थापाथलीमा मकै पोल्न बसेकी सीता लामा ।
‘दिनभर घाममा बसेर होला, छाला कालो भएको छ,’ उनले भनिन्, ‘बेस्सरी चिलाउँछ, दिनदिनै नुहाउनुपर्छ ।’ उनका हातभरि दादका टाटा देखिन्थे, अनुहारमा बाक्लो चायाँपोतो, घरिघरि सुक्खा खोकिरहेकी थिइन् । चाहेर पनि उपचारका लागि अस्पताल नगएको उनले बताइन् । ‘अस्पताल गए दिनभरि लाग्छ, उपचार गर्नु कि बेलुकाको छाक जुटाउनु,’ उनले भनिन् ।
छालारोग विशेषज्ञ डा. ललन खतिवडाका अनुसार लामो अवधिसम्म सडकमा समय बिताउनेलाई गम्भीर खाले छाला रोग लाग्छन् । सडक व्यापारीका आधा कमाइ उपचारमा खर्च हुने डा. खतिवडाको भनाइ छ । ‘घाम र धुवाँधूलोले अधिकांशलाई दाद, डन्डिफोर र चायाँपोतोको समस्या हुन्छ,’ उनले भने । लामो समय सडककिनार बस्ने व्यापारीलाई छालाको क्यान्सर हुनसक्ने खतिवडा बताउँछन् ।
ओखलढुंगाका मनिराम ढकाल पनि सडक व्यापारी हुन् । १८ वर्ष भयो उनले रत्नपार्कको सडकमा चिया बेच्न थालेको । ५७ वर्षीय ढकाललाई पनि विभिन्न स्वास्थ्य समस्याले गाँजेको छ । ‘मुख्यत: शौचालय नजिक छैन, पानी खादिनँ, डाक्टरले मिर्गौला खराब हुन लागेको छ भन्छन्,’ उनले भने । ढकाललाई केही समय अघिबाट घाँटीको घाउले पनि समातेको छ । ‘काम छाडौं खाने बाटो छैन, नछोडौं सडकको धूलोले रोग थपेको छ,’ उनले भने ।
वीर अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ डा. ढुण्डीराज पौडेलका अनुसार अधिकांश सडक व्यापारीलाई घाँटीसम्बन्धी रोग लाग्छ । ‘सडकमा बस्ने हुँदा उनीहरूलाई सरुवा रोगको उत्तिकै जोखिम हुन्छ ।’