Breaking

Monday, June 5, 2017

कतारलाई एक्लाउँदै चार मुस्लिम राष्ट्र, संसारको ध्यान खिचियो कतारलाई एक्लाउँदै चार मुस्लिम राष्ट्र, संसारको ध्यान खिचियो

काठमाडौं, २२ जेठ । चार खाडी मुलुकले कतारसँगको कुटनीतिक सम्बन्ध तोडेका छन् । आतंकबादलाई प्रोत्साहन दिएको आरोप लगाउँदै साउदी अरेबिया, संयुक्त अरब इमरेट्स, बहराइन र इजिप्टले कतारसँगको कुटनीतिक सम्बन्ध तोडेका हुन् ।

अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार साउदी अरेबियाले जारी गरेको बक्तब्यमा कतारले अरब क्षेत्रमा आतंकबादलाई प्रर्बद्धन गरेको तथा यो क्षेत्रको स्थायित्वमा समस्या सिर्जना गरेको अभियोग लगाएको छ ।

रोयटर्सका अनुसार साउदीले कतारसँगको कुटनीतिक सम्बन्ध, जमिन, जल तथा हवाई सम्र्पकसमेत बिच्छेद गरेको घोषणा गरेको छ ।

संयुक्त अरब इमरेट्सले पनि कतारले आतंकबादलाई प्रायोजन र संरक्षण गरेको अभियोग लगाउँदै कुटनीतिक सम्बन्ध बिच्छेदको घोषणा गरेको छ । उसले कतारी कुटनीतिज्ञलाई ४८ घण्टाभित्र मुलुक छाड्न आदेश समेत दिएको छ ।

इजिप्टको परराष्ट्र मन्त्रालयले पनि एक बिज्ञप्ति जारी गर्दै कतारसँगको हवाई तथा सामुद्रिक पारवहन स्थगित गरिएको बताएको छ ।

साउदीको निकट सहयोगी मानिएको बहराइनले पनि कतारी नागरिकलाई १४ दिनभित्र मुलुक छाडन तथा कुटनीतिक कर्मचारीलाई ४८ घण्टाभित्र फिर्ता हुन आदेश दिएको छ ।

द्वन्द्वग्रस्त अरब मुलुक यमनमा कतारले बिद्रोही सैन्य शक्तिलाई सहयोग गरेको, अलकायदा तथा मुस्लिम ब्रदरहुडजस्ता संगठनलाई प्रायोजन गरेको र कतारी सरकारद्वारा सञ्चालित अल जजिरा टीभी च्यानलमार्फत् अस्थिरता फैलाउन सहयोग गरेको यी चार देशले आरोप लगाएका छन् ।