ। यहाँ जे हुन्छ, त्यो हाम्रो जीवनसँग प्रत्यक्ष जोडिन्छ।’
फिदिम पाँचथरका राजन श्रेष्ठको परिवार नेपाली झन्डासहित कतारप्रति ऐक्यबद्धता जनाउँदै।
स्याङ्जाका टुकराज अर्याल कतार बस्न थालेको १८ वर्ष पुग्दै छ। कतारमाथि खाडीका छिमेकी देशले लगाएको हवाई तथा स्थल नाकाबन्दीका विरुद्ध उनी पनि उभिएका छन्। ‘नेपालमा भारतले नाकाबन्दी गर्दा जति दु:खी थिएँ। अहिले त्यस्तै महसुस भएको छ,’ एउटा कम्पनीको वरिष्ठ लेखा अधिकृत रहेका अर्यालले भने, ‘मैले आफ्नो क्षमता यहाँ आएर देखाउन पाएँ। यहाँ नै काम गरेर ३२ भन्दा बढी राष्ट्र देख्न पाएँ। आफ्नो श्रम पसिना बगाउँदा दुई पुस्तासम्म आउने सन्ततिलाई पुग्ने व्यवस्था गरिसकेको छु।’ अर्याल कतारसँग नेपाली कामदारको भविष्य पनि जोडिएको ठान्छन्। ‘स्वदेशमा रोजगार पाएको भए यहाँ आउनु पर्दैनथ्यो। आइसकेपछि यो थलोको माया निकै लाग्दो रहेछ। किनकि हाम्रो भविष्य पनि यो देशसँग जोडिन पुग्यो,’ उनले भने, ‘म गाउँ फर्किंदा निकै आनन्द लाग्छ। किनभने मेरो गाउँका अधिकांश युवा यही काम गर्छन्। जसले गाउँकै आर्थिक अवस्था बलियो भएको देख्छु।’ कतार सरकारले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो समय कतारमा ४ लाख ६ हजार ९ सय नेपाली कार्यरत छन्। २२ वर्षदेखि कार्यरत स्याङजाका गुरुनारायण रानाभाटलाई कतार नेपाल बाहिरको अर्को नेपाल लाग्छ। ‘यहाँ हरेक वडावडाबाट आफ्नो रोजीरोटीका लागि आएका छन्। सबैले केही न केही सपना बोकेका छन्। कतिको सोचेको भन्दा राम्रो भएको छ। कतिलाई सोचेको भन्दा नराम्रो पनि भइदिएको छ,’ उनले भने, ‘कतारीहरूभन्दा पनि नेपाली बढी छन्। यो समस्या कतारी जनतासँग मात्रै जोडिएको छैन कि हामीसँग पनि जोडिन पुगेको छ।’
७ महिनाअघि सवारी चालकको काम गर्न पुगेका काभ्रेका सोभितसिंह स्याङतानलाई पनि बदलिँदो परिस्थितिले चिन्तित बनाएको छ। यद्यपि उनलाई घटना विवरण त्यति थाहा छैन। ‘म धेरै कुरा बुझ्दिनँ। काम गर्न आएको हुँ। मेरो काम नखोसियोस् भन्ने कामनामात्रै गर्छु,’ उनले भने।

नेपाली दूतावासले कतारी निकाय र नेपाली समुदायसँग निरन्तर सम्पर्क गरिरहेको जनाएको छ। ‘नेपालीको रोजगारी र चासोका लागि हामी निरन्तर सम्पर्कमा छौं,’ दूतावासका उच्च अधिकारीले भने, ‘तत्काल कुनै समस्या आउने अवस्था देख्दैनौं।’

कतारले पनि कुनै समस्या आउन नदिन आफ्ना संयन्त्रलाई सक्रिय बनाएको छ। नागरिक र आप्रवासीलाई आश्वस्त बनाउने प्रयास गरिरहेको छ। कतार चेम्बर अफ कमर्सका अनुसार कतारसँग आगामी १२ महिनासम्म पुग्ने खाद्यान्न छ। ‘हामीसँग १२ महिनासम्म पुग्ने खाद्यान्न भएकाले कुनै चिन्ता लिनुपर्दैन,’ चेम्बर अफ कमर्सका अध्यक्ष शेख खालिफा विन जास्सिम विन मोहम्मद अल–थानीले भने, ‘कतारमा कहिल्यै पनि खाद्यान्नको अभाव हुने छैन। कतारले ९५ प्रतिशत खाद्यान्न र सामान हवाई तथा समुद्री मार्गबाट ल्याउने गरेको छ।’

बदलिँदो परिवेशअनुसार कतारमा खाद्यान्न आपूर्ति गर्ने ४० ठूला कम्पनीसँग थप सहजीकरण भइरहेको उनले बताए। छिमेकी देश साउदी अरबले सीमा बन्द गरेपछि चेम्बर अफ कमर्सले खाद्यान्न आपूर्ति सहज बनाउन थप ३ देश र आपूर्तिकर्तासँग सम्झौता गर्ने जनाएको छ। त्यसका लागि चेम्बर अफ कमर्सका प्रतिनिधि र खाद्यान्न आपूर्तिकर्ता कम्पनी संलग्न संयुक्त समन्वय समिति बनाइएको छ। ‘उपभोग्य वस्तुको आपूर्ति बढाउन प्रमुख आयातकर्तासँग सम्झौता भइसकेको छ। आवश्यक सम्पूर्ण विकल्प प्रयोग गरिसकिएको छ,’ विज्ञप्तिमा भनिएको छ।