Breaking

Monday, June 12, 2017

कतारमा श्रीमान दुर्घटनामा पर्दा गाउँमा मृत्युको हल्ला चल्यो


मालती न्यौपाने/नवलपरासी ।

जेठ २९– ‘उहाँ कतारमा दुर्घटनामा पर्नुभयो तर गाउँमा चाहिँ उहाँको ज्यान ग्एको भन्ने हल्ला पैmलिएको थियो’ श्रीमती बुन्ना निशालाई यो भन्दा ठूलो पीडा के हुन्थ्यो होला । नवलपरासी पाल्हीनन्दन गाउँपालिकाकी बुन्ना झण्डै चार वर्ष अघिको कुरा सुनाउँदै हुनुहुन्थ्यो ।

बुन्नाका श्रीमान् मुख्तर अलि अन्सारी कतार जानुभएको थियो । विदेश जाने बेलाका सपना सुनाउँदै मुख्तर भन्नुहुन्छ ‘छोरा छोरीलाई पढाम्ला घर बनाम्ला भनेर विदेश गएँ ,कमाई पनि ठिकै थियो ’

कतारको बुझबियर इन्जिनियरमा रोड मार्किङ्गमा काम गर्ने उहाँको कमाई ठिकै थियो । त्यही कमाईले घरको अवस्था बिस्तारै फेरिँदै थियो तर झण्डै ज्यान पनि गयो । रोड मार्किङ्गमा काम गरिरहेका बेला गाडीले उहाँसहित पाँचजना नेपालीलाई ठक्कर दियो ।

रुपन्देहीका एक युवाको त घटनास्थलमै ज्यान गयो । मुख्तर चाहिँ घाइते मात्रै हुनुभयो । चार वर्ष अगाडिको घटना सुनाउँदै मुख्तर भन्नुहुन्छ ‘हामी रोडमा काम गरिरहेका थियौं । एक्कासी इजिप्टीसीयनको गाडीले हामी पाँचै जनालाई ठक्कर दियो ।’
६ वटा करङ र देबे्र हात तीन ठाउँमा भाँच्चिएकाले १२ दिनसम्म त उहाँको होस नै आएन एक महिनासम्म उपचार भयो  । एक महिना पछि अस्पतालबाट डिस्चार्ज हुँदा पनि उहाँ डिँड्न सक्नु हुन्नथ्यो । कतारमा उपचार पाएपनि पुरै ठिक नभएका उहाँले एक वर्ष आराम गर्नु पर्‍यो ।

भाँच्चिएको हातको सिलाईको दाग देखाउँदै भन्नुभयो ‘यहाँ यसरी अप्रेशन गरेछ अझै यो हात माथि जाँदैन अनि दुख्छ, गल्छ अनि कसरी काम गर्न सक्छु र ?’

कमाउने सपना लिएर गएका मुख्तरलाई दुर्घटनामा पर्दा जति पीडा थियो त्यो भन्दा कम पीडा थिएन घरमा भएकी श्रीमती बुन्ना निशालाई पनि । दुर्घटनामा परेपछि हात खुट्टा लुल्लिएका बुन्नाको श्रीमानको मृत्यु भइसक्यो भन्ने खबरले त होस चेत नै उड्यो ।

एकातिर ज्यान गएको खबर अनि अर्कोतिर श्रीमानसँग वा उहाँका बारेमा स्पष्ट जानकारी दिने व्यक्तिसँग आफैं बोल्न नपाउनु । त्यसैले उहाँलाई हल्ला साँच्चै हो कि जस्तो पनि लागेको थियो । १२ दिनमा होस खुलेपछि मुख्तरले बुन्नालाई नै फोन गर्नुभयो ।

तर ‘हाँ’ भन्दा बाहेक उहाँले बोल्नै सक्नुभएन । त्यसैले उहाँले श्रीमानको आवाज चिन्न सक्नुभएन् । आँखाभरी आँसु पारेकी बुन्न भन्नुहुन्छ ‘मलाई अब उहाँ यो संसारमा हुनुहुन्न भन्ने नै लाग्यो । मेरो लागि अब आफ्नो मान्छे कोही छैन । रातभर निन्द्रा लाग्थेन छोराछोरी साना साना एकदमै गारो भयो ।’

फोनमा बोल्ने मान्छे श्रीमान होइन जस्तो लागेपछि उहाँले नानाथरी सोच्नुभयो । तर एक महिना पछि श्रीमानले फोनमा ‘म ठिक छु चिन्ता नलेउ’ भनेपछि उहाँ ढुक्क हुनुभयो । त्यसपछि भने उहाँलाई श्रीमानको अवस्था कस्तो होला एक पटक देख्न पाए हुन्थ्यो भन्ने लाग्न थाल्यो । तर मुख्तर तीन वर्ष घर आउन पाउनुभएन ।

दुर्घटनामा पर्दा मुख्तर घर बिदामा आएर गएको सात महिना मात्रै भएको थियो । उहाँलाई कम्पनीले एक वर्ष खान बस्न दिएर तलब पनि दियो । अनि एक वर्षपछि सजिलो काम गर्न पनि दियो ।


त्यहीबेला गाडी धनीसँग क्षतिपूर्तिका लागि तीन बर्ष लगाएर कतारमा मुद्दा लड्नुभयो मुख्तरले । ‘कम्पनीले त मलाई लाउनु गुन लगाको छ नि । म इमान्दार भएर काम गरेकाले मलाई राम्रो सहयोग गरेको होला । ’

कम्पनीको सहयोगसँगै उहाँले जिल्ला र अञ्चल अदालतमा मुद्धा जित्नुभयो । तर गाडी धनीले अदालतको आदेश पनि मानेनन् ।  आफू टाँट पल्टिएको भन्दै क्षतिपूर्ति दिन नसक्ने बताए । दुई वर्ष त्यतिकै बितेपछि उहाँ घर फर्किनुभयो । ‘मैले दुई ठाँउबाट मुद्धा जितेको हो तर त्यहाँको सरकारले केही सहयोग नै गरेन गाडिवालाले केही दिएन अनि फर्के ।’ मुख्तर भन्नुहुन्छ ।

मुख्तर अहिले घरमा परिवारसँगै भए पनि भारी काम गर्न सक्नुहुन्न । दुई छोरी र एक छोरा सानै छन् । सम्पत्तिको नाउँमा जम्मा चार कट्ठा खेत छ । श्रीमती बुन्ना अँधीया खेती लगाएर भए पनि छोराछोरीको पेट भर्न मेहनत गरिरहनुभएको छ ।

‘यसले न गरिछे छोराछोरीको मुख टाल्ने काम त । ठुली छोरीले पनि पढाई छोडेर आमालाई सघाउँछे’ मुख्तर भन्नुहुन्छ ।

उहाँ नेपाल आएर वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा क्षतिपूर्तिका लागि निवेदन दिनुभएको छ तर ६ महिना भइसक्दा पनि क्षतिपूर्ति पाउने नपाउने कुनै टुङ्गो छैन । source:ujyaalo