Breaking

Monday, June 12, 2017

म सुन्दरी मात्र होइन–मिस नेपाल निकिता चण्दक

निकिता चण्दक, यसवर्षकी मिस नेपाल । मोरङ उर्लाबारीकी २० वर्षिया निकिता मोडलिङ सुरु गरेको साढे एक वर्षमै मिस नेपाल बन्न सफल हुनुभएको हो । कालो वर्णकी निकितामा ठूलो आत्मविश्वास छ ।
अघिल्लो हप्ताको शुक्रबार भएको मिस नेपालको अन्तिम प्रतिष्पर्धामा प्रमुख निर्णायक नेपाल राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जीवी नेपालले ७ जना फाइनल प्रतियोगीलाई ‘तपाईंको विचारमा एउटी नारीले देशको आर्थिक विकासमा कस्तो भूमिका खेल्न सक्छिन् ? भनेर सोधेको प्रश्नमा जवाफ दिने क्रममा निकिताको आत्मविश्वास प्रशंसायोग्य थियो । उहाँले समाजसेवी अनुराधा
कोइरालालगायत विभिन्न सक्षम र प्रतिभाशाली महिलाको उदहारण पेस गर्दै अर्थतन्त्रमा महिलाको भूमिका अहम् हुने बताउनुभयो ।

मिस नेपाल भैसकेपछि निकिताको व्यस्तता बढेको छ । जहाँ पुग्दा पनि उहाँलाई धेरैले चिन्छन् । सँगै बसेर फोटो खिचाउन र अटोग्राफ लिन खोज्छन् । यस्तै व्यस्तताबिच भेटिनुभएकी मिस नेपाल निकितासँग हामीले छोटो कुराकानी गरेका छौं ।

मिस नेपाल हुनुभन्दा पहिले र अहिलेमा के फरक पाउनुभयो ? 

सेलब्रेटी किसिमको जिन्दगी भएको छ । फ्यानहरु बढेका छन् । उतरदायित्व तथा जिम्मेवारी बढेको छ । नेपालको नाम लिएर अन्तर्राष्ट्रिय मञ्चमा गएर देशका शान देखाउने अवसर भएकाले ठूलो खुशी लागेको छ ।

मिस नेपाल प्रतियोगितालाई धेरैले सुन्दरी प्रतियोगिता भनेर बुझ्छन् । तपाईं सबैभन्दा सुन्दर युवती होे ?

मलाई त्यस्तो लाग्दैन । मिस नेपाल भनेको सुन्दरी मात्र नभई प्रतिभाशाली पनि हो । म सुन्दरी मात्र होइन । सुन्दरी मात्र हेरेको भए प्रतिभाको राउण्ड पनि हेरिंदैनथ्यो । बाहिरी सुन्दरता मात्रै होइन, भित्री प्रतिभा र क्षमताले मलाई यहाँसम्म ल्याइपुर्याएको हो ।

तपाईंभित्र त्यस्तो के छ र अरु प्रतियोगीलाई पछि पार्दै मिस नेपाल बन्न सफल हुनुभयो ?

सबैजना म जस्तै प्रतिभाशाली थिए । सबैमा उस्तै क्षमता थियो । हामीले सबैले हरेक राउण्डमा सफलता हासिल गर्दै अन्तिम प्रतिष्पर्धासम्म आइपुग्यौं । अन्तिम र निर्णायक प्रश्नको उत्तर दिने क्रममा निर्णायकलाई मेरो विचार ठीक लाग्यो होला र मलाई चयन गर्नुभयो ।

पहिले पहिलेका मिस नेपाल आफ्नो नाम घोषणा हुने बित्तिकै भावुक हुन्थे । तर तपाईं भावुक हुनु भएन । यति धेरै आत्मविश्वास कसरी आयो ?

त्यो दिन बिहानदेखि मैले अरु केही सोचेकै थिइन । धेरै उत्साहित पनि थिइन, डराएको थिइन । प्रश्नको उतर दिनको लागि ढुक्क थिएँ । त्यसैले मलाई भावुक बनाएन ।

मिस नेपाल भएपछि के गर्न सक्छु जस्तो लागेको छ ?

नयाँ भएकोले त्यति थाहा छैन् । अहिले अन्तर्वार्ता भैरहेका छन् । के कसरी गर्ने योजनाहरु बनाइरहेका छन् । योजना बनाएर अघि बढ्ने प्रयासमा छु । समाजमा सकारात्मक काम गर्नको लागि पहिला आफैंबाट सुरु गर्नुपर्छ । आफैं एउटा उदाहरण बन्न सक्नुपर्छ  । सेलिब्रिटीको कुरा अरुले सुन्छन् पनि । त्यसैले पक्कै नयाँ केही गर्न सक्छु जस्तो लाग्छ ।


तपार्इंले मारवाडी समुदायबाट प्रतिनिधित्व गर्नुभएको छ । तपाईंको समुदायका धेरैले अरु नै पेशा व्यसाय रोज्ने गर्छन् होइन ? 
हाम्रो मारवाडी समुदायका धेरैजना व्यापारी, डाक्टर, इन्जिनियर छन् । बालबालिकालाई बाबुआमाले यस्तै बन्न प्रेरित गर्छन् । मोडलिङ, अभिनयलाई नकारात्मक लिने गरिन्छ । तर अब मैले सुरुवात गरेपछि धैरेले मलाई राम्रो मानेका छन । युवा वर्गलाई आफूलाई जे मन लाग्छ त्यसमा अघि बढन दिनुपर्छ । मलाई आशा छ परिवारले, समाजले बुझिदिन्छ ।

अब तपाईं मिस वल्र्डमा सहभागिता जनाउनुहुनेछ । तपाईंबाट के अपेक्षा गर्ने ?

मलाई आशा छ नेपालको इतिहास बन्नेछ । त्यही भएर म एकदम तयार भएर जानेछु । आफनो देशको नागारिकको सहयोग चाहिन्छ, जसरी म अघि बढन सकौं ।

अन्तिम प्रतिष्पर्धामा नेपालको आर्थिक विकासमा महिलाको भूमिका के हुन्छ भन्ने प्रश्नमा तपाईंले अनुराधा कोइराला, भवानी राणा र रचना गुरुङको नाम लिंदै महिला सक्षम छन् भन्ने उदाहरण प्रस्तुत गर्नुभयो । पछि अरुले तपाईंको पनि यसैगरी नाम लिन सक्नेछन् भन्ने कतिको विश्वास छ ?


यो बारेमा त्यति सोचेको छैन । तर मलाई आशा छ सबैले साथ दिएमा अवश्य सफल हुनेछु ।