काठमाडौं, जेठ २६ – इर्साद अन्सारी ६ वर्ष पूरा भए । तर उनी अहिलेसम्म विद्यालय गएका छैनन् । उनलाई अरु बच्चालाई जस्तो क ख ग घ र ए बि सि डि पढ्न आउँदैन । उनको पनि रहर छ विद्यालय गएर अरु बच्चा जस्तै रमाउने । उनलाई मात्र होइन, बुबा अम्जद अन्सारी र आमा सवाना खातुनलाई पनि आफ्नो छोरालाई विद्यालय पठाउने रहर छ । छोराले क ख पढेको सुन्न मन छ । तर उहाँहरुको यो ईच्छा पूरा हुन सकेको छैन । कारण हो, इर्साद जन्मजात आँखा देख्दैनथे ।
जन्मदा सामान्य रहेका इर्सादका बुबाआमालाई लागेको थियो छोरा पूर्णरुपमा स्वस्थ छ । तर हिँड्ने खेल्ने बेला भएपछि भने भने छोरा क्रियाकलाप देखेर अम्जद अन्सारीलाई शंका लाग्यो । ‘केही खेल्ने कुरा दियो भने त्यो भन्दा अरु नछुने, अरु कुरा नदेखे जस्तो गथ्र्यो’ अन्सारीले भन्नुभयो ‘अनि डक्टरलाई देखाउन लगेको छोरालाई मोतिबिन्दु भएको छ भन्यो ।’
चितवानको नाराणगढमा फर्निचर पसल खोलेर बस्नुभएका अन्सारीलाई छोराले पछि आँखा नदेख्ने हो की भन्ने पीर लाग्न थाल्यो । ‘त्यतिबेला मैले चितवनकै थुप्रै अस्पतालहरुमा छोराको उपचारको लागि धाएँ, त्यहीँको डाक्टरले काठमाडौंको आँखा अस्पतालमा लैजाउ भनेपछि यता आएको हुँ’ उहाँले भन्नुभयो ।
महिनादेखि उहाँ नारायणगढ र काठमाडौ ओहोरदोहोर गरिरहनुभएको छ । दुवै आँखा मोतिबिन्दु भएको छोराको उपचारका लागि । त्रिपुरेश्वरको आँखा अस्पतालमा भेटिनुभएका अम्जद र सवाना पछिल्लो समय छोराको मोतिबिन्दुको सफल शल्यक्रियापछि जाँच गराउन आउनु भएको हो । दुई महिना अगाडि इर्सादको आँखाको सफल शल्यक्रिया भएको थियो । छोराले पढ्न नसके पनि आँखा देख्न सकेकोमा अम्जद र सवाना खुशी हुनुहुन्छ । अब विद्यालय राखिदिने पनि उहाँहरुको सोंच छ ।
खासगरी बुढ्यौली लाग्दै गएपछि मोतिबिन्दु देखिने आँखा रोग विशेषज्ञ डाक्टर अरुणप्रसाद ढुङ्गानाले बताउनुभयो । तर कहिलेकाहीँ बच्चालाई आमाको गर्भदेखि नै यस्ता खालका रोग लाग्न सक्ने उहाँले बताउनुभयो । ‘ठ्याक्कै यही उमेरमा मोतीबिन्दु हुन्छ भन्ने छैन’ उहाँले भन्नुभयो ‘यो सबै उमेरका मान्छेमा देखिन्छ तर विशेषगरी उमेर बढ्दै जाँदा आँखामा मोतिबिन्दु देखिंदै जान्छ ।’ तर बच्चामा जन्मजात नै मोतिबिन्दुको समस्या देखिनु बढी खतरा हुने उहाँको भनाई छ । ‘आमाले प्रसस्त मात्रामा पौष्टिक आहार नखानु तथा डाक्टरको सल्लाह बिना नै औषधी खानुले पनि बच्चामा मोतीबिन्दुको संभावना रहन्छ’ उहाँले भन्नुभयो ।
बच्चा गर्भमा आएदेखि नै गरिने एक्सरेको विकिरणले पनि असर गर्नसक्छ । औषधीको असर बच्चामा देखिन सकिने पनि उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार मोतीविन्दुको समयमा नै उपचार गराउन सकिएन भने बच्चालाई पनि जलविन्दु हुने सम्भावना बढी रहन्छ ।
सानो उमेरका बच्चाहरुमा मोतिबिन्दु देखियो र समयमा नै उपचार हुन पाएन भने बच्चाको उमेर बढ्दै जाँदा आँखा अल्छी हुँदै जान्छ । समयमा नै मोतिबिन्दुको पहिचान गरेर शल्यक्रिया गर्नुपर्छ । ‘बच्चामा यस्ता खालका समस्या देखिए समयमा नै शल्यक्रिया गर्नुपर्दछ’ उहाँले भन्नुभयो ।