Breaking

Monday, June 12, 2017

एक किलोमिटर सडकमा ८ ठाउँमा जेब्राक्रस !

मदन पौड्याल/उज्यालो ।

काठमाडौं, जेठ २९ – काठमाडौं उपत्यकामा प्रहरीले जथाभावी बाटो काटेको भन्दै पैदल यात्रुबाट जरीवाना उठाउन थालेपछि यसबारे थरीथरीका बहस भइरहेका छन् । प्रहरीले ठिक गर्‍यो भन्नेहरु पनि छन् । बेठिक गर्‍यो भन्नेहरु पनि उत्तिकै छन् । पहिले पैदलयात्रुको सुरक्षालाई ध्यान दिएर मात्र नियम कार्यान्वयन गर्नुपर्ने माग बढि उठेको छ । तर जेब्राक्रस कुन ठाउँमा बनाउनुपर्छ भन्नेमा सम्बन्धित निकायलाई नै राम्रोसँग थाहा छैन ।

संसदको विकास समितिले शुक्रबार सडक पूर्वाधारबारे छलफल गर्दा दुईसय मिटर दूरीमा कि १ सय ५० भनेर सांसदहरुले सोधीखोजी गर्दैथिए । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामाले फ्याटै १ सय २० मिटरमा राख्ने भनेपछि समितिले निर्देशन दियो, १ सय २० मिटरमा जेब्राक्रस राख्नु भनेर ।

यो निर्देशन कार्यन्वयन गर्ने हो भने १ किलोमिटर सडकमा कम्तिमा ८ ठाउँमा जेब्राक्रस हुनुपर्छ । जताततै जेब्राक्रस भए पैदलयात्रुलाई त पक्कै सहज हुन्छ । तर सडकमा गाडी पनि गुड्नुपर्छ । चालकले पनि उसैगरी सास्ती खेप्नुपर्छ ।

जेब्राक्रसको मापदण्ड के हो ? १ सय मिटरको फरकमा कि २ सय अथवा ३ सय मिटरको फरकमा । गाडी चालक भन्छन्, यसरी जेब्राक्रस बनाउने हो भने आधा घण्टाको बाटो पार गर्न डेढ घण्टा लाग्छ । त्यसमाथि जाम घट्ने होइन झन् बढ्छ ।

२०५२ सालदेखि काठमाडौंको सडकमा ट्याक्सी चलाउँदै आएका भिमबहादुर राई भन्नुहुन्छ, ‘जेब्राक्रस चाहिन्छ तर दूरीको मापदण्ड हुनुपर्ने हो । जावलाखेल चोकबाट एकान्तकुना ५ सय मिटरको दूरी होला, अहिले ५ मिनेट पनि लाग्दैन । तर यति नजिकको दूरीमा ४ ठाउँ जेब्राक्रस हुने हो भने त आधा घण्टा लाग्छ । यता न्यूरोड जाने हो भने त झन् दुई घण्टा । गाडी नै नचलाए भयो हैन र ?’
अहिले काठमाडौं उपत्यका भित्रका सडकमा चाहिनेजति जेब्राक्रस छैनन् । भएका पनि मेटिएका छन् । संसदको विकास समितिले ७ दिनभित्र मापदण्ड बनाउन र १५ दिनभित्र आवश्यक जेब्राक्रस बनाउन निर्देशन दिएको ४ दिन बितिसकेको छ । कम्तीमा १ सय २० मिटरको दूरीमा एक जेब्राक्रस राख्न सडक विभाग, यातायात व्यवस्था विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रतिबद्धता पनि जनाएका छन् ।

सडक पूर्वाधारको छलफलमा सहभागी सम्वन्धित निकायका पदाधिकारीले कुन ठाउँमा/कति दूरीमा जेब्राक्रस हुनुपर्ने हो भनेर सोधिखोजी गरेनन् । बुझ्दै नबुझी समितिले दिएको निर्देशन कसरी कार्यान्वयन गर्ने भनेर अहिले सडक विभाग, यातायात व्यवस्था मन्त्रालय र स्वंयम ट्राफिक प्रहरी नै अन्यौलमा परेका छन् । अन्यौलमा पर्नु स्वभाविक पनि हो किनभने निर्णय नै हचुवामा आएको थियो । बोल्न सजिलो छ, तर कार्यान्वयन गर्न जताततै समस्या ।

जेब्राक्रसबाट बाटो काट्न बानी लगाउने ट्राफिक प्रहरीको अभियान राम्रै हो । किनभने जेब्राक्रस पैदलयात्रुको सुरक्षासँग जोडिएको छ । तर निर्देशन दिनुअघि १ सय २० मिटरको दूरीमा जेब्राक्रस राख्दा हुने अप्ठारोबारे सम्बन्धित निकायका पदाधिकारीले बहस गरेनन् । हचुवाकै भरमा निर्देशन दिए । सडकको चोक, गाडीको चाप बढी हुने तथा यात्रु चढ्ने र झार्ने ठाउँ अनि विद्यालय, अस्पताल जस्ता क्षेत्रमा १ सय २० मिटरको दूरी पनि धेरै हुन सक्छ । तर सडकै भरी १ सय २० मिटरको दूरीमा जेब्राक्रस राख्न लगाउनु व्यवहारिक छैन भन्नुहुन्छ, ललितपुरका ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथु ।
पैदल यात्रुलाई सहज रुपमा सडक वारपार गर्न आवश्यक ठाउँमा जेब्रा क्रस, आकाशे पुल र अण्डरग्राउण्ड बनाउनुपर्छ यसमा कुनै दुई मत छैन । प्रहरीको तथ्यांक अनुसार दुर्घटनामा बढी ज्यान गुमाउनेमा पैदलयात्रु छन् । त्यसैले सडकमा आवश्यक पर्ने ठाउँमा जेब्राक्रस बनाउनुपर्छ । तर कतिपयलाई जेब्राक्रस भनेको के हो भन्ने समेत थाहा छैन । त्यसैले जेब्राक्रसको प्रयोगबारे जनचेतना जगाउनुपर्छ । अनि पैदल यात्रुको सुरक्षाको लागि आवश्यकता हेरी जेब्राक्रस पनि राख्नुपर्छ ।